नेकपा एमालेका महासचिव शंकर पोखरेल २०५१ सालपछि दोश्रोपटक प्रतिनिधि सभामा पुग्ने प्रयासमा छन्।
२०५६, २०६४ र २०७० को तीन वटा निर्वाचनमा पराजित भएका पोखरेल २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा जित हात पार्दै मुख्यमन्त्री बनेका थिए। तर उनका लागि संसदीय चुनावमा जीत हात पार्नु चुनौतीपूर्ण बन्दै आएको छ।
दाङको क्षेत्र नंम्बर २ बाट चुनाव लड्न लागेका पोखरेल यसपटक नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्दैछन्।
एमालेका वैचारिक नेताका रुपमा चिनिने पोखरेल धेरैजसो नीति र सिद्धान्ताका कुरा गर्छन्। राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र र एमाले अध्यक्ष केपी ओलीका उत्तराधिकारीको रूपमा पोखरेललाई कार्यकर्ताहरुले हेर्ने गरेका छन्।
अर्कोतिर माओवादी नेता शर्मा पार्टीभित्र उदयीमान, प्रतिभाशाली नेता हुन्। संघीय सरकारमा मन्त्री भइसकेकी शर्मा प्रभावकारी संसदीय भूमिका निभाएर छवि बनाएकी नेता हुन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने यो क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मा सहज अवस्थामा छिन्। यो क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको ३६ हजार एक सय ४६ मत ल्याएउका छन् भने नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूको ३३ हजार ५९३ मत प्राप्त गरेका छन्।
तर एमाले नेताहरु शंकर पोखरेलको व्यक्तित्वका कारण चुनाव जित्ने दाबी गर्छन्। लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्ने निर्णय गराएकाले त्यसको फाइदा पोखरेललाई मिल्ने उनीहरुको तर्क छ। पोखरेलले पनि उम्मेदवारी दर्ता गरेयता आफूले दाङलाई राजधानी बनाउने निर्णय गराएको विषय जोडतोडका साथ उठाइराखेका छन्।
अर्कोतर्फ विगतमा सामान्य प्रशासन मन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्ष तर्फको निर्वाचन लड्न लागेकी हुन्। शर्माले आफूले संविधानको रक्षाका लागि प्रतिगमनलाई परास्त गर्न निर्वाचन लड्न लागेको बताउने गरेकी छिन्।
रोल्पा र प्यूठानसँग सीमा जोडिएको दाङमा दुवै जिल्लाबाट बसाइँ सरेर आएकाहरुको बाक्लो उपस्थिति छ। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन्। त्यसको लाभ रेखालाई मिल्ने देखिन्छ। त्यस्तै नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र भएकाले कांग्रेसको मत ट्रान्सफर हुदाँ रेखालाई जित निकाल्न सहज हुने देखिन्छ।
अर्कोतर्फ पोखरेलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा आफ्ना दलका उमेदवारलाई जिताउन सकेका कारण उनी यसपटक निर्वाचन जित्नेमा उत्साही छन्। तर स्थानीय निर्वाचनका बेलामा जस्तो गठबन्धनमा किचलो नरहेका कारण यसपटक जित हात पार्ने दाबी माओवादीका स्थानीय नेताहरुको छ।
तर पोखरेल र शर्मा दुबैका लागि जित निकाल्न कांग्रेसको मत निर्णायक हुने देखिन्छ। शर्मालाई जितका लागि कांग्रेसको सबै मत तान्नु चुनौतीपूर्ण छ भने पोखरेललाई जितका लागि कांग्रेसको मत आकर्षित गर्नुपर्ने हुन्छ।
पोखरेल र शर्माबीचको रोचक चुनावी प्रतिस्पर्धाको नतिजा भने मंसिर ४ गतेपछि थाहा लाग्नेछ।