द कन्भरसेसन- ३७
विजय बराल र आशा मगराती दुवै रंगमञ्चबाट सिनेमामा आएका कलाकार हुन्। विजयले आफ्नो पछिल्लो फिल्म 'पूर्णबहादुरको सारंगी' बाट धूम मच्चाए। उनका केही फिल्म रिलिजको क्रममा छन्। त्यसको सूची हेर्दा कम्तिमा अबको छ महिना विजय नेपाली सिनेमामा छाउने अवस्था छ।
आशा मगरातीले पनि चौकठ, हाइवे, सेतो सूर्य जस्ता गम्भीर फिल्ममा उम्दा अभिनय गरेकी छन्। उनी थोरै फिल्म खेले पनि राम्रो अभिनय गर्ने अभिनेत्रीका रूपमा चिनिन्छिन्।
यी दुवै कलाकार चैत १ बाट प्रदर्शन हुन लागेको 'राजागन्ज' मा सँगसँगै देखिँदै छन्। यो अन्तर्राष्ट्रिय ख्याति कमाएका निर्देशक दिपक रौनियारको तेस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेको 'हाइवे' र 'सेतो सूर्य' ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। राजागन्जले पनि भेनिस, बुसान लगायतका अन्तर्राष्ट्रिय महोत्सवमा चर्चा बटुलिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा यो फिल्म 'पूजा, सर' नामले प्रदर्शन गरिएको थियो।
राजागन्ज मधेस आन्दोलनको पृष्ठभूमिमा बनेको छ। साहसी महिलाहरूको कथा भन्ने यो फिल्ममा केन्द्रीय भूमिकामा महिलाहरू नै छन्। फिल्ममा मधेसको एक सीमावर्ति सहरबाट दुई जना बालकको अपहरण हुन्छ र त्यसमा अनुसन्धान गर्न काठमाडौंबाट प्रहरी खटाइन्छ। फिल्मको मूलपात्र पूजा (आशा मगराती) तिनै काठमाडौंबाट खटिएकी प्रहरी अधिकृत हुन्।
सेतोपाटी कन्भरसेसनको आजको अंकमा आशा र विजयले जनकपुरमा राजागन्ज सुटिङ गर्दाको अनुभवदेखि फिल्मले झल्काउने विषयवस्तुबारे कुराकानी गरेका छन्।
यो फिल्म निर्माणकै क्रममा आशालाई क्यान्सर भएको थियो। क्यान्सरकै कारण फिल्मको सुटिङ केही समय ढिला भयो। कन्भरसेसनमा उनले क्यान्सर पहिचान भएको क्षणदेखि त्यसको उपचार प्रक्रिया र क्यान्सरलाई जितेर फेरि क्यामरासामु उभिँदासम्मको उतारचढाव वर्णन गरेकी छन्।
दिपक र आशा श्रीमान-श्रीमती पनि हुन्। उनीहरू अमेरिकामा बस्छन्। विजयसँगको कुराकानीमा उनले अमेरिका बसाइको अनुभव पनि बाँडेकी छन्।
त्यस्तै, नेपाली सिनेमाको वर्तमान अवस्था र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म कसरी पुर्याउने भनेर पनि उनीहरूले छलफल गरेका छन्।
हेर्नुहोस्, आशा मगराती र विजय बरालको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा—