(रूसी कवि अलेक्सेइ लिओनोभ्स्कीको कविताबाट प्रेरित भएर लेखिएको कविता)
गाउँमा हाम्रो खेत–खलिहान
आँप–लिचीको बगान थियो
चराचुरूंगी गीत गाउँथे
गाई–भैंसीको बथान थियो
अब त धेरै कुरा बिर्सिएँ
म सानो थिएँ, धेरै सानो
सम्झनामा न खेत छ,
न गाउँ छ
न त बालापनमा जस्तो प्यारो
मेरो त्यो ठाउँ छ
न म वस्तुभाउको
बथान अब सम्झिन्छु
न त चकचके हाम्रो
कुकुरकै नाम याद छ
धेरै कुरा बिर्से पनि,
एउटा कुरा याद छ
गोधुलीमा आमासँग
गाई धपाउँदै,
बाख्रा दौडाउँदै
घर फर्किएको याद छ
मलाई…आमासँग
घर फर्किएको याद छ
तर मलाई फर्किने हतार थिएन
पछ्याउँदै बथानलाई म खेलिरहन्थेँ
आमालाई घर पुग्न अबेर हुन्थ्यो
तर म नटेरी भागिरहन्थेँ
रिसाउनु हुन्थ्यो, हप्काउनु हुन्थ्यो
लौरो देखाउँदै तर्साउनु हुन्थ्यो
आज न त्यो लौरो सम्झिन्छु
न म डराएकै याद छ
रिसाएकी आमा सम्झिन्नँ
उहाँ हाँसेको याद छ
आमा सबेरै जाग्नु हुन्थ्यो
सिधै काममा लाग्नु हुन्थ्यो
खेतबारी भ्याउनु हुन्थ्यो
गाईवस्तु सम्हाल्नु हुन्थ्यो
न कसैलाई गुहार्नु हुन्थ्यो
न कसैलाई अह्राउनु हुन्थ्यो
सबै एक्लै भ्याउनु हुन्थ्यो
र…
मलाई उठाउन आउनु हुन्थ्यो
म रूँदै, कराउँदै
आमालाई पछ्याउँदै
गाईवस्तु चराउन जान्थेँ
यता लुक्थेँ, उता हराउँथेँ
आमाको चिन्ता मात्र बढाउँथेँ
आमा मलाई लखेट्नु हुन्थ्यो
म आमालाई झन् दौडाउँथेँ
रिसाउनु हुन्थ्यो,
हप्काउनु हुन्थ्यो
च्याप्प हात समाएर
थर्काउनु हुन्थ्यो
धेरै कुरा अब सम्झिन्नँ
म सानो थिएँ, धेरै सानो
केवल आमाको हात सम्झिन्छु
र सम्झिन्छु त्यो हातको न्यानो
म अझै सम्झिन्छु…आमाको हात
र त्यो हातको न्यानो!!!