गायक प्रकाश सपूतले आफ्नो पछिल्लो 'पिर' नामक गीत विवादित बनेपछि भिडिओ सम्पादन गरेर नयाँ भिडिओ अपलोड गरेका छन्।
एक सातामै युट्युबमा करोड बढीले हेरेर रेकर्ड बनाएको गीतको एउटा दृश्य हटाएर सपूतले नयाँ भिडिओ अपलोड गरेका हुन्। नयाँ अपलोड गरिएको भिडिओ पनि युट्युबको ट्रेन्डिङ पहिलो नम्बरमै छ। शुक्रबारसम्म २३ लाख बढीले भिडिओ हेरिसकेका छन्।
नयाँ भिडिओमा सपूतले पूर्वमाओवादी लडाकुलाई देह व्यापारको भूमिकामा देखाइएको दृश्य हटाएका छन्। उनले सो दृश्यले पूर्वलडाकुको आत्मसम्मानलाई ठेस पुर्याएको आफूले पनि महशुस गरेको उल्लेख गर्दै उक्त दृश्य सम्पादन गरेको जनाए। सपूतले सेतोपाटीसँग भने, 'मैले जसको आवाज उठाउन खोजेको हो त्यो आवाजले उहाँहरूलाई नै पिरोल्यो भने त्यो त मज्जा भएन नि!'
यद्यपि आफू त्यस्ता पात्रहरू छैनन् भन्ने कुरामा सहमत हुन नसक्ने उनको भनाइ छ। त्यसबारे बहस गर्न सकिने भन्दै उनले माओवादी युद्धको नेतृत्व गरेकै मानिसहरूले त्यस्ता पात्र आफूले देखेको भनेर भनिसकेको जनाए।
यो घटनाले आफू निरूत्साहित भएको सपूतबताउँछन्। 'कहीँ न कहीँ म यहाँभन्दा अगाडि जानु हुँदैन भन्ने अनुभूति भइरहेको छ,' उनले भने।
पिर गीतले उठाउन खोजेको विषयलाई नेतृत्वकर्ताहरूले गलत तरिकाले बुझेको भन्दै त्यसमा आफ्नो चित्त दुखेको सपूतबताउँछन्। यो घट्नाले आगामी सिर्जनाहरूमा राजनीतिक विषयलाई निर्धक्क उठाउन नसकिने उनको बुझाइ छ।
'हाम्रो गीतमा देश बनेन भन्न पाइने रै'छ तर फलानो पार्टीले गर्दा देश बनेन भन्न नपाइने रै'छ। माओवादी, कांग्रेस वा एमालेका कारण देश बनेन भनेर भन्न नपाइने रै'छ,' उनले भने।
हेर्नुस् सेतोपाटीले गायक सपूतसँग कुराकानी गरेर तयार पारेको भिडिओ ब्लगः