उनी गाउँले परिवेशमा खानाका विभिन्न परिकार पकाउँछिन्। खाना पकाएका भिडिओ युट्युबमा राख्छिन्। कान्छी किचेन नामको युट्युबमा ती भिडिओ निकै लोकप्रिय छन्। हरेक भिडिओ लाखौं दर्शकले हेर्छन्।
गुन्यूचोली लगाएर गाउँले परिवेशमा गाउँकै तरिकाले खाना पकाउने कान्छी भण्डारी युट्युबमा लोकप्रिय भइरहेकी छन्।
धादिङको संकोशमा जन्मिएकी ५० वर्षीय कान्छीलाई सानैदेखि खाना पकाउन रूची थियो। ११ वर्ष हुँदादेखि नै उनले घरमा खाना पकाउन थालेकी थिइन्।
सानैदेखि विभिन्न खाना पकाएर आफू खान र अरूलाई खुवाउन आफूलाई रमाइलो लाग्ने कान्छी बताउँछिन्।
दुई वर्षअघि कान्छीले आफ्नै बाल्यकालदेखिको रूचीलाई युट्युबको संसारमा पेस गरेकी हुन्।
कोरोनाभाइरसको महामारी सुरू हुनुभन्दा अगाडि कान्छीले छ महिनाभित्रै आमा-बुबा र श्रीमान् गुमाइन्। आफ्ना नजिकको सदस्य एकै समयमा गुमाएपछि कान्छी निराश भएर शोकमा बस्थिन्।
‘लकडाउनको भएपछि छोराको पनि ट्रेकिङ काम बन्द भयो,’ उनले विगत सम्झिइन्,‘छोराको पनि केही काम थिएन। घरमा बस्दा बाबुले मेरो अनुहारमा उज्यालो देख्दैनथ्यो। एकदिन ‘आमा तपाईं खाना बनाउन सिपालु हुनुहुन्छ। खाना बनाउनुस्, म भिडिओ खिच्छु है’ भन्यो।’
यो दोस्रो लकडाउनताकाको कुरा हो।
‘सधैं खाना पकाइरहेको त हो नि, खाना खान परिहाल्छ, पकाइहाल्छु नि। तैंले भिडिओ खिचे पनि नखिचे पनि पकाउँछु नि,’ भनें।
त्यसअघि पनि कान्छीलाई छोरा प्रकाशले खाना मीठो पकाउने हुँदा तपाईंले खाना पकाएको भिडिओ बनाएर युट्युबमा हाल्ने बताएका थिए। तर त्यसबारे गम्भीर भएर उनले कहिले पनि सोचेकी थिइनन्। आफू शोकमा भएका कारण छोराले भिडिओ बनाएर मन भुलाउन खोजिरहेछ भन्ने उनलाई थाहा थियो।
‘एकदिन गाउँमा माछा बेच्न ल्याएको थियो। हामीले माछा किन्यौं,’ उनले भनिन्, ‘बाबुले ‘आमा तपाईं माछा र ढिँडो बनाउनू म भिडिओ खिच्छु’ भन्यो। मैले खुरूखुरू खाना पकाएँ, उसले भिडिओ खिच्यो।’
भिडिओ बनाएर युट्युबमा राख्ने कुरा गर्दा नै पहिले च्यानलको नाम के राख्ने भनेर आमाछोराले सल्लाह गरेका थिए। छोराले पनि भिन्नै किसिमको नाम खोजिरहेको बेलामा आफ्नो नामै कान्छी भएपछि च्यानलको नाम ‘कान्छी किचेन’ राखेको उनी बताउँछिन्।
कान्छीले पकाएको भिडिओ उनीहरूले युट्युबमा हाले। खाना पकाएका अरू भिडिओ पनि उनीहरूले हाल्दै गए। मानिसहरूले ती भिडिओ यति धेरै रूचाए कि उनीहरूलाई अरू भिडिओ बनाउन उत्प्रेरणा मिल्यो। नयाँ-नयाँ भिडिओ बनाएर हाल्न थाले।
कान्छीलाई युट्युब भनेको के हो समेत थाहा थिएन। छोराले ‘आमा युट्युबबाट अलिअलि कमाइ पनि हुन्छ रे! युट्युबमा पकाएको भिडिओ हाल्यो भने सबैले हेर्छन्। तपाई खाना बनाउनु म भडिओ बनाएर हाल्छु, अनि दुई-चार वर्षपछि राम्रो हुँदै जान्छ’ भनेर सुनाएको उनी बताउँछिन्।
कान्छीले समेत यति छोटो समयमा नै सफलता पाइएला भन्ने सोचेकी थिइनन्। तर छोटो समयमै सफलता र दर्शकहरूको साथ माया पाएपछि एकदमै खुसी लागेको र अझ राम्रो गर्दै जाने उनको सोच छ।
कान्छीलाई खाना पकाउने बेलामा छोराले सहयोग र सल्लाह दिन्छन्। कहिले कुन खाना पकाउने भनेर आमाछोरा सल्लाह गर्छन्। खाना कसरी सुन्दर तरिकाले पस्कने भनेर छोराले नै कान्छीलाई सिकाउँछन्।
