काठमाडौंको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मका घरलाई सेतो रङ लगाइएको छ। भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइएको छ।
वडा कार्यालयको पहलमा सम्बन्धित घरधनीहरूले आफ्नै खर्चमा सेतो रङ लगाएका हुन्। विशाल बजार पनि रङ लगाएर सेताम्मे पारिएको छ।
यहाँ केही समययता फुटपाथ फराकिलो पार्नुका साथै बिजुलीका तारहरू पनि हटाइएका छन्।
राणा प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालको भुइँचालोपछि यो सडक बनाएका हुन्। त्यसैले यसलाई जुद्ध सडक पनि भनिन्छ। उनले त्यति बेलै सडक आसपासका घरमा सेतो रङ लगाएका थिए। अहिले वडा कार्यालयले त्यसैको झलक दिन खोजेको हो।
'जुद्ध शमशेरका पालामा बनेका घरका भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइन्थ्यो, हामीले त्यसैको झलक दिन खोजेका हौं,' काठमाडौंको वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले भने।
यहाँका सबै घरमा रङ लगाउन करिब ३० देखि ४० लाख रूपैयाँ लाग्ने अनुमान छ। घरमा लगाइएको रङको शुल्क घरधनीहरूले नै बेहोरेका छन्।