प्रहरीले बर्दीमै नाच्दै, गाउँदै गरेको भिडिओहरू टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। यस्ता भिडिओ हाल्ने ९६ जनालाई नेपाल प्रहरीले यो वर्ष मात्र कारबाही गरिसकेको छ।
यसअघि पनि धेरै प्रहरी कर्मचारीहरू बर्दी लगाएको भिडिओ खिचेर टिकटकलगायत सामाजिक सञ्जालमा अपलोड गरेका कारण कारबाहीमा परिसकेका छन्।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायत भन्छन्, 'यो आर्थिक वर्षमा मात्र विभिन्न दर्जाका ९६ जनालाई विभागीय कारबाही गरेका छौं। जसमध्ये ४१ जनालाई नसिहत (एक प्रकारको चेतावनी) दिएका छौं, ५४ जनालाई चेतावनी र एक जनाको त दुई ग्रेड घटुवा नै भएको छ।'
डिआइजी कडायतका अनुसार कारबाहीको प्रकृति फरक-फरक हुनसक्छ। कसैले साथीको लहलहैमा लागेर भिडिओ बनाएको छ तर उसको ट्र्याक हिस्ट्री हेर्दा गल्ती गरेको छैन भने त्यस्तो अवस्थामा नसिहत दिने वा सुरूआती चेतावनी दिइने उल्लेख गर्दै उनले भिडिओको संवेदिनशीलता हेरेर कारबाही गरिने जनाए।
यसरी कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि एसपीसम्म छन्।
प्रहरीको आचारसंहिता कार्यादेश २०७७ अनुसार फेसबुकलगायत सामाजिक सञ्जालमा प्रहरीको नाम, पोसाक वा कुनै पनि चिह्नहरू प्रयोग गर्न पाइँदैन भनिएको छ। साथै ड्युटीमा खटिएका बेला हातहतियार देखिने गरी कुनै पनि पोष्ट गर्न नपाइने उल्लेख छ।
प्रहरीको हातहतियार, गोलीगठ्ठादेखि कतिपय अवस्थामा कार्यालयहरू पनि गोप्य राख्नुपर्ने हुँदा यस्ता कुराले संगठनको गोपनियता असर पुर्याउने डिआइजी कडायत बताउँछन्।
साथै, यस्ता भिडिओहरू सामाजिक सञ्जालमा आउँदा संगठनको छविमा असर पुग्ने उल्लेख गर्दै उनले भने, 'पहिलो कुरा त प्रहरीको बर्दी लगाएर ड्युटी गर्न छोडेर यस्ता चिज गर्ने भन्छन्। दोस्रो,आम नागरिकको अपेक्षा पूरा गर्न सक्दैनौं जसले गर्दा हाम्रो काममा समेत असर गर्छ।'
हेर्नुस् उनै डिआइजी कडायतसँग कुराकानी गरेर तयार पारिएको भिडिओः