पहिलोपटक कक्षा ३ मा पढ्दा गुरूको जोडबलमा स्टेज चढेका सुशान्त घिमिरेले सायदै कल्पना गरेका थिए- कुनै दिन संगीत क्षेत्रमा लाग्नेछु र त्यसैमा भविष्य बनाउने छु भनेर।
आत्तिँदै, डराउँदै र हड्बढाउँदै त्यसबेला स्टेज चढेर राजु लामाको 'तिमीलाई देखेर हिमाल हाँसेको' गीत गाएको हिजोझैं लाग्छ उनलाई।
'पहिलोपटक अभिभावक दिवसको दिनमा गुरूले तिमीले गाउनुपर्छ भन्दै हौस्याएर स्टेजमा चढाई गीत गाउन लगाउनुभएको थियो,' उनले स्मरण गर्दै भने, 'त्यति बेला मलाई मनपर्ने गायकको गीत नजानी-नजानी दुईपटक गाएको थिएँ।'
बिगारी, त्यो पनि दोहोर्याएर गाउँदा समेत सबैले साथ दिए। उनी हौसिए।
स्कुलमा गाएको देखेपछि घरमा पनि सबैले सुशान्तले गीत गाउँछ भन्ने थाहा पाए। घर नजिकै हरेक सोमबार भजनकीर्तन हुने हुँदा उनलाई घरका सदस्यहरूले सँगै लिएर जान थाले। सुशान्तले हरेक हप्ता मन्दिरमा भजनकीर्तन गाउन थाले। राम्रो गाएको देखेपछि देउसीभैलोमा पनि साथीभाइले सुशान्तलाई लिएर हिँड्न थाले।
सुनसरी चतरामा २९ वर्षीय सुशान्तको जन्म विराटनगरस्थित मामाघरमा भएको थियो। घरपरिवार सबैजना चतरामै बसेता पनि उनको अधिकांश बाल्यकाल मामाघरमै बित्यो।
अंग्रेजी माध्यममा पढाउन र मामाघरका आमाबा एक्लै हुने भएपछि साथी बस्न तीन कक्षादेखि बाआमाले विराटनगर पठाएको उनी सम्झन्छन्।
'सानोमा म अलि फटाहा र गफाडी थिएँ,' उनले बाल्यकालको एउटा घटना सम्झिएर हाँस्दै भने, 'एकचोटि सलमान खानको एउटा फिल्म आएको थियो। फिल्ममा हिरोले भिलेनलाई मार्दै नमारेर नराम्रो अन्त्य भएपछि मैले आफैले कथा सृजना गरेर भिलेन मरेको कुरा सुनाएको थिएँ। किनकि ती साथीहरूले त्यो फिल्म नै हेरेका थिएनन्। अहिले पनि साथी भेट हुँदा यो कुरा हुन्छ।'
२०६४/६५ सालतिर मामाघरका आमाबाहरू काठमाडौं नै बस्ने कुरा भयो। त्यसपछि सुशान्त पनि आमाबासँगै कक्षा ८ पढ्न काठमाडौंमै भर्ना भए।
काठमाडौंको नयाँ वातावरणमा घुलमिल हुन समय लागिरहेको बेला उनी विराटनगरका साथीभाइ सम्झन्थे। तर समय क्रमसँगै घुलमिल हुँदै गए। एसएलसी दिए। पढाइमा राम्रो हुँदा साइन्स लिएरै पढ्नुपर्छ भन्ने बुझाइ हुँदा त्यसै गरेको सुशान्त सम्झन्छन्।
घरमा बुबा निर्माणसम्बन्धी काम र मामा आर्किटेक्ट इञ्जिनियर थिए। त्यसैले उनलाई सानैदेखि इञ्जिनियरिङ नै पढ्नुपर्छ भन्ने लाग्यो। किनकि टि-स्केल बोकेर कलेज जानेहरू 'कुल' हुन्छन् भन्ने धारणा उनको थियो।
