७९ वर्षको उमेरमा रत्नकुमारी सुनुवारले कक्षा १२ को परीक्षा पास गरेकी छन्।
तीनकुनेस्थित बानेश्वर बहुमुखी क्यापसमा भर्ना भएकी उनी २.६४ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन्।
अहिले उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।
बुढेसकालमा भए पनि आफूले पढ्ने इच्छा पूरा गरेको भन्दै रत्नकुमारी पनि दंग छिन्।
उनलाई मंगलबार साँझ नतिजा प्रकाशित भएदेखि नै बधाई थाप्न भ्याइनभ्याई छ।
‘पास हुन्छु कि हुन्न भन्ने लागेको थियो, पास भइयो। खुसी लागेको छ। हिजो नतिजा आएपछि कहाँ-कहाँबाट पनि फोन गरेर बधाई दिनुभयो,’ रत्नकुमारीले सेतोपाटीसँग भनिन्।
२०५७ सालमा प्रौढ शिक्षा पढ्न सुरू गरेकी उनले तीनकुनेस्थित महिला प्रेरणा स्कुलबाट एसएलसी दिइन्। पढाइ सुरू गर्दा उनी ५६ वर्षकी थिइन्। सानैदेखि पढ्नमा रूची राख्ने उनलाई त्यो बेला पढ्न नपाए पनि अहिले आएर पढ्न पाएकोमा सन्तोष लागेको छ।
‘मलाई सानोमा मास्टर बन्ने एकदम इच्छा थियो। सायद पढ्न पाएको भए पूरा हुन्थ्यो कि,’ उनी भन्छिन्, ‘त्योबेला पढ्न नपाए पनि अहिले बुढेसकालमै भए पनि पढ्न पाइयो। इच्छा पूरा भयो।’
१२ कक्षा पास भएकी रत्नकुमारीलाई स्नातक पनि पढ्ने इच्छा छ। तर आँखामा समस्या देखिन थालेकोले उनलाई अहिले लेखपढ गर्न गाह्रो भएको छ।
‘तेह्र-चौध कक्षा पनि पढूँला भन्ने थियो तर आँखाले धक्का दियो। अब यतिमै सन्तोष मान्नुपर्ला कि,’ उनले भनिन्।
अबको पढाइ अघि नबढे पनि आफूले पढ्न नपाएका धेरै महिलाहरूलाई थोरै भए पनि प्रेरणा दिन सकेकोमा उनलाई खुसी लागेको छ। इच्छाशक्ति भए उमेरले पढाइलाई नछेक्ने उल्लेख गर्दै उनले जुनसुकै उमेरका मानिस पनि पढ्न सक्ने बताइन्। उनले आफूले पनि सुरूमा श्रीमानबाट हौसला नपाएको सुनाउँदै आफ्नै इच्छाशक्तिका कारण यहाँसम्म आइपुगेको जनाइन्।
‘बुढाले तैंले पढेर के गर्छेस्? पाकेको धानलाई पानी लाएर के फाइदा हुन्छ? भन्थे। म पाकेको धानलाई पानी लगायो भने चामल टक्क पुग्छ भनेर जवाफ दिन्थें र पढ्न जान्थें,’ पढाइ सुरू गर्दाका दिन सम्झिँदै उनले भनिन्।
हेर्नुस् रत्नकुमारीसँग कुराकानी गरेर तयार पारिएको भिडिओः