४४ वर्षीया रेविका थापा धनगढीदेखि काठमाडौं आउने नाइट बस चलाउँछिन्। सम्भवतः नेपालमा नाइट बस हाँक्ने उनी एक्ली महिला हुन्।
२०६० सालमा टेम्पो चलाउन सुरू गरेकी उनी तीन महिनादेखि नाइट बस चलाइरहेकी छन्। यो बीचमा उनले माइक्रो, मिनी बस, ठूला बस सबै चलाइसकेकी छन्।
नाइट बस चलाउँदा सुरूका केही दिन गाह्रो भए पनि अहिले उनलाई सहज लाग्न थालेको छ। काठमाडौं बबरमहलमा बस्दै आएकी रेविका अनाथ बालबालिकालाई हेरचाह गर्ने एउटा संस्था पनि चलाउँछिन्।
आत्मविश्वास भए महिलाहरू जुनसुकै कामका लागि सक्षम भएको उल्लेख गर्दै उनले क्षमता हुँदा पनि महिलामाथि झट्ट विश्वास नगर्ने प्रवृत्ति भने सुधार गर्नुपर्ने बताइन्।
'म आफैं पनि नाइट बस चलाउँछु भन्दै गर्दा धेरैले गाह्रो हुन्छ, त्यसमाथि तिमी छोरी मान्छे अफ्ठ्यारो हुन्छ भन्नुभयो। एकातिरबाट सान्त्वना दिएजस्तो तर अर्कोतिर ललिपप खुवाएर विभेद गरेजस्तो,' उनले भनिन्, 'सुरूमा नाइट चलाउन जाँदा पनि कसैले नयाँ गाडी चलाउन दिनुभएन। पुरानै गाडी चलाएँ। दुई टिप गरेपछि भने नयाँ गाडी नै मेरो हातबाट उद्घाटन गर्छौं भनेर धेरै जना आउनुभयो तर मैले मानिनँ।'
अन्य क्षेत्रको तुलनामा ड्राङ्भिङ क्षेत्र महिलाहरूका लागि केही कठिन हुने उनको बुझाइ छ। चालकहरूले गर्ने व्यवहार र प्रयोग गर्ने भाषाका कारण महिला चालकलाई असहज मात्रै होइन, सिंगो ड्राइभिङ पेशा नै मर्यादित हुन नसकेको उनी बताउँछिन्।
'म आफैंलाई बसपार्कमा अरू चालकहरूले बोल्ने भाषा सुनेर स्टेरिङसम्म पुग्न कठिन हुन्छ। खाना खाने ठाउँमा पनि कहाँ बस्ने होला भन्ने हुन्छ। अरू ड्राइभरहरू सबै एउटा टेबलमा बस्छन्, मचाहिँ कहाँ बस्ने होला भन्ने सोच्छु र प्राय: यात्रुहरूसँगै बसेर खान्छु। त्यस्तो बेला चाहिँ आँखाबाट तुरूक्कै आँशु झर्ने रैछ,' उनले अनुभव सुनाइन्।
ड्राइभिङ क्षेत्रमा महिलाहरू कम भएकाले पनि आफूलाई असहज भएको हो कि भन्ने उनी ठान्छिन्। त्यसैले जतिसक्दो धेरै महिलाहरूलाई यो क्षेत्रमा लाग्न प्रेरित गर्ने उनको चाहना छ। आफूले हार खाएर हात उठाए अन्य दिदीबहिनीलाई नै असर गर्ला भन्ने उनलाई लाग्छ।
'यहाँसम्म आएर हार खाएँ भने यो क्षेत्रमा आउन चाहने अरू महिलाहरूलाई के हुन्छ होला? त्यसैले कुनै विशेष कारणले छोडें भने बेग्लै हो तर अहिलेसम्म नाइट चलाउने काम गर्छु नै भन्ने छ,' उनले भनिन्।
हेर्नुस् नाइट बसकी चालक रेविकासँग कुराकानी गरेर तयार पारिएको भिडिओः