अहिले काठमाडौंसहित केही पालिकाहरूले फोहोरको समस्या सल्टाउन कुहिने र नकुहिने छुट्याउन अनुरोध गर्दै आएका छन्।
ललितपुर, सुनाकोठीका बासिन्दा दामोदर अधिकारीले भने विगत २५ वर्षदेखि नै यो काम गर्दै आएका छन्। सिभिल्स होम्स आवासीय समाजको घर नम्बर ६२४ मा बस्ने अधिकारीले कुहिने फोहोर अलग राखेर यसको उपयोग पनि गरिरहेका छन्।
त्यो फोहोरलाई उनी 'भर्मी कम्पोस्टिङ' विधिबाट मलमा परिणत गर्छन्। घरको भान्सा र बगैंचाबाट निस्किएको कुहिने फोहोरलाई उनी गड्यौंलाको मद्दतबाट मल बनाउँछन्।
'भान्सादेखि बगैंचाका सबै कुहिने फोहोरलाई दुई सय लिटरको मल बनाउने ड्रम (ट्यांकी) मा हाल्छौं र भर्मी कम्पोस्टिङ गरी प्रांगारिक मल बनाउँछौं,' ६२ वर्षीय अधिकारीले भने, 'भर्मी भनेको गड्यौंलाको एउटा विशेष प्रजाति हो। यसले कुहिने फोहोरलाई कुहिनुअघि नै खाएर मलमा परिणत गर्छ।'
उनका अनुसार यो गड्यौंलाले कुहिने फोहोर मात्र होइन, सूती र जिन्स कपडादेखि, बोरा, कागज सबै खान्छ।
चार जनाको परिवार भएको घरमा दुई सय लिटरको ड्रमबाट वर्षको कम्तीमा २० हजार रूपैयाँ बराबरको मल उत्पादन हुने उनी बताउँछन्। यो हिसाब उनले बजारमा पाइने प्रांगारिक मलका आधारमा निकालेका हुन्।
यो गड्यौंलाले आज हालेको फोहोर भोलिपल्टसम्म खाइसक्छ। छ महिना लगातार फोहोर हाल्यो भने सय किलो मल उत्पादन हुन्छ।
अधिकारीले हिसाब बुझाउँदै भने, 'सय रूपैयाँ किलोको दरले पनि दस हजार हुन्छ। यसरी गड्यौंला र ड्रम बनाउँदाको खर्च सजिलै उठ्छ।'
यो गड्यौंलालाई अँध्यारो मन पर्छ। घाम बाहिर निस्किए दस मिनेटमै मर्छ। घाम सहन नसक्ने भएकैले अरू गड्यौंला जस्तो यो स्यालब्याल बाहिर नआउने उनले बताए।
यसको अर्को राम्रो पक्ष भनेको यो गनाउँदैन। यसमा प्रयोग भएका गड्यौंला, ड्रम वा मल केहीबाट पनि दुर्गन्ध आउँदैन। आफैंले लामो समयदेखि अध्ययन र परीक्षण गरेकाले उनी यी कुरामा दाबी गर्छन्।
अधिकारीले यो गड्यौंलाबारे काम सिलसिलामा फिलिपिन्स जाँदा थाहा पाएका हुन्। उनी सन् १९९७-९८ तिर फिलिपिन्समा सोलिड वेस्ट म्यानेजमेन्टबारे अध्ययन गर्न पुगेका थिए। त्यहीँ उनले भर्मी गड्यौंलाबारे थाहा पाए। सामान्य गड्यौंलाभन्दा अलग भएकाले यसको फाइदाबारे बुझ्दै गए।
नेपाल फर्किएर उनी आफैंले यसको प्रयोग गरे। मल बनाउने प्रविधि परीक्षण थाले। वर्षौं अध्ययन र परीक्षणपछि सफल भएको उनी बताउँछन्।
भर्मी कम्पोस्टिङलाई चाहिने उचित तापक्रम, सामग्री र खानेकुराबारे आफूलाई पूर्ण जानकारी भइसकेपछि उनले यो ज्ञान आफूमै सीमित राखेनन्। नेपालका विभिन्न जिल्लाका किसानलाई सिकाए।
'रासायनिक मलको विकल्पमा गड्यौंला मल राम्रो र वातावरणसंगत भएकाले यो मल धेरैसम्म पुर्याउन पहल गरेँ,' उनी भन्छन्।
