द लिडर
सेतोपाटीले नयाँ युट्युब भिडिओ शृंखला सुरू गरेको छ — द लिडर।
यो शृंखलामा हामी विभिन्न व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानको नेतृत्वमा रहेका व्यक्तिहरूसँग उनीहरूको करिअर, उनीहरूले प्रतिनिधित्व गर्ने क्षेत्र र नेतृत्वमा हुनुपर्ने गुणबारे कुरा गर्ने छौं।
पहिलो शृंखलामा हामी कुरा गर्दैछौं, सबभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा लामो समयदेखि सम्मानित नबिल बैंकका प्रमुख कार्यकारी (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानासँग।
हामीले यो भिडिओ उनको घर र उनको कार्यालयमा सुटिङ गरेका हौं।
कुराकानीको सुरूआत उनको बाल्यकालबाट हुन्छ। ढुंगानाको बाल्यकाल कस्तो थियो? उनको परिवार के गर्थ्यो?
कार्यक्रमको दोस्रो अध्यायमा ढुंगानाले बैंकिङ क्षेत्रमा आफ्नो प्रवेशबारे चर्चा गरेका छन्। उनी खासमा इञ्जिनियर बन्न चाहन्थे। पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भर्ना हुन आवेदन पनि दिएका थिए। तर एकाएक इञ्जिनियरिङबाट व्यवस्थापन (कमर्स) तिर मोडिए। त्यस्तो के भयो जिन्दगीमा, जसले उनलाई आफ्नो सानोदेखिको सपना त्यागेर व्यवस्थापनतिर लाग्न बाध्य पार्यो?
तेस्रो अध्यायमा उनले संकटग्रस्त अवस्थामा पुगेको नेपाल बंगलादेश बैंकमा सिइओ भएर काम गर्दाको अनुभव बाँडेका छन्। उनी सिइओ भएर जाँदा त्यो बैंकको वित्तीय अवस्था कति रूग्ण थियो भनेर उनले चर्चा गरेका छन्।
त्यहाँ सिइओका रूपमा उनले के–के गरे, जसले नेपाल बंगलादेश बैंकलाई संकटबाट बाहिर ल्यायो? डुब्न लागेको बैंकलाई कसरी उनले पार लगाए?
पछि जब नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरू आपसमा गाभ्ने नीति ल्यायो, तब नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा गाभ्न ढुंगानाले महत्त्वपूर्ण भूमिका खेले। त्यो एकीकरणमा ढुंगानाको भूमिका के थियो? एकीकरणपछि उनी कसरी नबिल बैंकमा पनि सिइओ भएर आए? ढुंगानाले यसबारे पनि विस्तृत चर्चा गरेका छन्।
हामीले ढुंगानालाई सोधेका थियौं — कुनै पनि बैंकको सिइओ हुनु भनेको के हो? सिइओको जिम्मेवारी के हो?
हामीले उनलाई यो पनि सोध्यौं —
बैंकको सिइओका रूपमा तपाईंले गरेका राम्रा निर्णयहरू के हुन्?
सिइओका रूपमा तपाईंले गरेका गल्तीहरू के हुन्?
सिइओको जिम्मेवारीले दिने तनावले राति निद्रा पर्छ कि पर्दैन?
यो भिडिओ शृंखलामा हामीले बैंकिङ क्षेत्रको वर्तमान समस्या, सिइओको दुई कार्यकालसम्बन्धी नियम र उनको भावी योजनाबारे पनि कुरा गरेका छौं।
कुनै पनि संस्थाको नेतृत्व गर्ने 'लिडर' मा के-कस्ता गुण हुनुपर्छ भनेर पनि उनले व्याख्या गरेका छन्।
र, अहिले व्यवस्थापन पढिरहेका र भविष्यमा बैंकिङ क्षेत्रमा आउने चाहने नयाँ पुस्तालाई केही सुझाव पनि दिएका छन्।
हेर्नुहोस्, नबिल बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानासँगको कुराकानी सेतोपाटीको भिडिओ कार्यक्रम ‘द लिडर’ मा —