(सम्पादकीय नोट: १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका खेलाडीको संघर्षको विषयमा सेतोपाटीले 'स्वर्णको कथा' श्रृंखला सुरू गरेको छ। श्रृंखलामा स्वर्ण जितेका खेलाडीको कथा समेट्नेछौं।)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका अधिकांश स्वर्णका पछाडि अभाव र संघर्षका कथा छन्। तिनै कथाकी एक पात्र हुन्, जुडो खेलाडी पुनम श्रेष्ठ।
गरिब परिवारमा जन्मेकी पुनमको बाल्यकाल गैरसरकारी संस्थाले मिलाइदिएको छात्रवासमा बित्यो। छात्रवासमा बसेर स्कुल पढ्दा पुनमले परिवारको मायाको अनुभव गर्न पाइनन्।
उनका बुबा ड्राइभर थिए, आमा होटलमा काम गर्थिन्।
परिवारले खान-बस्नका लागि संघर्ष गर्दा पुनमले बाल्यकालमै फरक बाटो रोजेकी थिइन्। जुन बाटोमा अप्ठेरोबाहेक अरू केही थिएन।
परिवारलाई थाहै नदिई जुडो खेल्न उनी दशरथ रंगशालाको केन्द्रीय डोजो धाउँथिन्। अरूले दिएको पैसाले पोशाक किन्नु पर्थ्यो। खाजा खान पैसा नहुने उनका लागि 'डाइट' त कल्पना बाहिरको कुरा थियो।
खेल्ने उत्कट चाहनालाई कसले पो रोक्न सक्छ! अभावबीच उनी जुडोको अब्बल खेलाडी बन्दै गइन्।
२०७२ को भूकम्पपछि उनको परिवारलाई बज्रपात पर्यो। भारतमा प्रतियोगिता खेल्न जानुअघि उनले बुबाको मृत्युको खबर सुन्नु पर्यो।
'कहिलेकाहीँ' मात्र घर आउने उनका बुबा घर नआएको तीन महिना बितिसकेको थियो। कसैले त्रिवि शिक्षण अस्पतालमा 'बेवारिसे लासको लाइन' उनको बुबा पनि हुन सक्ने खबर ल्याए।
आमाले बल्लतल्ल बुबाको लास चिनिन्।
आमाले 'यहाँको सबै म सम्हाल्छु तिमी जाऊ' भनेपछि अमिलो मन पारेर भारत गएको क्षण उनी कहिल्यै बिर्सन सक्दिनन्।
एक्ली आमाले दुई छोरी र एक छोराको जिम्मेवारी लिनु पर्ने भयो। पुनमकी दिदी पढाइ छाडेर विदेश जान बाध्य भइन्।
घरमा अभाव बढिरहेको थियो। पुनमको खेल करिअर रोकिएको थियो।
सधैं मागेर खेल्न उनको इच्छा थिएन। त्यसैले खेल्नै न छाड्ने निर्णय गरिन्। घर खर्चमा सहयोग गर्ने उद्देश्यले मजदुरी काम गर्ने निर्णय गरिन्।
६ महिना जुडोबाट टाढा भएकी पुनमलाई प्रशिक्षकहरूले खोजे। सम्झाए, बुझाए, फेरि जुडोमै फर्काए।
त्यसपछि भारतमा भएको १२औं सागमा खेलिन्। तेस्रो स्थानमा सीमित हुनुपर्यो। त्यही बेलादेखि नै हो उनले अर्को पटक जसरी पनि स्वर्ण जित्छु भन्ने सोचेको।
नेपालमा भएको १३औं सागको ७८ केजी तौल समूहमा स्वर्ण जित्दा उनले अन्तिम भिडन्तमा बंगलादेशकी खेलाडीलाई हराएकी थिइन्।
सागमा जितेको स्वर्णको पुनमको जीवनमा निकै ठूलो अर्थ छ। त्यागको फल स्वर्ण रूपमा पाएको उनको बुझाइ छ।
अब आफ्नै घर बनाउने र आमालाई घरको साँचो बुझाउने पुनमको इच्छा छ। पुरस्कारबाट पाएको सीमित पैसाले पुनमको सपनाको घर कहिले ठडिएला अझै थाहा छैन।
हेर्नुस् पुनम र उनकी आमाले गरेको संघर्षको कथा: