जेनिफर राना मगर नेपालको यू-१८ राष्ट्रिय फुटबल महिला टिममा लेफ्ट विंगर हुन्।
राष्ट्रिय टिममा परेकी उनी गत वर्ष वैशाखमा मात्रै काठमाडौं आएकी हुन्। खेलको सीप बढाउन उनी काठमाडौं आएकी थिइन्।
काठमाडौं आएर उनले समाज कल्याण खेलकुद केन्द्र क्लबबाट फुटबलको थप तालिम लिइन्। उनको खेल यात्रा भने काठमाडौं आउनुअगाडि नै सुरू भइसकेको थियो।
जेनिफरलाई उनकी धर्मआमा इन्दिरा राना मगरले सानैदेखि खेल्न हौसला दिएकी हुन्। उनलाई आफूलाई जन्म दिने आमाबुवाबारे कुनै सम्झना छैन। सानैमा उनलाई प्रिजनर्स असिस्टेन्स नेपाल (पि.ए.नेपाल) ले संरक्षण दिएर हुर्काएको हो।
यो संस्थाले जेलमा परेकाको सन्तानको रेखदेख गर्दै आएको छ। यसको अध्यक्ष हुन् इन्दिरा।
इन्दिराले आफूलाई आमाबुबाको कमी महसुस हुन नदिएको जेनिफर बताउँछिन्।
काठमाडौंको बालाजुमा इन्दिरासँग बसिरहेकी उनी २०७२ सालको भूकम्पपछि इलाम गएकी थिइन्। त्यहाँ इन्दिराकी बहिनीको घर छ।
जेनिफर त्यहीँको विद्यालयमा भर्ना भएर पढ्न थालेकी थिइन्। विद्यालयमै हुने फुटबल प्रतियोगितामा उनको जबरजस्त प्रदर्शन हुन्थ्यो जसले गर्दा त्यहाँका शिक्षकको नजर पनि उनीमाथि परेको थियो। उनले राम्रो खेल्ने थाहा पाएपछि उनलाई जिल्ला छनोटका लागि पठाइएको थियो। त्यहीँबाट उनको खेल जीवन सुरू भएको हो।
'गुरूहरूलाई मन परेर छनौटका लागि मलाई बोलाउनु भयो। अनि म जिल्लाको टोलीमा छनौट भएँ,' उनले भनिन्, 'त्यसपछि मैले जिल्लाको लागि खेल्न थालेकी हुँ।'
जिल्लामा खेल्दा पनि उनी स्ट्राइकर र विंगर भएर खेल्थिन्। जिल्लामा छनौट हुँदा उनले सुरूमै खेल्ने मौका पाइन्। अनुभवी खेलाडीहरूसँग खेल्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्।
'छनोट हुनेबित्तिकै पहिलो खेलमै खेल्न पाएकी थिएँ। बेन्चमा बस्नु परेन,' उनले भनिन्, 'झापामा पहिलो गेम भएको थियो। लेफ्ट विंगबाट खेलेको मैले पहिलो खेलमै मेरो पहिलो गोल गरेँ।'
कोचले विश्वास गरेर खेलाएको हुँदा आफूले पनि सक्षम छु भनेर पुष्टि गरेको उनले बताइन्। सुरूआती खेलमै राम्रो प्रदर्शन गरेपछि त्यसयता उनी टिममा पर्दै आएकी छन्। इलाममा हुँदा उनले स्थानीय, जिल्ला, प्रदेशसम्मका खेलहरू खेलिन्। आफ्नो आवश्यकता अनुसारको तालिम नपाएपछि भने उनी फेरि काठमाडौं आएकी हुन्।
'भनेको जस्तो तालिम, टिम पाएको थिइनँ। तालिम पनि एक्लै गर्नुपर्थ्यो। मेरो सपना ठूलै थियो। यसरी हुँदैन, काठमाडौं नै जान्छु भनेर आएकी हुँ,' उनले भनिन्, 'यहाँ आएपछि तालिम राम्रै भयो। क्लबमा सिक्न थालेपछि वास्तविक फुटबल के हो भनेर सिकेँ।'
क्लबमा सिक्दै गर्दा केटा र केटी भनेर छुट्टाछुट्टै नसिकाएकाले पनि आफूलाई खुसी लागेको उनी बताउँछिन्।
'केटा-केटी दुबैले नै मेहनत गर्ने हो। शारीरिक रूपमा अलि कमजोर भए पनि केटाले जस्तो खेल्छन्, केटीले पनि त्यस्तै खेल्ने हो,' उनी भन्छिन्, 'केटीहरूले नसक्ने भने होइन। त्यही भएर सँगै ट्रेनिङ गर्न पाउँदा म खुसी थिएँ।'
तालिमबाट आफ्नो कति सुधार भयो भनेर अड्कल गर्ने हुटहुटीले उनले 'वी प्ले' एपमार्फत टिमबाट फुटसल खेल्न थालिन्।
'फुटसल खेल्छु भन्दा खेलाडी, फुटसल नपाउने समस्याको समाधान खोज्दा साथीले वी प्ले एपबारे भन्यो,' उनले भनिन्, 'यहाँ खल्दा मैले अर्को दुनियाँ भेटेँ। साथीसित भन्दा दिदीहरूसित खेलेको जस्तो भयो।'
उनले आफ्नो भविष्य पनि फुटबलमै देखेको बताइन्।
'इलामबाट काठमाडौं आउँदा जसरी पनि राष्ट्रिय टिममा पर्छु भन्ने सोचेकी थिएँ। १७ वर्षमै यू-१८ बाट खेल्न पाउँदा खुसी भएँ,' उनले भनिन्, 'तर अझै मेहनत गर्छु, गल्ती सुधार्दै जान्छु र राष्ट्रिय टिममा पर्ने सपना पूरा गर्छु।'