तपाईंको साथी सरिशा
२७ वर्षीय युबी मगर हिजोआज आफूलाई जस्तो मन लाग्छ, त्यस्तै रूपमा हिँडडुल गर्छन्। अरूले के भन्लान् भनेर पिर मान्दैनन्।
कुनै समय यस्तो थियो, उनको लवाइ र हाउभाउ देखेर मान्छेहरू कुरा काट्थे। उनले या त तर्किएर हिँड्नुपर्थ्यो या चित्त दुखाएर बस्नुपर्थ्यो।
युबीले भने तेस्रो बाटो रोजे — उनले आफ्नो पहिचान नै सबैका अगाडि खुलस्त पारिदिए।
सुनसरीको धरान उपमहानगरपालिका–४ मा जन्मिएका युबी सानैदेखि नाच्न मन पराउँथे। स्कुलमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रम उनले छुटाएनन्।
सानो उमेरमा उनको लवाइ र हाउभाउसँग कसैलाई समस्या थिएन। न कसैले कुरा काट्थ्यो, न जिस्क्याउँथ्यो। जसै उनी किशोरावस्थामा पुगे, माहोल फेरिँदै गयो। उनी नाचेको देखेर मान्छे हाँस्न थाले, गिज्याउन थाले। सबैले भने — युबी त केटीजस्तै नाच्छ!
'हिँजडा, छक्का के के भन्थे के के। साह्रै मन दुख्थ्यो,' युबीले भने, 'म त आफू जस्तो थिएँ, त्यस्तै देखाउँथेँ। मेरो मन भित्र र बाहिर उस्तै थियो। मलाई लुकाउनुपर्ने केही थिएन। मान्छेले किन त्यस्तो भनेका होलान् भनेर अचम्म लाग्थ्यो।'
सबैको हाँसोको पात्र बन्नुपरे पनि युबीले नाच्न छाडेनन्। साथीभाइका तिखा शब्द सहँदै आफ्नो प्रतिभालाई निरन्तरता दिइरहे।
त्यसबीच एउटा प्रश्न उनको मनमा खेलिरहन्थ्यो — म सबैको निम्ति हाँसोको पात्र किन छु?
उमेर जति बढ्दै गयो, यो प्रश्नले उति बढी घोच्न थाल्यो।
पाँच वर्षअघि युबीको जिन्दगीमा यस्तो मोड आयो, जसले उनलाई पहिलो पटक आफ्नो परिचयसँग साक्षात्कार गरायो। उनले आफ्नो यौनिक पहिचान के हो भनेर चिन्ने मौका पाए। जुन प्रश्नले लामो समयदेखि खाइरहेको थियो, त्यसको उत्तर थाहा पाए।
भयो के भने, सामाजिक सञ्जालमा उनी नाचेको भिडिओ देखेर काठमाडौंको एक दम्पतीले निम्तो गर्यो। काठमाडौं आउने खर्च पनि पठाइदियो।
आफ्नो नाच देखाएर पैसा पाउने भएपछि युबी खुसी खुसी आए।
तर यहाँ उनले सोचेजस्तो भएन।
जसको भरमा उनी काठमाडौं आएका थिए, तिनले राम्रो व्यवहार गरेनन्।
आखिर एकदिन उनले मन दह्रो पारे र त्यो दम्पतीको घर छाडेर आफ्नै खुट्टामा उभिने संघर्षमा लागे। त्यस क्रममा काठमाडौंका विभिन्न डान्स बारमा काम गरेको उनी सम्झन्छन्।
'संघर्षका ती दिनमा मैले आफैलाई चिन्ने मौका पाएँ,' उनले भने, 'मैले आफूजस्तै मान्छेहरू भेटेँ। उनीहरूबाटै मैले म को हुँ भन्ने थाहा पाएँ। जुन प्रश्नले मेरो मन खाइरहेको थियो, त्यसको उत्तर पाएँ। मेरो मनको कौतुहल मेटियो।'
तर सानैदेखि जुन परिचयका साथ हुर्किएका थिए; आफू त्यो होइन, अर्कै हुँ भन्ने स्वीकार गर्नु युबीको निम्ति सहज थिएन।
मनको उकुसमुकुस मेट्दै बिस्तारै उनले नयाँ परिचय स्विकार्दै गए। अहिले त सञ्चार माध्यमहरूमा निर्धक्क भन्न थालेका छन्, 'म गे (समलिंगी पुरूष) हुँ।'
युबीले आफ्नो लैंगिक पहिचान आमाबुबालाई भने प्रत्यक्ष रूपमा सुनाएका छैनन्। सञ्चार माध्यमहरूबाटै आमाबुबाले थाहा पाऊन् भन्ने उनको चाहना छ।
सेतोपाटीको यो भिडिओ संवाद 'तपाईंको साथी सरिशा' मा युबीले आफ्नो मनको कुरा खोलेका छन्। सबैको हाँसोको पात्र बन्दादेखि आफूले आफैलाई चिन्दासम्मको यात्रा विस्तार लगाएका छन् —