सेतोपाटी अडिओ कथा शृंखला
सेतोपाटी कथा शृंखलामा तपाईंलाई स्वागत छ।
आज हामी सुनाउँदै छौं, चितवन राष्ट्रिय निकुञ्जमा चार जना साथीहरू र एउटा बाघबीच भएको घम्साघम्सीको घटना।
यो घटना हाम्रा संवाददाता राजेश घिमिरेले लेखेका हुन्।
चितवन जंगलमा पिकनिक मनाउन गएका चार जना साथीहरू र बाघको जम्काभेट हुन्छ। बाघले चारै जनालाई हमला गर्छ। एक जनाले हेर्दाहेर्दै उसको आँखै अगाडि बाघले तीन जनाको ज्यान लिन्छ। ती एक जना चाहिँ रूख चढेर ज्यान जोगाउन सफल हुन्छन्। त्यो रूखलाई अंगालो हालेर धन्यवाद भन्ने उनको धोको छ।
यो घटना चितवनको माडी नगरपालिकामा भएको हो। माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। माडीको वडा नम्बर ९ मा एउटा गाउँ छ, गणेशकुञ्ज। गणेशकुञ्ज गाउँ जंगलसँग जोडिएको छ। यो कथा त्यही गणेशकुञ्ज गाउँका माधव अधिकारी र उनका जेठान राजेन्द्र न्यौपानेको हो।