आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ मा पनि रोचक प्रतिस्पर्धा हुँदैछ। विगतमा नेकपा (एमाले) को एउटै समूहमा रहेका गोकर्ण विष्ट र रामकुमारी झाक्री यो निर्वाचनमा फरक-फरक दलबाट प्रतिस्पर्धामा उत्रिएका छन्।
एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् भने एमाले सचिव गोकर्ण विष्ट गुल्मी-२ बाट निरन्तर निर्वाचन जित्दै आएका छन्।
विगतमा निर्वाचनमा गुल्मी-२ मा गोकर्णलाई जित्न सघाउँदै आएकी रामकुमारी यो निर्वाचनमा उनै गोकर्णलाई हराउन मैदानमा छिन्।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार गुल्मी-२ मा एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धन विपक्षी गठबन्धनभन्दा २ हजार २ सय ८५ मतले अघि छ।
सत्ता गठबन्धन मतपरिणाममा अघि देखिए पनि एकीकृत समाजवादीको यो क्षेत्रमा खासै पकड छैन। स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले यो क्षेत्रमा जम्मा ६ सय ५८ मत मात्र प्राप्त गरेको छ। रामकुमारी झाक्रीले आफ्नो व्यक्तित्वको प्रभाव गुल्मी-२ मा देखिने सम्भावना भने नकार्न सकिँदैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सार्वजनिक मञ्चहरूमा ‘दंबग’ शैलीमा उत्रिएर उनले आफ्नो छवि बनाएकी छन्। यसबीचमा देउवा सरकारमा छोटै समय भए पनि मन्त्री बनेर उनले शासन प्रशासन हाँक्न सक्ने सन्देश दिइसकेकी छिन्।
जितका लागि रामकुमारीले यसपटक नेपाली कांग्रेसको सबै भोट तान्नुपर्ने अवस्था छ। गुल्मी-२ मा नेपाली कांग्रेससँग एमालेकै हाराहारी २९ हजार ८ सय २१ मत छ। यो मत तान्न सक्दा मात्र रामकुमारीले निर्वाचनमा जित हात पार्न सक्ने देखिन्छ।
गुल्मी-२ नेकपा एमालेको लामो समयदेखिको वर्चश्व छ। स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए।
एमालेका उम्मेदवार गोकर्ण विष्टका लागि जितका लागि रामकुमारी झाक्रीको प्रभाव रोक्नु र आफ्नो मत जोगाउनु सबैभन्दा चुनौती देखिन्छ। त्यस्तै उनले सत्ता गठबन्धनबाट समेत केही मत तान्नुपर्ने हुन्छ।
चिरपरिचित चुनाव क्षेत्र र आफ्नो शिष्ट अनि विनम्र शैलीका कारण गोकर्णलाई निर्वाचनमा केही सहजता देखिन्छ। विष्टको व्यक्तित्वको प्रभावका कारण जित निकाल्ने दाबी एमालेको छ। केपी ओली नेतृत्वको सरकारमा श्रम मन्त्री बनेका विष्ट काम गर्ने नेताको छवि बनाएका छन्।
लगातार निर्वाचन जित्दै आएका विष्टको विकल्पको रूपमा यसपटक रामकुमारी झाक्री खडा भएका कारण विष्टका लागि विगतमा जस्तो निर्वाचन जित्नु सजिलो छैन।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९, ०८:०८:००