राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन-२ बाट चुनाव लड्दैछन्।
टेलिभिजन कार्यक्रम सञ्चालन गर्न छाडेर राजनीतिमा होमिएका रविका लागि चितवन–२ मा जित निकाल्न पक्कै सहज छैन।चितवन-२ मा रविले नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठको सामना गर्नुपर्नेछ।
पहिलोपटक निर्वाचन लड्न लागेका रविले दुबै पार्टीबाट असन्तुष्ट र युवाको मत तान्ने रणनीति बनाएका छन्।
स्पष्ट कुरा राख्न सक्ने रविको बानी र दमदार भाषण गर्न सक्ने उनको क्षमताले चितवनमा उनले मत तान्न सक्छन्।
विगतमा चितवनमा आत्महत्या दुरूत्साहन मुद्दामा जेल परेर छुट्दा देखिएको ठूलो उपस्थितिलाई रविले चितवनमा चुनाव उठ्नुको आधार भनेका छन्।
तर चितवनमा नेकपा एमाले र नेपाली कांग्रेसको बलियो जग छ। २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए। पोखरेल यसपटक पनि निर्वाचनमा लड्दैछन्।
पोखरेलले एमाले र माओवादी गठबन्धन हुँदा गत निर्वाचनमा ४४ हजार ६ सय ७० भोट ल्याएर विजयी भएका थिए।
मिलनसार र मृदुभाषी छवि भएका पोखरेलले यो निर्वाचनमा विगतको आफ्नो मत कायम राख्न सक्छन् सक्दैनन् त्यो अहिले नै भन्ने अवस्था छैन। तर स्थानीय निर्वाचनको मतले पोखरेललाई साथ दिएको देखिन्छ।
स्थानीय निर्वाचनमा एमालेबाट उठेका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ५ सय ४३ भोट पाएका थिए।
उक्त निर्वाचनमा गठबन्धनभित्रका कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट उठेका वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ३ सय ९४ भोट पाएका थिए।
वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा गठबन्धनमा रहेका सबै दलकाले पाएभन्दा एमालेका वडाध्यक्षहरूले पाएको भोट १ सय ४९ ले बढी छ।
नेपाली कांग्रेसले यसपटक उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
१ लाख २४ हजार २ सय १४ मतदाता रहेको यो क्षेत्रमा कांग्रेस राम्रै शक्तिको रूपमा रहेको छ।
गत निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा समेत कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ भोट ल्याएका थिए। त्यसैले उमेश श्रेष्ठका लागि चितवनमा कांग्रेसको बलियो जग विरासतको रूपमा रहेको छ।
पछिल्लो समय चितवनमा विभिन्न व्यवसायमा लगानी गर्दै श्रेष्ठले केही समययता निर्वाचनमा होमिन पूरा तयारी गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्रका रूपमा रहेकाले उनले आफ्नो राजनीतिक भविष्य देखाएर निर्वाचनमा पकड कायम गर्न सक्नेछन्।
चितवनमा एमाले र कांग्रेसबाहेक राप्रपाको पनि राम्रै पकड छ।
यो क्षेत्रबाट राप्रपाले रविन अधिकारीलाई उम्मेदवार बनाएको छ। ३६ वर्षीय अधिकारी चितवनका उद्यमी हुन्। एग्री केयर नेपालका प्रबन्ध निर्देशक रहेका उनी चितवनमा युवाका माझ परिचित छन्।
उनले राप्रपाको मतको अलावा स्वतन्त्र मत पनि तान्न सक्छन्।
कांग्रेस र एमालेले स्थानीय तहको मतपरिणामलाई आधारको रूपमा प्रस्तुत गरिरहँदा रवि लामिछाने उक्त क्षेत्रमा सर्वेक्षण गर्दै आफ्नो लोकप्रियताको बलमा चुनावमा छन्।
रविले नेपाली कांग्रेस र एमाले दुबै पार्टीबाट २० देखि ३० हजार मत काट्ने र लोकप्रियाका बलमा आफू जित्ने दाबी गरेका छन्।
स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचन लडेको चितवनको भुइँकटहर समूहसँग रविले उम्मेदवारी अघि नै वार्ता गरेका छन्।
उक्त समूहले स्थानीय निर्वाचनमा भरतपुरमा करिब ६ हजार ५ सय मत प्राप्त गरेको थियो। यो मत आफूतिर आउने आशा रविको छ।
रविले आफ्नो आकर्षण रहेको दाबी गरे पनि चितवनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले भने रविलाई आफ्नो प्रतिस्पर्धी मानेका छैनन्।
राष्ट्रिय राजनीतिमा पाइला चालेका रविको भविष्य चितवन-२ को यही निर्वाचनले तय गर्नेछ।
भिडिओ-