सन् २००५ मा पूर्व मिस नेपाल सुगारिका केसीले टेलिभिजनमा फरर बोलेको देख्दा काठमाडौंकी प्रियंका रानी जोशी मनमनै आफू पनि मिस नेपाल बन्ने सपना बुन्थिन्। तर परिवारमा कोही पनि ग्ल्यामर क्षेत्रमा संलग्न नभएकाले उनलाई मिस नेपाल कसरी बन्छन् भन्ने थाहा थिएन।
हुर्किँदै, बढ्दै गएपछि प्रियंका मोडलिङतिर आकर्षित भइन्। उनी सुविन भट्टराईको किताब मनसुनको कभरमा देखिइन्। मोडलिङमा लागिन्। सन् २०१६ बाट मोडलिङ थालेकी काठमाडौंकी प्रियंका रानी जोशीको सपना पाँच वर्षपछि साकार भएको छ।
प्रियंका सन् २०२२ को मिस नेपाल वर्ल्ड चुनिएकी छिन्।
'वर्षौंदेखि साँचेर राखेको सपना झसंग उठेर देख्दा कस्तो हुन्छ? मिस नेपालको क्राउन लगाउँदा त्यस्तै भयो,’ मिस नेपाल प्रियंका रानी जोशी भन्छिन्, 'जितेपछि स्टेजमा वक गर्दैगर्दा सबैले मलाई हेर्दा एउटा जिम्मेवारीबोध पनि भयो।'
मिस नेपाल भएपछि देशको छोरी भएको अनुभव भएको प्रियंका बताउँछिन्।
'मेरो क्षमता र रूचि देखेको हुँदा परिवारलाई मनाउन धेरै समय लागेन,' प्रियंका भन्छिन्, 'मेरो कोही छैन भन्ने चिन्ताको विषय भएन।'
मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिता एउटा फराकिलो प्लेटफर्म रहेको प्रियंका बताउँछिन्।
'यहाँ आएपछि मान्यता पाइन्छ, पहिचान बन्छ। आज मिस नेपाल भनेर चिनाउँछु भने हिजो प्रियंका भनेर सुनिदिने मान्छे हुनु हुन्थेन,' मिस नेपाल प्रियंका भन्छिन्, 'यहाँ वस्तुकरण गरिन्छ भनेर सोच आए पनि यो सत्य होइन। नराम्रो नजरले नदेखाएर महिलाहरूको आत्मविश्वास बढाइदिने काम गर्छ जस्तो लाग्छ।'
मिस वर्ल्डको तयारीमा व्यस्त रहेकी उनले थपिन्, ‘अहिले तयारी गर्दा लक्ष्य नीलो ताज छ। ताजसम्म पुग्दा के के उपलब्धि हुन्छ हेर्दै जाऊँ।’
हेर्नुहोस् प्रियंकासँगको भिडिओ कुराकानीः