द कन्भरसेसन: २०
नेपाली राजनीति र नेपाली समाजलाई पटक-पटक तरंगित बनाइरहने विषय हो — बिपी कोइराला, महेन्द्र र सगरमाथा।
बिपी कोइरालामाथि कतिले सगरमाथा बेचेको आरोप लगाउँछन्। २०१५ सालमा प्रधानमन्त्री भएपछि चीन भ्रमणका क्रममा बिपीले सगरमाथाको चुचुरो दुई देशबीच भाग लगाएका थिए भन्ने 'न्यारेटिभ' हामीले सुन्दै आएका छौं। यो न्यारेटिभलाई धेरैले विश्वास पनि गर्छन्।
पत्रकार तथा लेखक सुधीर शर्माले विभिन्न तथ्य र घटना विवरण खोजबीन गरेर नेपाली राजनीति तरंगित बनाउने यो न्यारेटिभ बदल्ने कोसिस गरेका छन्, आफ्नो नयाँ किताब 'भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट-चीन सम्बन्ध र भारत' मा।
शर्माले आफ्नो किताबमा सगरमाथा चुचुरो आधा-आधा भाग लगाउन चिनियाँ राष्ट्रपति माओ-त्से-तुङले राखेको प्रस्ताव कसरी बिपीले ठाडै अस्वीकार गरे भनेर विस्तार लगाएका छन्। त्यही प्रस्ताव राजा महेन्द्रले स्वीकार मात्र गरेनन्, सगरमाथा आधा-आधा भाग लगाउने गरी चीनसँग सन्धि नै गरे।
२०१७ सालको शाही 'कू' पछि २०१८ असोजमा चीन गएका राजा महेन्द्रले माओको उक्त प्रस्तावमा सहमति जनाएर सिमाना सन्धि गरेका थिए।
इतिहासका यस्ता विभिन्न घटनाका आधारमा लेखक शर्माले राजा र नेताहरूको कूटनीतिक खुबी केलाएका छन्।
हामीकहाँ कुनै पनि नेताको व्यक्तित्व विवेचना गर्दा एकपक्षीय ढंगले हेरिन्छ। कसैलाई राष्ट्रवादी भनिन्छ, कसैलाई राष्ट्रघाती। कसैलाई हिरो बनाइन्छ, कसैलाई भिलेन। जबकि राष्ट्रवादी हिरो भनिएका राजा महेन्द्रले पनि भारत र चीन दुवैसँग कहिले सम्झौता गरेका थिए, कहिले संघर्ष गरेका थिए। त्यस्तै, 'भारतपरस्त' भनिएका वा लेन्डुप दोर्जी भएको आरोप लगाइएका बिपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला हुँदै प्रचण्ड र केपी ओलीसम्मले भारत र चीनसँगको सम्बन्धमा त्यही गरिरहेका छन्; कहिले सम्झौता गरेका छन्, कहिले संघर्ष गरेका छन्।
शर्माका पछिल्ला दुई किताबमा राजादेखि नेताहरूका यिनै सम्झौता र संघर्षको नालीबेली छ।
२०७० सालमा नेपाल-भारत सम्बन्धमाथि 'प्रयोगशाला' किताब लेखेका शर्माले यसपालि नेपाल-चीन सम्बन्धबारे एकसाथ दुइटा किताब लिएर आएका हुन्।
'भिक्षु, व्यापार र विद्रोह' मा नेपाल र भोट-चीन सम्बन्धको ऐतिहासिक पक्ष केलाइएको छ। पन्ध्र सय वर्षअघिबाट सुरू तिब्बतसँगको व्यापारिक सम्बन्ध र तिब्बत व्यापारमा जमेका नेवार व्यापारीहरूको कथा वर्णन गरिएको छ।
लिच्छवि राजकुमारी भृकुटी र तिब्बती सम्राट स्रङ-चङ-गम्पोको वैवाहिक सम्बन्धबाट कसरी दुई देशबीच ऐतिहासिक सम्बन्धको बाटो कोरियो र त्यो सम्बन्ध आजपर्यन्त कसरी चल्दै आएको छ भनेर शर्माले तथ्य-प्रमाणका आधारमा लेखेका छन्।
दोस्रो किताब 'हिमालपारिको हुरी' मा निकट अतीतको घटनाक्रम छ। अघिल्लो किताब सातौं शताब्दीबाट सुरू भएर सन् २००८ मा टुंगिन्छ भने यो किताब २००८ बाट सुरू हुन्छ। यो वर्षलाई शर्माले नेपाल-चीन सम्बन्धको 'पानीढलो' भनेका छन्।
'सेतोपाटी कन्भरसेसन' को यो अंकमा शर्माले आफ्ना यी दुवै कृतिबारे सेतोपाटीका सुदीप श्रेष्ठसँग विस्तारमा कुराकानी गरेका छन्।
यसमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कूटनीति छ। खम्पा विद्रोहको नालीबेली छ। चीनसँगको सम्बन्धमा अमेरिकाको भूमिका छ। सँगसँगै, नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा र फुट्दा चिनियाँहरूले गरेको 'माइक्रो म्यानेजमेन्ट' को विवरण छ।
आफ्नो लेखन, अध्ययन बानी र पत्रकारिता गर्दै किताब लेख्दाको सकस र चुनौतीबारे पनि उनले चर्चा गरेका छन्।
पत्रकार तथा लेखक सुधीर शर्मासँगको कन्भरसेसन हेर्नुहोस् भिडिओमा: