अहिले नयाँ पुस्ताका कमेडियनहरूमा सुमन कार्कीले पात्रहरूको क्यारिकेचर गर्ने कुरामा आफूलाई अब्बल सावित गर्दै आएका छन्। उनले गर्ने पत्रकार ऋषि धमला, नायक राजेश हमालको क्यारिकेचरलाई दर्शकहरूले सर्वाधिक रूचाएका छन्।
रियालिटी सो 'कमेडी च्याम्पियन' को पहिलो सिजनमा 'टप ५' सम्म पुगेका सुमन आफैंलाई पनि यी दुई पात्रको क्यारिकेचर मनपर्ने बताउँछन्।
हुन त सुमनको चर्चा चुलिएको पनि ऋषि धमलाको क्यारिकेचर गरेपश्चात् हो।
सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'उहाँको क्यारिकेचर गर्न थालेपछि मलाई धेरैले चिन्न थाल्नुभयो। त्यसैले यो पात्रलाई आफ्नो हाँस्यव्यंग्य यात्राका लागि म सिँढीको रूपमा लिन्छु।'
सुमनले थप भने, 'दुई तीनचोटि उहाँकै अगाडि उहाँको क्यारिकेचर गरेको छु। उहाँले पनि राम्रो छ भन्नुभयो। त्यहीँ भएर यो पात्र मेरो लागि एकदम फापेको छ।'
ओखलढुंगामा जन्मेका कार्कीलाई आफूले कमेडी गर्छु भन्ने कुरा निकै पछि मात्र थाहा भयो। स्कुलमा छँदा उनी साथीहरूलाई त हसाउँथे तर त्यो कमेडी हो भन्ने उनलाई थाहा हुन्थेन।
पछि रेडिओ, टेलिभिजनमा कलाकारहरूले कमेडी गरेको देखेर मात्र उनलाई आफूले गरेको पनि कमेडी हो कि भन्ने लाग्न थाल्यो। त्यसपछि भने आफूलाई कमेडीमा थप चासो बढ्दै गएको उनले सुनाए।
२०६० सालमा सुमन ओखलढुंगाबाट पढाइका लागि मोरङको इटहरा झरे। त्यो बेला गाउँमा भर्खरभर्खर मोबाइलको फेसन आएको थियो। चाडवाडमा काठमाडौंबाट गाउँ आउने ठिटाहरू चाइनिज मोबाइलमा गीत घन्काएर हिँड्थे। त्यो देखेर सुमनलाई पनि एउटा मोबाइल किन्ने इच्छा जाग्यो। मोबाइल भयो भने कमेडी भिडिओहरू हेर्न पाइन्थ्यो भन्ने त्यो बेला लागेको उनले सुनाए।
सुमनले एकदिन एक जना दाइलाई काठमाडौंमा के गर्नुहुन्छ भनेर सोधे। जवाफमा दाइले उनलाई कार्पेन्टरको काम गर्ने बताए। कार्पेन्टर भनेपछि आफूले कार्पेट धुने काम सम्झिएको स्मरण गर्दै सुमनले भने, 'मैले त कार्पेन्टर भनेपछि कार्पेट धुने होला भन्ने सम्झिएँ। अनि आएपछि पो थाहा भयो काठको काम पो गर्ने रैछ भनेर।'
त्यो बेला सुमन एसएलसी दिएर काठमाडौं आएका थिए। काठमाडौं आउनुको अर्को कारण भनेको सुमनलाई यहाँ कुनै कलाकारलाई भेट्न पाइन्छ कि भन्ने थियो। तर आफूले कुनै कलाकारलाई नभेटेको उनले सुनाए।
सुमनले कार्पेन्टरको काम गरेको महिना दिन भइसकेको थियो। त्यहाँ उनको काम काठ नाप्ने र मिस्त्रीलाई सामान वरपर गरिदिने हुन्थ्यो। यो कामले सुमनलाई महिनादिनमै वाक्क बनायो। उनले तत्काल छोड्ने सोचे पनि तर मोबाइल किन्ने इच्छाले उनले कामलाई निरन्तरता दिए। झन्डै तीन महिना काम गरेपछि भने सुमनले कार्पेन्टरको काम छाडिदिए र काम गरेबापत आएको पैसाले एउटा फोन किने।
'तीन महिना काम गरेपछि एउटा मोबाइल किनेँ र गीत बजाउँदै घर फर्किएँ। घर फर्किएपछि भने काठमाडौं फर्केर जान्नँ भन्ने लागेको थियो। गाउँमा आफूलाई वल्लो गाउँ पल्लो गाउँ गर्ने बानी, काठमाडौंमा एउटा कोठामा गुम्सिएर बस्नुपर्दा विरक्तै लागेको थियो,' त्यो बेला सम्झिँदै उनले भने।
काठमाडौं नफर्किने सोचेपछि सुमनले गाउँमै प्लस टु पढ्न थाले। त्यहीँ बेला आफूले पहिलोचोटि क्यारिकेचर गरेको उनले सुनाए।
