राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद असिम शाहले मंगलबार संसद बैठकमा प्रधानमन्त्री केपी ओलीलाई एउटा गीत सुनाए।
उनले सुनाएको गीत भोला रिजालको रचनामा गायक स्वरूपराज आचार्यले गाएका हुन् —
मेरो देश डुब्न लाग्यो, किनार लगाइदेऊ
सपुत छौ कि कोही माझी बचाइदेऊ
यो गीत सुनाउँदै सांसद शाहले भने, 'अहिले नेपाली जनताले यो गीत गाइरहेका छन् तर सरकार सुन्न चाहँदैन। प्रधानमन्त्री रोस्ट्रममा आएर ढलेँ ढलेँ भन्ने गीत सुनाएर जानुहुन्छ। आजकाल उहाँ टिकटकरहरूसँग अलि व्यस्त हुनुहुन्छ। यही व्यस्तताका कारण उहाँले एउटा काम बिर्सनुभएको छ। म उहाँलाई त्यो काम सम्झाउन चाहन्छु।'
उनले अगाडि भने, 'नयाँ सरकार बनेको महिनौं भइसक्यो तर मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू मौन छन्। सरकारले माननीय मन्त्रीज्यूहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने सोच राखेको छ? मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खुल्ने आशा गर्नु बेकार हो।'
'सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरून्त सार्वजनिक गरोस्, भ्रष्टाचारीहरूलाई कानुनी कठघरामा उभ्याइयोस्। हिम्मत देखाएर सरकारले सानो-ठूलो सबै काण्ड छानबिन गर्ने स्वतन्त्र र शक्तिशाली आयोग गठन गरोस्,' उनले भने।