जुन काम गर्दा मन खुसी हुन्छ, त्यही काम व्यवसाय बन्यो भने जिन्दगी रमाइलो बित्छ।
सेलरोटी पकाएर खुवाउन मन पराउने कमला गुरूङले पनि यसैलाई आफ्नो व्यवसाय बनाएकी छन्।
उनी पहिले पहिले आफन्तहरूका घरमै गएर सेल पकाइदिन्थिन्। पछि सबैको सल्लाह मानेर यसैलाई व्यवसायका रूपमा अंगालिन्।
नारायणगोपाल चोक, चप्पल कारखानानिर कमलाको सेलरोटी पसल छ। बुधबार बिहान हामीले भेट्दा उनलाई सेल पकाउन भ्याइनभ्याइ थियो।
कमला हरेक दिन बिहान ३ बजेदेखि सेल पकाउन थाल्छिन्। लगभग ७ बजेसम्म पाकिसक्छ। ग्राहकहरू आउने क्रम ५ बजेदेखि नै सुरू हुन्छ। चाडबाड बेला त ग्राहकहरूको अर्डर भ्याउनै गाह्रो पर्ने उनी बताउँछिन्।
अहिले तिहारको मौकामा उनी सबभन्दा व्यस्त छिन्। झिसमिसेदेखि नै ग्राहकको लाइन लाग्छ। बिहान ५ देखि ७ बजेसम्म धेरै भीड लाग्ने उनी बताउँछिन्। अर्को दिनका लागि सेल अर्डर गर्न आउनेहरू पनि ७ बजेभन्दा अगाडि नै आइसक्छन्।
'तिहारमा भ्याइनभ्याइ हुन्छ। ग्राहकहरूले धेरै अर्डर गर्नुहुन्छ। तर म सक्नेजति मात्र अर्डर लिन्छु,' कमलाले भनिन्, 'अर्डर आयो भन्दैमा भ्याउँदै नभ्याउने गरी त लिनुभएन नि! फेरि सेल पकाउने म एक्लै हो। एक्लैले जति सक्छु, त्यति मात्र गर्छु। सेलको गुणस्तर पनि त कम हुन दिनुभएन!'
सहयोगी मान्छे किन नराख्नुभएको त?
हाम्रो यो प्रश्नमा कमलाले भनिन्, 'मैले व्यवसायका रूपमा काम गरेको होइन। व्यवसायका रूपमा सोचेको भए त मान्छे पनि राख्थेँ होला। कति जना ग्राहक त चिया पनि खोज्नुहुन्छ। कतिपयले अरू रोटीहरू छैन भनेर सोध्नुहुन्छ। तर म जे जानेको छु, त्यही गर्छु।'
कमलाका छोराछोरी सबै पढेलेखेर आ-आफ्नो काम गर्छन्। बेलामौकामा श्रीमान सघाउन आउँछन्। हामीले कमलाका श्रीमानलाई पसलमै भेटेका थियौं। सेलको पिठो बनाउने र ग्राहकहरूलाई दिने काममा सघाउने गरेको उनले बताए।
उनका अनुसार तिहार अवधिमा तीन लाख रूपैयाँभन्दा बढीको सेल बिक्री हुन्छ। अरू बेला पनि नियमित ग्राहक आइरहन्छन्। कतिपयले त विदेशमा आफन्त र साथीभाइलाई कोसेली पठाउन पनि सेल किन्छन्।
'हामीकहाँ सबै किसिमका ग्राहक आउनुहुन्छ। कोही पजेरो चढेर आउनुहुन्छ, कसैले अर्डर गरेर पठाओबाट डेलिभरी लिनुहुन्छ,' उनले भने, 'दस-बाह्र वटादेखि ५०-६० वटा सेल किन्ने ग्राहकसम्म आउँछन्।'
कमला सेल पकाउन मनसुली र ताइचिन चामल प्रयोग गर्छिन्। गुणस्तरमा गुनासो सुन्नु नपरोस् भन्नेमा सधैं चनाखो रहन्छिन्। २०५७ सालदेखि सेल बेच्दै आएकी उनलाई कतिपय स्थानीयले 'सेलरोटी दिदी' भनेर पनि बोलाउँछन्। धेरैले त नामैले चिन्छन्।
'जे गर्दा मान्छेलाई आनन्द हुन्छ, त्यही गर्ने हो,' उनी भन्छिन्, 'मलाई सेल पकाएर खुवाउन आनन्द लाग्छ। त्यसैले सकुञ्जेल यही काम गर्छु।'