द कन्भरसेसन– ४७
कुनै पनि जात्रा सानो दु:खले मनाइँदैन। विधिपूर्वक जात्रा सम्पन्न गर्न सुरूआतदेखि अन्त्यसम्म समुदायको समर्पण, आस्था र अथक मिहिनेत परेको हुन्छ।
झन् महिना दिनभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्य:को रथयात्रामा पाटन मात्र होइन, काठमाडौं उपत्यकाभरिकै विभिन्न नेवा: गुठी प्रत्यक्ष संलग्न हुन्छन्।
यो जात्रामा राज्यको भूमिका भनेको अन्तिम दिन भोटो प्रदर्शन गर्ने र अरू बेला सहजीकरणको काम मात्र हो। त्यसबाहेक काठ खोज्नेदेखि रथ बनाउने, फूल-प्रसादको चाँजो मिलाउनेदेखि पूजाआजा र रथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न ठाउँ घुमाउँदै जावलाखेल लग्नेदेखि भोटो प्रदर्शनपछि बुंगद्य:लाई खटमा राखेर बुंगमती पुर्याउने काम समुदायबाटै हुन्छ।
यो जात्रा मनाउन समुदायको कति ठूलो परिश्रम परेको हुन्छ भन्ने हामीले बाहिरबाट हेर्दा नै सहजै अनुमान गर्न सक्छौं। आजको समय त यति गाह्रो छ भने आजभन्दा १४ सय वर्षअघि जब बुंगद्य:को रथयात्रा सुरू भयो, त्यति बेलाको सीमित स्रोतसाधनमा यति भव्य रथयात्रा गर्नु कति चुनौतीपूर्ण थियो होला?
यति ठूलो समर्पण र परिश्रम चाहिने रथयात्रा आयोजनाका पछाडि समुदायको के उद्देश्य रह्यो होला?
कुरा समुदायको मात्र होइन, सिंगो काठमाडौं उपत्यकालाई विभिन्न रूपमा जोडेको यो जात्रा आयोजनाका पछाडि तत्कालीन शासनसत्ताको के राजनीतिक प्रयोजन थियो होला?
बुंगद्य: जात्रासँग जोडिएका धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक पक्षको त हामी सधैं कुरा गर्छौं। यस पछाडिका कथा-किम्बदन्ती पनि सुन्दै आएका छौं। तर आज हामी रातो मच्छिन्द्रनाथ लगायत काठमाडौं उपत्यकामा नेवा: समुदायले वर्षैभरि मनाइरहने जात्राहरूसँग जोडिएको राजनीतिक कारणबारे चर्चा गर्दैछौं।
यस निम्ति सेतोपाटी कन्भरसेसनको आजको शृंखलामा पोर्चुगलको दी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसा महर्जनसँग हामीले कुरा गरेका छौं।
उनले काठमाडौं उपत्यकामा मनाइने जात्राहरूको सांस्कृतिक र सामाजिक पक्षसँगै यस्ता जात्रा गरिनुमा राजनीतिक कारण के थियो होला भनेर विस्तार लगाएकी छन्।
काठमाडौं उपत्यकाभित्र मनाइने येँया पुन्ही (इन्द्रजात्रा) र बुंगद्य: (रातो मच्छिन्द्रनाथ) जात्रामाथि गहिरो शोध गरेकी मोनालिसाले नेपालका मूर्त/अमूर्त सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्न पनि काम गरिरहेकी छन्।
यति मात्र होइन, दक्षिण कोरियाले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष 'झान्जु अन्तर्राष्ट्रिय अवार्ड' दिन्छ। झान्जु नगरले दिने दस हजार अमेरिकी डलर पुरस्कारसहितको यो अवार्ड २०७८ सालमा नेपालले पाएको थियो। रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा बाराही गुठीका नाइके दिलकुमार बाराहीलाई पुरस्कृत गरिएको थियो।
यो अवार्ड नेपालले पाउनुमा मोनालिसाको ठूलो हात छ। उनले नै दिलकुमार बाराहीको नाम र उनको शिल्पलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराएकी हुन्। यस निम्ति बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै काम मोनालिसाले नै गरेकी थिइन्।
काठमाडौं उपत्यकामा हुँदै आएको सम्पदा विनाशविरूद्ध लगातार आवाज उठाउँदै आएकी मोनालिसासँग हामीले अध्येता र अभियन्ताका रूपमा उनको अनुभवबारे कुरा गरेका छौं।
उनले आफ्नो अध्ययन क्रममा विभिन्न युरोपेली मुलुकको सम्पदा संरक्षणलाई नजिकबाट हेरेकी छन्। युरोपको त्यही अनुभवका आधारमा उनी नेपाल र खासगरी काठमाडौं उपत्यकाको सम्पदा संरक्षणलाई कसरी हेर्छिन्, के–कस्ता कमी–कमजोरी देख्छिन्, त्यसबारे पनि उनले चर्चा गरेकी छन्।
काठमाडौं उपत्यकाका येँया पुन्ही, बुंगद्य: जात्रा, बिस्का: जात्रा लगायत सांस्कृतिक उत्सवलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिन्छ कि सकिँदैन? गर्न सकिन्छ भने त्यसबाट समुदायले के पाउला? हामीले यस विषयमा पनि मोनालिसासँग कुरा गरेका छौं।
रथ निर्माण विधिले काठमाडौं उपत्यकाको भुइँचालो जोखिम र भुइँचालो प्रतिरोधक घर निर्माण विधि उजागर गर्छ भनेर धेरैले भन्दै आएका छन्। यसबारे अध्येता मोनालिसाको भनाइ के छ?
रातो मच्छिन्द्रनाथ जात्रामा काठमाडौं उपत्यकाभित्र पाइने थरी थरीका वनस्पति प्रयोग हुन्छन्। रथमै चार किसिमका वनस्पति प्रयोग गरिन्छ। पाङ्ग्रामा नँसिँ (सानदान जातको काठ) प्रयोग हुन्छ भने घ: मा नागब्वसिँ (सौर), खटमा तूसिँ (लाकुरे जातको काठ) र रथमा स्वसिँ (फलास) हालिन्छ। रथ बनाइसकेपछि ल: स्वाँ (पानी फूल) चढाउने गरिन्छ। यसले रथ हरियो भई मनमोहक देखिन्छ। यो फूल चोभारको जलविनायकबाट ल्याउने चलन थियो।
विविध वनस्पतिको प्रयोगबाट यो जात्राले काठमाडौं उपत्यकाको जैविक विविधता झल्काउँछ भन्ने मान्यता छ। यसबारे मोनालिसा के भन्छिन्?
त्यस्तै, यो जात्रा बाहिरबाट हेर्दा पुरूष–केन्द्रित छ, महिलाहरूको भूमिका प्रस्ट देखिँदैन। तर यति भव्य रूपमा जात्रा सम्पन्न हुनुका पछाडि पाइला पाइलामा महिलाहरूको महत्त्वपूर्ण भूमिका छ। हामीले मोनालिसालाई जात्रामा महिलाहरूले निर्वाह गर्ने भूमिकाबारे पनि सोधेका छौं।
हेर्नुहोस्, जात्रापर्व र सम्पदा संरक्षणका विभिन्न विषयमा अध्येता मोनालिसा महर्जनसँगको भिडिओ कुराकानी –