द कन्भरसेसन– ४६
एक समय चकलेटी अभिनेताका रूपमा ख्याति कमाएका आर्यन सिग्देल अहिले गम्भीर र फरक खालका पात्रतर्फ मोडिएका छन्।
खगेन्द्र लामिछाने राम्रा लेखकसँगै राम्रा अभिनेता पनि हुन्।
अञ्जना बराइलीको कुरा गर्दा उनी अहिलेकी रोजाइकी अभिनेत्री हुन्।
त्यस्तै, मलिका महत म्युजिक भिडिओबाट लोभलाग्दो माया पाएपछि लगातार फिल्ममा काम गरिरहेकी छन्।
नेपाली सिने क्षेत्रमा आ–आफ्नो ढंगले परिचय बनाएका यी चार जना कलाकार अहिले एउटै फिल्ममा देखिँदै छन् – महाभोज।
दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म यही बिहीबार जेठ १५ देखि प्रदर्शनमा आउँदैछ। पछिल्लो समय नेपालको राजनीतिलाई समेत तरंगित बनाएको सहकारी ठगी घटनामा आधारित यो फिल्मलाई यथार्थपूर्ण विषयवस्तुका कारण धेरैले चासोका साथ हेरेका छन्।
सेतोपाटी कन्भरसेसनको यो अंकमा यही फिल्म ‘महाभोज’ का कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतले कुराकानी गरेका छन्। फिल्ममा खगेन्द्र र अञ्जनाले श्रीमान–श्रीमतीको भूमिका गरेका छन्। आर्यन गाउँपालिका अध्यक्ष छन् भने मलिका सहकारी संस्थाको निम्ति बचत संकलन गर्दै हिँड्ने कर्मचारीको भूमिकामा छिन्।
उनीहरूले यो कुराकानीमा सहकारी ठगीका प्रसंग उठाएका छन्। महाभोजमै अभिनय गरेकी एक वरिष्ठ कलाकार सहकारी संस्थाबाट ठगिनुपरेको चर्चा उनीहरूले गरेका छन्।
यसबाहेक सुटिङदेखि पात्रको तयारी, फिल्म गर्दा ध्यान दिनुपर्ने कुरा, छायांकन स्थलमा हुनुपर्ने वातावरणबारे आ–आफ्नो बुझाइ पनि बाँडेका छन्।
एउटा कलाकारको सफलतामा अर्को कलाकार कत्तिको खुसी हुन्छ? यसबारे आर्यन र खगेन्द्रले एउटा रोचक किस्सा सुनाएका छन्।
करिअर उचाइमा पुगेर फेरि सुस्ताउँदाको क्षणलाई कसरी लिने? यसबारे एकपछि अर्को हिट फिल्म दिएका आर्यनले आफ्नो धारणा राखेका छन्।
हेर्नुहोस् आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतबीचको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा—