६० वर्षीया नारूदेवी ऐरी छोराको खेल हेर्न बुधबार बिहानै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगिन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी आमा हुन्।
जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्समा आवद्ध छन्। उनै दीपेन्द्र सम्मलित सुदूरपश्चिम रोयल्सले बुधबार बिहान जनकपुर बोल्ट्सको सामना गर्दै थियो।
यी दुवै जारी प्रतियोगिताका बलिया टोली हुन्। त्यसैले पनि खेल हेर्न मैदानमा दर्शक उर्लिएका थिए। र, त्यही हजारौंको भीडमा आफ्ना छोरालाई समर्थन गर्न पुगेकी थिइन् नारूदेवी।
खेल सुरू भयो।
टस जितेर जनकपुरले फिल्डिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङका लागि उत्रियो। तर सुदूरपश्चिमले अघिल्ला खेलहरूमा जस्तो राम्रो गर्न सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १ सय २३ रन जोड्यो।
कप्तान दीपेन्द्रसिंह ऐरी पनि शून्यमै आउट भए। अघिल्ला खेलहरूमा उत्कृष्ट इनिङ्स खेलेका दीपेन्द्रले आजको खेलमा खाता समेत खोल्न सकेनन्।
जनकपुरको बलिङसामु धर्मराएको सुदूरपश्चिमको ब्याटिङ दीपेन्द्र आएपछि लयमा फर्किन्छ भन्ने समर्थकहरूले आशा गरेका थिए। त्यसैले दीपेन्द्र ब्याटिङ गर्न क्रिजमा आउँदा समर्थकहरूले 'टाइगर-टाइगर' भन्दै हुटिङ लगाएका थिए।
मैदानमा 'टाइगर-टाइगर' गुन्जिँदा भिआइपी बक्समा रहेकी नारूदेवी भने अलमल्ल परिन्। उनले कसलाई टाइगर भनिएको भन्नेबारे भेउ पाइनन्। सँगै रहेका देवरले 'टाइगर भनेको दीपेन्द्र हो भाउजू' भनेपछि मात्र नारूदेवीको मुहार एकाएक जोसले भरियो।
खेलपछि नारूदेवीले सेतोपाटीसँग भनिन्, 'टाइगर भन्छन्, बाघ भन्छन्, कसलाई भनेको हो मलाई थाहा थिएन। आज बल्ल थाहा भयो छोराको नाम टाइगर रहेछ।'
आफ्नो छोरालाई 'बाघ' भन्छन् भन्ने थाहा पाएपछि नारूदेवी पनि छोराका लागि हुटिङ गर्न थालिन्।
तर दीपेन्द्र ब्याटिङमा सम्हालिन सकेनन्। तीन बल सामना गरेका उनी शून्यमा आउट भए। अघिसम्म टाइगर-टाइगर गुन्जिएको मैदान एकाएक शान्त भयो। नारूदेवी पनि खिस्रिक्क परिन्।
'छोरा आउट भएपछि हार्छ जस्तो लाग्यो, आफू किन आएँ भन्ने भयो। ढुकढुकी बढ्यो,' नारूदेवीले भनिन्, 'तर छेउमा रहेका उसका साथीहरूले हरेस नखानु, त्यसले बलिङ र फिल्डिङ गरिहाल्छ भने। त्यसपछि मन अलिक शान्त भयो।'
नभन्दै सुदूरपश्चिमले उत्कृष्ट कमब्याक गर्दै जनकपुरलाई ५१ रनमै अलआउट गर्यो। नारूदेवीको मुहारमा हराएको खुसी फेरि फर्कियो।
आजकाल नारूदेवीको दैनिकी नै क्रिकेट हेर्ने भएको छ। छोराको खेल भएको बेला त झन् छुटाउँदिनन्। उनी आफै पनि छोराको खेलको फ्यान हुन्।
आफूलाई छोराले छक्का हानेको मनपर्ने उल्लेख गर्दै उनले भनिन्, 'छोराले छक्का हान्दा त आकाशमा जाऊँ कि भुइँमा जाऊँ हुन्छ। अझै हानोस् भन्ने हुन्छ।'
अन्तिममा हामीले नारूदेवीलाई सोध्यौं — एनपिएल कस्ले जितोस् भन्ने लाग्छ?
हाँस्दै उनले जबाफ दिइन्, 'जित्न त आफ्नै छोराले जितेको राम्रो हो, तर अरू पनि छोरै हुन्। अब खेलमा हारजित त भइहाल्छ। जसले जिते पनि ठीकै छ।'