'हिउँ चितुवा' नामबाट चिनिएका पर्वतारोही आङरिता शेर्पाको पाइला पछ्याउँदै उनका नाति तेन्जिङ जाङ्बु शेर्पाले सगरमाथा आरोहण गरेका छन्।
आङरिताका नाति तेन्जिङ नौ वर्षको उमेरमै आफ्ना आमाबाबासँगै अमेरिकाको क्यालिफोर्निया पुगेका थिए। सोलखुम्बुमा जन्मेका उनी उतै बस्छन्। आफ्नो परिवारको विरासतलाई निरन्तरता दिन अमेरिकाबाट हिमालै चढ्न भनेर नेपाल आएको उनी बताउँछन्।
‘नेपाल आएपछि मैले हजुरबुवा र उहाँको कामलाई नजिकबाट चिन्ने मौका पाएँ,’ २३ वर्षीय तेन्जिङले भने, ‘हजुरबुवा बित्नु भए पनि मान्छेले उहाँप्रति उत्तिकै सम्मान र माया गरेको देखेर मलाई हिमाल चढ्न झनै हौसला मिल्यो।’
हजुरबुवाको विरासतलाई कायम राख्न सगरमाथाको चुचुरो पुगेको तेन्जिङले बताए। ‘म पनि क्याम्प-३ सम्म बिना अक्सिजन गएको थिएँ। साह्रै गाह्रो भयो,’ तेन्जिङले भने, ‘मैले हजुरबुवालाई मानेँ। उहाँको रेकर्ड मै हुँ भन्ने शेर्पाहरूले पनि तोड्न सक्दैनन्।’
बिना अक्सिजन दस पटक सगरमाथा आरोहण र अरू थुप्रै कीर्तिमान राखेका आङरिताको २०७७ भदौमा निधन भएको थियो।
तेन्जिङ हजुरबुवाको नाममा फाउन्डेसन पनि सञ्चालन गर्ने तयारीमा छन्।
'हिमालमा बित्नुभएका शेर्पाका छोराछोरीहरूलाई म पढाउन चाहन्छु,' तेन्जिङले भने, 'मेरो आफ्नै परिवारमा तीन जना काका बित्नुभएको छ। उहाँहरूका स-साना छोराछोरी छन्। मलाई हिमाल चढ्ने शेर्पाहरूको वास्तविक कथा थाहा छ। जब म उहाँहरूको घरमा जान्छु, दु:ख लाग्छ।'
तेन्जिङ पछिल्लो समय शेर्पा आरोहीहरूको जीवनस्तर खस्किएको बताउँछन्।
'मेरै उमेरका शेर्पाहरूले हिमाल चढ्ने काम छाडिसके,' तेन्जिङले भने, 'शेर्पाहरूलाई बाबुबाजेले जस्तै हामीले देश चिनाउनुपर्छ, हिमाल चढ्न गाइडको कामलाई निरन्तरता दिनुपर्छ भनेर उत्प्रेरणा दिनु आवश्यक छ।'
हेर्नुहोस् सेतोपाटीका सुसन चौधरीले गरेको तेन्जिङको भिडिओ स्टोरीः