'कक्षा ११ लाई स्वागत गर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा एउटा नाटक गर्दै थिएँ। त्यो बेला हल्का क्यारिकेचर पनि गर्थे। अनि केपी ओलीको क्यारिकेचर कोसिस गर्दै थिएँ, एक जना सरले सुन्नुभएर ल राम्रो गरिस् त भन्नुभयो। त्यसपछि नाटकसँगै क्यारिकेचर पनि गरेँ,' सुमनले स्मरण गर्दै भने, 'पछि सबैले मन पराउनु भयो। त्यही क्यारिकेचरले मलाई कलेजमा हल्का सेलिब्रेटीजस्तै बनाइदियो।'
त्यही बेला गाउँमा पहिलोचोटि रेडिओ खुल्दै थियो। सुमनले पनि रेडिओमा काम गर्ने सोचेर तालिम लिए। तर उनी छनोट हुन सकेनन्। त्यसपछि भने उनी फेरि काठमाडौं जाने सोचमा पुगे। काठमाडौं आएपछि एकथोक न एकथोक हुन्छ भन्ने उनलाई लागेको थियो।
काठमाडौं आउनेबेलै उनलाई रेडिओबाट फोन आयो। सुमनले तत्काल काठमाडौं जाने सोचलाई खारेज गरिदिए। उनले भने, 'त्यसपछि रेडिओमा काम गर्न थालेँ। स्नातक पनि मोरङकै उर्लाबारीमा पढेँ। झन्डै तीन वर्ष रेडिओमा काम गरेँ।'
रेडिओमा पनि कमेडी कार्यक्रम चलाउने भएकाले सुमनको कमेडीप्रतिको हुटहुटी बढेर गयो। उनी कमेडी क्षेत्रमा आफूलाई स्थापित गर्न चाहन्थे। त्यसैले उनले फेरि काठमाडौं जाने निर्णय गरे।
'काठमाडौंमा अलिक धेरै अवसरहरू मिल्छ भन्ने लाग्यो। त्यही भएर काठमाडौं गएर मास्टर पनि पढ्छु अनि मिल्यो भने रेडिओ वा टिभीमा पनि काम गर्छु भन्ने सोचेर काठमाडौं आएँ,' उनले भने।
नभन्दै काठमाडौं आएर सुमनले रेडिओ अडिओमा काम सुरू गरे। त्यहाँ पनि उनले कमेडी सम्बन्धित कार्यक्रम चालउँथे। त्यहाँ उनी विभिन्न क्षेत्रका मानिसहरूसँग कुराकानी गर्थे। रेडिओ अडिओमै कार्यक्रम चलाउने क्रममा आफ्नो ऋषि धमलासँग पहिलो भेट भएको सुनाए।
विस्तारै कमेडीमा आफूलाई निखार्दै लगेका सुमनले रेडिओमा काम गर्दैगर्दा गाईजात्रा गर्ने अवसर पाए। त्यसले उनलाई परिचित हाँस्यव्यंग्य कलाकारहरूसँग चिनजान गर्न सहयोग गर्यो। त्यसपछि भने उनी कमेडी च्याम्पियनसँग जोडिए।
कमेडी च्याम्पियनमा भने उनी टप ५ बाट आउट भए। तर उनको प्रस्तुतिहरूलाई दर्शकले रूचाएका थिए। विस्तारै चर्चा चुलिँदै गएपछि सुमनले 'डान्सिङ स्टार्स' नामक रियालिटी शोमा होस्ट गर्ने मौका पाए। त्यसलाई पनि उनले भरपुर सदुपयोग गरे।
अहिले भने सुमन 'कमेडी क्लब विथ च्याम्पियन' मा आवद्ध भएका छन्। उनले यहाँ पनि दर्शकको तारिफ बटुलिरहेका छन्। विशेषगरी उनले गर्ने क्यारिकेचरलाई धेरै दर्शकले रूचाएका छन्।
अहिले फुलटाइम नै कमेडीमा समय खर्चेका सुमन राम्रो गर्न सके कमेडीबाटै पनि राम्रो हुने बताउँछन्।
'अग्रजहरूलाई हेर्दा हाँस्यव्यंग्यमा पनि राम्रो गर्नेहरूको जीवनशैली राम्रो छ। अहिले फिल्म क्षेत्रकै कुरा गर्दा कमेडी फिल्महरूको हालीमुहाली छ,' सुमन भन्छन्, 'आफ्नै कुरा गर्दा पनि अहिले सब ठिकठाक छ। अब भोलि के हुन्छ भनेर त भन्न सकिँदैन। तर आफूले राम्रो काम गरूञ्जेल र दर्शकले रूचाइञ्जेल राम्रै होला।'
सुमनले आफू सामाजिक विषयहरूलाई कमेडीमा उतार्न रूचाउने बताउँछन्।
कमेडीमार्फत् पनि समाजमा रहेका बेथितिलाई राम्रोसँग देखाउन सकिने उल्लेख गर्दै उनले त्यस्ता कामले जनतामा चेतना ल्याउनसक्ने जनाए।
'सकेसम्म मलाई सामाजिक विषयहरूमा हाँस्यव्यंग्य गर्न मन लाग्छ। अस्ति भर्खर मात्र फोहोर र विमानस्थलको विषयबारे गरेको थिएँ। तर सबै प्रस्तुति त्यस्तो गर्न पनि सकिँदैन। किनभने कति प्रस्तुतिहरू हाँस्नको लागि मात्र पनि गरिराखिएको हुन्छ,' सुमनले भने।