द कन्भरसेसन- ३०
सेतोपाटी कन्भरसेसनमा आज हामी लिएर आएका छौं आममान्छेको कथा — आममान्छेको सपना, संघर्ष र सफलताको कथा।
उनी हुन्, रमेश ओली।
रमेश काठमाडौंमा ट्याक्सी चलाउँछन्।
२०६३ सालमा एसएलसी दिएर उनी उच्च शिक्षाका लागि दोलखाबाट काठमाडौं आएका थिए। हातमा जम्मा १० हजार रूपैयाँ थियो। त्यही १० हजारको भरमा उनले दालमोठ-च्यूरा खाँदै काठमाडौंमा संघर्ष गरे।
बाँच्ने संघर्ष क्रममा उनले रत्नराज्य क्याम्पसमा रात्रिकालीन कक्षा पढ्दै असन, कमलाक्षी र पुरानो बसपार्कतिर घडी बेचे। अरू थुप्रै कामहरू पनि गरे।
यसबीच उनलाई एक जना शुभेच्छुकले गाडी चलाउन सिकाइदिए र ट्याक्सी चलाएर गुजारा गर्ने बाटो देखाइदिए।
२०६८ सालबाट रमेशले व्यावसायिक रूपमा ट्याक्सी चलाउन थाले।
जीवनको आरोह-अवरोहमा कलेज छुट्यो, पढाइ छुट्यो; ट्याक्सी भने निरन्तर चलिरह्यो।
आज रमेशसँग चारवटा ट्याक्सी छन्। एउटा उनी आफै चलाउँछन्, बाँकी तीनवटा अरूलाई चलाउन दिएका छन्।
रमेशलाई विदेश जान मन छैन। यो काम छाडेर अरू पेसा-व्यवसायमा लाग्ने मन पनि छैन। पछिल्लो समय विद्युतीय ट्याक्सी चलाइरहेका रमेश आफ्नो काम र कमाइबाट सन्तुष्ट छन्।
उनलाई सबभन्दा ठूलो खुसी ट्याक्सी चालक र यात्रुबीच बढ्दै गएको सुमधुर सम्बन्धले दिएको छ।
केही वर्षअघिसम्म चालक र यात्रुबीच सधैं ठासठुस परिरहन्थ्यो। चालकहरू मिटरमा जान मान्दैनथे। भाडामा कचकच नभई यात्रा सुरू हुँदैनथ्यो। भाडा वृद्धिको माग राख्दै हड्तालमा ओर्लेका बेला ट्याक्सी चालकलाई यात्रुहरू कर्के आँखाले हेर्थे र मुख बिगार्दै भन्थे, ‘ठग्न नपाएर हड्ताल गरेका हुन्।’
ट्याक्सी चालकको मजबुरी भने उनीहरूलाई नै थाहा थियो।
आज पठाओ लगायतका विभिन्न एपले ट्याक्सी यात्रा सहज भएको छ। यात्रुहरूले भाडामा कचकच गर्नुपर्दैन। न यात्रु देखेर चालक ठुँस्स पर्छन्, न चालक देखेर यात्रु रिसाउँछन्। अधिकांश यात्रुले पठाओ लगायतका एप प्रयोग गर्ने गरेको रमेशको भनाइ छ। कोही भने एपमा पहिल्यै भाडा हेरेर त्यसैअनुसार जाऊँ भन्छन्।
'पहिलोपटक यात्रु र ट्याक्सी चालकबीच सुमधुर सम्बन्ध बनेको छ,' रमेशले सेतोपाटीसँगको भिडिओ कुराकानीमा भने, 'यो देख्दा निकै खुसी लाग्छ।'
हामीले आजको सेतोपाटी कन्भरसेसनमा रमेश ओलीसँग उनको काठमाडौं प्रवेशदेखि बाँच्नलाई गरेका संघर्षको कुरा गरेका छौं। उनले एउटा ट्याक्सीबाट चारवटा ट्याक्सी कसरी जोडे, त्यसको कुरा गरेका छौं। उनको व्यावसायिक सफलतासँगै चालक र यात्रुबीचको तीता-मिठा सम्बन्धबारे कुरा गरेका छौं।
हेर्नुहोस्, सेतोपाटी कन्भरसेसनमा ट्याक्सी चालक/व्यवसायी रमेश ओलीसँगको भिडिओ कुराकानी —