सूर्यविनायकदेखि रत्नपार्कसम्मको द्रुत बस सेवा सञ्चालनमा आएको छ। कार्यालय समयमा ट्राफिक व्यवस्थापनमा सहज होस् र मास ट्रान्सपोर्टेसनको अवधारणालाई प्रोत्साहन मिलोस् भनेर द्रुत बस सेवा सुरू गरिएको हो।
द्रुत बस सेवा सञ्चालनमा आएसँगै ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्क पुगिन्छ भनिएको छ। द्रुत बस चलाउन सडकका दुबैतिर रातो रङ अंकित डेडिकेटेड लेन बनाइएको छ।
द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।
द्रुत बसहरू ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्।
कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। ट्राफिकको समन्वयनमा यस्ता गाडीहरूलाई गुड्न दिने बताइएको छ।
अहिले नेपाल यातायात व्यवसायी महासंघ सँगको सहकार्यमा २५ वटा बस चलाइएको छ। द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै भने हुँदैनन्।
आज हामी द्रुत बसको सेवा के-कस्तो रहेछ, तोकिएको समय अर्थात् ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुग्न सकिन्छ कि सकिँदैन भन्ने बुझ्न आफैं यात्रु बनेका छौं।
शिक्षक आन्दोलनका कारण द्रुत बसहरूलाई आज बानेश्वरबाट फर्काइएकाले हामीले पूरा यात्रा गर्न पाएनौं।
सूर्यविनायकदेखि बानेश्वर पुग्न नै हामीलाई झन्डै ४५ मिनेट लागेको थियो।
हामी चढेको बसका चालक जीवन श्रेष्ठसँग कुराकानी गर्दा उनले आन्दोलन नभए द्रुत बसमा ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्क पुग्न सकिने बताए।
‘आज प्रदर्शन र आन्दोलनले गर्दा समय लाग्यो। तर सामान्य दिनमा हो भने ४५ मिनेटमा तोकिएको गन्तव्यमा पुग्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने।
द्रुत बस सेवाअन्तर्गतका गाडीहरू प्राय: ४५ देखि ५० किलोमिटर प्रति घन्टाको गतिमा गुड्ने उनले बताए।
द्रुत बसमा सूर्यविनायकदेखि रत्नपार्कसम्मको भाडा ३५ रुपैयाँ तोकिएको छ।