भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति भएको दुई वर्ष पूरा हुँदैछ।
मोन्टीको नेतृत्वमा नेपालले एकदिवसीय मान्यता जोगायो। आइसिसी विश्वकप लिग-टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।
लिग-टुमा उत्कृष्ट खेलपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो। नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बन्यो। प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भयो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।
गत वर्ष नेपालले मोन्टीकै नेतृत्वमा अर्को उपलब्धि हासिल गर्यो। छनोट पार गर्दै नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्यो। घरेलु मैदानमा भएको छनोट पार्दै नेपाल सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो।
गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकपमा नेपालले अद्भूत खेल देखायो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई समूहमा चरणमा कडा टक्कर दिएको थियो। तर दुवै खेलमा अन्तिममा चुक्दा नेपाल जित निकाल्न असफल भयो।
मोन्टीको नेतृत्वमा नेपालले पछिल्ला प्रतियोगितामा भने खराब प्रदर्शन गरिरहेको छ। सन् २०२४ मा खेलिएका लिग-टुका १२ एकदिवसीय खेलमध्ये नेपाल २ खेलमा मात्र विजयी भएको छ। आठ खेलमा नेपालले पराजय भोग्दा २ खेल वर्षाले रद्द भए। लिग-टुको यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। त्यसैले लिग-टु मा नेपाललाई चुनौती थपिएको छ।
टी-२० फर्म्याटमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन। सन् २०२४ को एसिसी प्रिमियर कपमा नेपालले खराब प्रदर्शन गर्यो। सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा पुग्न सकेन। यति मात्र होइन तेस्रो स्थानको खेलमा हङकङसँग हार्दा नेपालले इमर्जिङ एसिया कप समेत गुमायो।
यस्तोमा नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको विकल्प खोज्ने संकेत दिएको छ। उनको सम्झौता आगामी फेब्रुअरीसम्म छ। फेब्रुअरीअघि उनको कार्यकालको विषयमा क्यान बोर्डले निर्णय गर्नेछ।
क्यानका प्रवक्ता छुम्बी लामा मोन्टीको विषयमा क्यानको बोर्ड बैठक समिक्षा भइसकेको बताउँछन्। नेपाली टोली टी-२० विश्वकप खेलेर फर्किएपछि बसेको बोर्ड बैठकमा प्रशिक्षक देसाईको विषयमा छलफल भएको थियो। त्यतिबेला कतिपय अफिसियलले मोन्टीको विकल्प खोज्नु पर्ने धारणा राखेका थिए।
त्यसपछि पनि देसाई र क्यानका पदाधिकारीबीच निरन्तर छलफल भइरहेको छ। देसाईको योगदानको कदर गर्दै नयाँ ढंगबाट अघि बढ्ने क्यान पदाधिकारीले बताउँदै आएका छन्।
अब उनको विषयमा आगामी बोर्ड बैठकमा थप छलफल हुने छ। उनको विषयमा यसअघि पनि समिक्षा भएको र कार्यकाल पनि दुई वर्षभन्दा बढि नहुने क्यानको बुझाइ छ।
नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन नयाँ सोचको नयाँ प्रशिक्षक ल्याउने क्यानको तयारी छ।
प्रशिक्षक देसाईको पहिलो वर्षको तलब १२ हजार अमेरिकी डलर थियो। त्यसपछि तलब बढाएर १५ हजार अमेरिकी डलर अर्थात् २० लाख ६० हजार रूपैयाँ पुर्याइयो।
दुई वर्षअघि प्रशिक्षक नियुक्ति हुँदा उनलाई पाँच जनाको सर्टलिस्टबाट छानिएको थियो। त्यस लगत्तै उनको नेतृत्वमा नेपालले १२ मध्ये ११ वटा खेल जितेर एकदिवसीय मान्यता जोगाएको थियो।
मोन्टी देसाई सन् २०१७ मा पनि नेपाली क्रिकेट जोडिएका थिए। त्यतिबेला देसाई नेपालको यू-१९ टोलीको ब्याटिङ सल्लाहकार थिए। जसका कारण उनी पाँच वर्षपछि नेपालको मुख्य प्रशिक्षक बन्न इच्छुक थिए।
नेपालको मुख्य प्रशिक्षक बन्नुअघि देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिजसँगको तीन वर्षको सम्झौता सकिएपछि उनी नेपाल आएका थिए।
देसाइले वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्स, राजस्थान रोयल्स, पन्जाब किंग्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए।
नेपालको प्रशिक्षकमा उनको कार्यकालको म्याद थप नभएको अवस्थामा उनले सन् २०२५ को आइपिएलमा कुनै टोली हेर्ने यसअघि नै चर्चा भएको थियो। हुन त सन् २०२३ मा प्रशिक्षक बन्नुअघि पनि देसाईलाई क्यानले प्रशिक्षकको प्रस्ताव गरेको थियो। त्यतिबेला पनि उनले आइपिएलको बेला छुट्टी चाहिने शर्त राखेका थिए। जुन प्रस्तावमा क्यान सहमत भएको थिएन।
देसाई र भारतका पूर्वप्रशिक्षक राहुल द्रविडबीच राम्रो सम्बन्ध छ। द्रविडले गत जुनमा भएको टी-२० विश्वकप जिताएपछि भारतका मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए। अब उनी २०२५ को आइपिएलमा मुख्य प्रशिक्षकको रूपमा राजस्थान रोयल्समा फर्कदैछन्। देसाईले पनि यसअघि राजस्थानमा रहेर काम गरिसकेका छन्। त्यसैले देसाईले नेपाल छाडेमा द्रविडसँगै काम गर्ने अनुमान छ।