एसिया कपअन्तर्गत नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल आज हुँदैछ। श्रीलंकाको पेल्लेकेले मैदानमा हुने खेल नेपाली समय अनुसार सोमबार दिउँसो सवा तीन बजे सुरू हुनेछ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलो पटक भारतको सिनियर टोलीसँग खेल्न लागेको हो। यो ऐतिहासिक खेलका हेर्न नेपाली समर्थकहरू उत्साहित छन्।
समूहको पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजय भोगेको नेपालले आजको खेलमा सुधारोन्मुख प्रदर्शन गर्ने धेरैको अपेक्षा छ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आजको खेलप्रति देशले नै ठूलो अपेक्षा राखेको बताउँछन्।
‘भारत र पाकिस्तानसँग खेल्ने हाम्रो पहिल्यैदेखि सपना थियो। त्यसैले आज ममात्र होइन, नेपाली क्रिकेटसँग जोडिनुभएका सबैजना र देशले नै आजको खेल धेरै आशा र अपेक्षासहित हेर्नु हुने छ,’ उनले भने, ‘व्यक्तिगत रूपमा पनि नेपालले भारत र पाकिस्तानजस्ता देशसँग खेल्न लागेकोमा गर्व लागेको छ।’
एक दशक राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका पारसको पनि भारत र पाकिस्तानसँग खेल्ने सपना रहे पनि त्यो पूरा भएन।
यद्यपि अहिले नेपाली टोलीले खेल्न लागेकोमा आफू खुसी रहेको उल्लेख गर्दै उनले भने, ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो तर महत्वपूर्ण कुरा नेपाली टोली खेल्दैछ र देश खेल्नु भनेको हामी सबैको सपना पूरा हुनु हो।’
आजको खेलमा नेपाली टोलीले पाकिस्तान सँगको खेलबाट पाठ सिकेर राम्रो प्रदर्शन गर्नेमा पारस विश्वस्त छन्।
पाकिस्तानसँगको खेलमा सुरूवाती ब्याटिङ राम्रो हुन नसके पनि मध्यक्रममा राम्रो हुँदै गएकोमा पछि एकैचोटि ब्याटिङ ध्वस्त भएको उल्लेख गर्दै आजको खेलमा भने सो कुरालाई सुधार गर्दै टोलीले राम्रो प्रदर्शन गर्नुपर्ने उनले बताए।
‘आजको खेललाई लिएर हामी सबैको अपेक्षा ठूलो छ। तर भारतजस्तो देशसँग खेल्दा एकैचोटिमा भनेजस्तो नतिजा नआउन सक्छ,’ उनले भने,‘यो एउटा सुरूवात हो र यहाँबाट राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने हो भने अबको पाँच-सात वर्षमा भारत र पाकिस्तानजस्तो देशसँग फाइट गर्न सक्छौं।’
हेर्नुस् पारससँग नेपाल र भारतबीच हुन लागेको खेलबारे कुराकानी गरेर तयार पारिएको यो भिडिओः