आफूसँग भएका केही गड्यौंला अरूलाई दिए पनि कम हुँदैन। ती गड्यौंला आफैं केही महिनामा दोब्बर हुन्छन्।
'क्षमताभन्दा तीन गुणा खान सक्ने यो गड्यौंलाले खाली ठाउँ पूर्ति गर्ने गरी बच्चा जन्माउँछन्,' अधिकारीले भने, 'ठाउँ नपुग्ने देखिए यसले आफैं बच्चा जन्माउन कम गर्छ। यो यसको राम्रो पक्ष हो।'
त्यसैले पनि भर्मी गड्यौंला एक पटक राखेपछि फेरि राख्नु पर्दैन। उपयुक्त वातावरण पाए वर्षौंसम्म टिकिरहन्छ।
आफ्नो घरको ड्रमभित्र देखाउँदै उनले भने, 'ट्यांकीभित्र फलामले वेल्डिङ गरेर ओदान जस्तो बनाएर राखेका छौं। त्यसको माथि पत्रिका वा कार्टुन ओछ्याएर भान्साबाट निस्किएका फोहोर सिधै हालिदिन्छौं।'
उनका अनुसार अमिलो, नुनिलो, चिल्लो र मासुको परिकारबाहेक सबै कुरा यी गड्यौंलाले खुसी मान्दै खान्छन्। यी चार कुराले भने गड्यौंलालाई हानी गर्ने जिवाणु जन्मिने भएकाले यसलाई छुट्टै राख्न उनी सुझाउँछन्।
यसलाई मुसाबाट पनि जोगाउनु पर्छ। पौष्टिकयुक्त हुने भएकाले यो गड्यौंला मुसालाई असाध्यै मन पर्छ। त्यसैले ड्रम वा ट्यांकीमा मुसा छिर्ने प्वाल हुनु हुँदैन।
'भर्मी गड्यौंला हेर्दा दुईदेखि तीन इन्च लामो, मसिनो र रातो रङको हुन्छ। यसका दुई हजारभन्दा धेरै प्रजाति हुन्छन्,' उनले गड्यौंलाबारे थप भने, 'तीमध्ये हामीले प्रयोग गर्ने यो प्रजाति दुईदेखि पाँच वर्षसम्म बाँच्छ।'
अँध्यारो र ओसिलो ठाउँ रूचाउने भएकाले यसलाई धेरै स्याहार गर्न पर्दैन। त्यसैले जोकोहीले प्रयोग गर्न सक्ने उनी बताउँछन्।
ड्रममा खानेकुरा हाल्दै गएपछि गड्यौंला माथि सर्दै आउँछ र तल मल जम्मा हुन्छ। प्रांगारिक मलका साथै माटोका लागि पौष्टिक झोल पनि निस्किन्छ। असोज-कात्तिकमा एक पटक र फागुन-चैतमा अर्कोपटक गरी वर्षको दुई चोटि मल निकाल्न सकिन्छ। मल निकालेको एक महिनापछि सिधै बारीमा प्रयोग गर्न सकिने उनले बताए।
'यो मलको प्रयोगपछि माटोमा धेरै पानी हाल्नु पर्दैन,' वर्षौंदेखि आफ्नो बगैंचा यही मल हालेर हराभरा बनाइरहेका उनले भने, 'रासायनिकको दाँजोमा गड्यौंले मलबाट लागेको फल तुलनात्मक रूपमा स्वादिलो पनि हुन्छ।'
हरेक घर, टोल र नगरपालिकाले यो प्रविधि अपनाउनु पर्नेमा उनी जोड दिन्छन्। आफूले यो प्रविधिबारे अरूलाई निःशुल्क सिकाइरहेको पनि उनले बताए। तर उनको एउटा सर्त छ।
'जसलाई मैले यो प्रविधि सिकाउँछु, उहाँहरूले टोलका अन्य चार-पाँच जनालाई यो प्रविधि सिकाउनु पर्छ र हरेक घरसम्म पुर्याउन मद्दत गर्नु पर्छ,' अधिकारीले आफ्नो सर्त सुनाए।
- गड्यौला मलबारे थप बुझ्न दामोदर अधिकारीलाई ९८५११००३४७ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।