नेपाली खानाबाहेक अन्य खाना बनाउँदा भने ती खानाका रेसिपी छोराले नै उनलाई सिकाउँछन्। नयाँ ठाउँ पुग्दा कुनै नयाँ परिकार खाएको छ भने सोही खाना घरमा आएर आफ्नो तरिकाले पकाएर भिडिओ खिच्ने गरेको कान्छी बताउँछिन्।
एकान्त रूचाउने कान्छीले पहिले खाना खाएपछि ‘मीठो छ’ भनेर मात्र प्रतिक्रिया दिने गर्थिन्। तर पछिल्लो समय बुहारीसँग कुराकानी गरेको भिडिओमा देखिन्छ।
सुरूमा क्यामराको अगाडि बोल्न डर लाग्ने भएका कारण नबोलेको उनी सुनाउँछिन्।
भन्छिन्- म एकदमै कम बोल्ने र शान्त बस्न रूचाउने मान्छे हुँ, त्यही भएर पनि होला, शान्तमै भिडिओ बनाउने गर्थें। अनि एक्लै भएपछि अरूसँग बोल्ने कुरा पनि त आएन।’
पछिल्लो समय बोल्नलाई बुहारी साथी भएपछि बोल्न थालेको उनको भनाइ छ।
दर्शकहरूलाई पनि एकै ठाउँमा पकाएको भिडिओ हेर्दा अल्छी लाग्न सक्ने भएका कारण विभिन्न ठाउँमा गएर उनी खाना बनाउने गर्छिन्।
‘चुलोमा मात्र पकाएको भिडिओ हेर्न मान्छेलाई मन नलाग्न सक्छ,’ उनी भन्छिन्, ‘त्यही भएर कहिले खोला किनारमा त कहिले जंगलमा गएर खाना पकाउँछौं। त्यो हुँदा फरक पनि देखिने हुँदा फरक ठाउँमा गएर पकाउने गर्छौं।’
यस्तै कान्छी गाउँघरमै पाइने सरसामान प्रयोग गरेर खाना पकाउने गर्छिन्। आफ्नै बारीमा नपाइने कुरा मात्रै बजारबाट किनेर ल्याउँछिन्। तर अधिकांश कुराहरू भने आफ्नै गाउँठाउँमा पाइने कुराहरू प्रयोग हुने गरेको उनी बताउँछिन्।
पहिले थोरै मात्रामा खानाका परिकारहरू पकाउने गरेकी कान्छीले पछिल्लो समय धेरै मात्रामा परिकारहरू पकाइरहेकी हुन्छिन्।
‘पहिले आम्दानी थिएन,’ उनी भन्छिन्, ‘त्यही भएर थारै पकाउँथ्यौं। तर अहिले युट्युबबाट भएको आम्दानी नै खाना बनाउन सरसमान किन्नमा खर्च गर्ने गरेका छौं। त्यसैले बेलाबखत कहिले खसी त टर्की त कहिले के गरी विभिन्न परिकारहरू पनि पकाइरहेका हुन्छौं।’
केही समयअघि मात्रै विदेशी फुड भ्लगर लुक मार्टिन नेपालमा आएका थिए। सोही समयमा उनले कान्छीलाई भेटेका थिए। त्यसबेला कान्छीले बारीमा पाटामा बसेर खड्कुलोमा बोकाको मासु पकाएकी थिइन्। त्यसबेला विदेशी पाहुना एकदमै खुसी भएको कान्छी बताउँछिन्।
‘छोरासँग कुराकानी गरेर मलाई भेट्न आउँछु भनेको रहेछ,’ उनी भन्छिन्, ‘त्यसपछि हाम्रो चलन देखाउनुपर्छ भनेर बारीको पाटामा पकाएर टपरीमा बारीको डिलमा बसेर खाएका थियौं।’
कतिपयले कान्छीले बनाएको खाना खान पाइन्छ कि पाइँदैन भनेर सोध्ने गरेको उनी बताउँछिन्।
‘धेरैले मैले बनाएको खाना चाख्न पाइएन भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘तर हामीले बिस्तारै कान्छी होमस्टे बनाउने योजना बनाइरहेका छौं। त्यसको व्यवस्था भएपछि सबैले मैले बनाएको खाना पाउन सक्नुहुनेछ। अहिले कुनै पनि व्यवस्था नभएका कारण केही समय लाग्छ।’
सुरूवातीका दिनमा क्यामरा अगाडि बोल्न निकै डराउने कान्छी अहिले आत्मविश्वासी बनेकी छिन्। आफूले कुनै पनि काम गर्न सक्दिनँ भन्नुको सट्टा प्रयास गर्नुपर्ने उनी बताउँछिन्। आफूमा जुन सीप, क्षमता छ त्यो चिनेर सामाजिक सञ्जालको प्रयोग गरेर भए पनि महिलाहरू पनि अगाडि बढ्नु पर्नेमा जोड दिन्छिन्।