'खासमा त मलाई भारत गएर पढ्न मन थियो तर मिलेन,' उनले भने, 'त्यसैले २०७१ सालमा यतै इञ्जिनियरिङ जोइन गरेँ तर यताको माहोल अलि मिले जस्तो लागेन। प्लस टुका पुराना साथीहरूसँग भेटघाट हुँदा इञ्जिनियरिङका साथीभाइसँग अलग भएँ।'
इञ्जिनियरिङमा पहिलो सेमेस्टरको परीक्षा सुरू भयो। सुशान्तले खुबै मन लगाएर परीक्षा दिए। तर केही विषयमा ब्याक लागेपछि उनी हतोत्साही भए।
ब्याक लागेपछि साथीहरूसँग पहिलेदेखि नै सांगीतिक माहोलमा घुलमिल हुँदा उनलाई धेरै त्यतातिर रूचि लाग्न थाल्यो।
'ब्याक लागेपछि मलाई साथीभाइ भेटेर गीत गाएर बस्ने माहोल हुन थाल्यो,' उनले भने, 'त्यसपछि कलेज नगए ज्याम (साथीभाइ भेटघाट गरी कुरा गर्नु) हुन थाल्यो र गितार सिकेँ र मलाई इञ्जिनियरिङ होइन भन्ने भान हुँदा संगीततिरै लाग्न थालेँ।'
त्यसबीच उनले ठमेलका होटल तथा रेष्टुराँमा घरबाट लुकीलुकी गीतहरू गाउन थाले। सोही बीचमा आफ्नै गीत 'अजम्बरी माया' र 'जिन्दगी सरर' निकाले।
यी दुई गीतले उनलाई दर्शक स्रोतामाझ पुर्यायो। यसो त उनी 'जिन्दगी सरर' गीतले आफूलाई धेरै दर्शक-स्रोतामाझ चिनाएको बताउँछन्।
अब जिन्दगी सररर मोटर गाडीमा
जिन्दगी सररर मोटर गाडीमा
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
सबै उमेरका मानिसले यो गीत गाउँदै हिँडेको देख्दा छुट्टै ऊर्जा प्रदान गरेको उनी बताउँछन्।
'म त्यहीँ हुन्थेँ, कसैले पनि चिन्नु हुन्नथ्यो,' उनले भने, 'त्यही पनि सबै उमेरका मानिसले मेरो गीत गुनगुनाउँदै हिँड्दा छुट्टै ऊर्जा प्रदान गर्थ्यो।'
गीत हिट भएपछि उनमा साहस आयो र घरमा इञ्जिनियरिङ ड्रप-आउट गरेर संगीतमै लाग्ने योजना सुनाएँ। परिवारमा सबैले सहजै स्वीकारे पनि। त्यसपछि सुशान्तको मनै फुरूङ्ग भयो, वर्षौदेखिको गाँठो फुकाएर हिँड्न थाले।
अहिले उनी काठमाडौं विश्वविद्यालयमा संगीतमै स्नातक गरिरहेका छन्।
छाया सेन्टरको एक कार्यक्रममा एक्लै प्रस्तुति दिँदा उनलाई ठूलो स्टेजमा एक्लै प्रस्तुति दिन रमाइलो नहुने रहेछ भन्ने अनुभूति भयो। र, स्टेजमा प्रस्तुति दिने हो भने ब्यान्ड बनाउनुपर्छ भन्ने महसुस भएपछि 'सुशान्त र राग' नामको ब्याण्ड खोले।
'सन् २०२४ मा कन्सर्टमा व्यस्त हुँदा दुइटा मात्र गीत निकालेको हुँदा यस वर्ष नयाँ गीतहरू निकाल्ने योजना छ,' उनले भने, 'त्यसैले यो वर्ष नयाँ शैलीका नयाँ गीतहरू पस्कने योजना छ।'