एमाले नेता गोकुल बाँस्कोटाले तरकारीको पकेट क्षेत्र काभ्रेमा प्रतिकिलो ३ रूपैयाँ दरले काउली बेच्नुपर्दा किसानलाई मर्का परेको बताएका छन्।
मंगलबार संसद बैठकमा बोल्दै बाँस्कोटाले लागतभन्दा सस्तोमा बेच्नुपर्ने यो अवस्था अन्त्य गर्न सरकारले किसानसँग मिलेर पाँचवटा ठूला कोल्ड स्टोरेज बनाउन माग गरे।
उनका अनुसार काठमाडौंलाई चाहिने तरकारी आपूर्तिमा काभ्रेले १७ प्रतिशत हिस्सा ओगट्छ। काभ्रेका बनेपा, पनौती, पाँचखाल, मन्डन र बेथानचोक तरकारीको पकेट क्षेत्र भएको उनले जानकारी दिए।
बाँस्कोटाले धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो अहिलेसम्म नबनेकोमा सरकारको ध्यानाकर्षण पनि गरे।
'भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने म माग गर्छु,' उनले भने, 'मलाई त्यहाँका जनताले यही कुरा भन्दिनू भनेका छन्। नभए ढुंगा खानुपर्ने स्थिति बनिसकेको छ।'