द कन्भरसेसन : ५५
सुपरहिट फिल्म 'कबड्डी' शृंखलाका दर्शकमाझ काजी र मैयाँको जोडी चर्चित छ। दयाहाङ राईले 'काजी' र रिश्मा गुरूङले 'मैयाँ' को भूमिका गरेका छन्।
दयाहाङ 'कबड्डी' का सबै भागमा मुख्य भूमिकामा छन् भने रिश्माले पहिलो र दोस्रो भागमा शीर्ष भूमिका गरेकी छन्। तेस्रो भागमा भने उनी छोटो भूमिकामा देखिइन्। त्यसअघि रिश्माले दयाहाङसँगै अर्को फिल्म 'झुम्की' मा काम गरेकी थिइन्।
'कबड्डी' को तेस्रो भागपछि रिश्मालाई दर्शकहरूले नयाँ फिल्ममा देख्न पाएनन्।
कहाँ हराइन् त मैयाँ?
खासमा उनी विवाहको केही वर्षपछि पतिसँगै अमेरिका गएकी थिइन्। अहिले सात वर्षपछि फेरि पर्दामा कमब्याक गरेकी छन्, त्यो पनि आफ्नै 'काजी' अर्थात् दयाहाङ राईसँग जोडी बनेर।
यी दुईले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'रिमै' भदौ २० बाट देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। दयाहाङ र रिश्माले एकसाथ अभिनय गरेको यो पाँचौं फिल्म हो।
पर्दाको यो हिट जोडीले सेतोपाटी कन्भरसेसनको यो शृंखलामा 'कबड्डी' देखि 'रिमै' सम्मका कुराकानी गरेका छन्।
गुरूङ फिल्मसमेत गरी रिश्माले जम्माजम्मी ९ वटामा अभिनय गरिन्। दयाहाङले ७० हाराहारी फिल्म गरिसके। रिश्माले फिल्म गरिरहँदा दयाहाङलाई भनेकी थिइन्, 'मलाई पढाइ पूरा गर्नुछ। मास्टर्स सक्नुछ।'
बीचमा फिल्मबाट हराउँदा उनी पढाइमै व्यस्त थिइन् होला भन्ने दयाहाङको अनुमान थियो।
कुराकानीमा रिश्माले प्रस्ट्याइन्, 'त्यो पनि एउटा कारण हो। अर्को कुरा सायद, मैले फिल्म क्षेत्रलाई तपाईंहरूले जस्तो पेसागत रूपमा लिइनँ कि! त्यसरी लिएको भए अफर आएका फिल्म गर्थेँ होला!'
दयाहाङ र रिश्माले आफूहरूले अभिनय गरेको काजी र मैयाँ पात्रलाई पनि सम्झिएका छन्। यी पात्रलाई लिएर दर्शकहरूले दिएका प्रतिक्रिया उनीहरू स्मरण गर्छन्। केही दर्शकबाट त आफूले गालीसमेत खाएको रिश्मा बताउँछिन्।
'तीनपटक प्रत्यक्ष गाली खाएँ। एकपटक पार्किङ शुल्क उठाउने भाइले त्यस्तो माया गर्ने मान्छेलाई छाडेर किन गएको भन्दै दह्रो गाली गर्नुभयो,' रिश्माले भनिन्, 'त्यसपछि मैले राम दाइ (निर्देशक) लाई काजीसँग मेरो जोडी बनाइदिनुहोस् समेत भनेकी थिएँ।'
रिश्माले गाली खाए पनि दयाहाङको पात्र काजीलाई भने दर्शकहरूबाट खुबै सहानुभूति मिल्यो।
'कबड्डी ४' को प्रचारप्रसारमा दयाहाङले यस्तो समूह भेटे, जसले 'यसपालि पनि काजीलाई कोही आइपुगेन भने हामी ग्याङ बनाएर आउँछौं' भनेका थिए।
'कबड्डी कबड्डी कबड्डी' रिलिजपछि उनी हल भिजिटका लागि जयनेपाल पुगेका थिए। त्यहाँ बाल्कोनीमा केही दर्शक चिच्याउन थाले – यो अन्याय भयो!
फिल्मको तेस्रो भागमा पनि काजीले आफ्नो माया नपाएपछि दर्शकहरू त्यसरी कराएको दयाहाङ बताउँछन्।
कतिपय दर्शक त यसो भन्थे, 'म पनि काजी हो?'
किन?
उनीहरूको जबाफ हुन्थ्यो, 'मैले पनि भयंकर मन पराएको थिएँ, तर बालै दिएन!'
'यसो भन्नेहरू अहिले पनि धेरै भेट्छु,' दयाहाङले भने, 'कतिपय ठाउँमा मेरै अगाडि काजीको पारामा भिडिओ बनाउनेहरू देखेको छु। यसमा खुसी नै लाग्छ।'
दयाहाङ र रिश्माको 'कबड्डी' सँग जोडिएका यस्ता किस्साले उनीहरूको 'स्क्रिन केमेस्ट्री' कति सशक्त थियो र दर्शकले ती पात्रलाई कति गहिरोसँग आत्मसात् गरेका रहेछन् भन्ने प्रस्ट हुन्छ।
'विगतमा काजी र मैयाँको जोडीलाई माया दिनुभयो। त्यही भएर यसपालि फेरि सहकार्य गर्ने अवसर जुर्यो,' रिश्माले भनिन्।
'रिमै' नामको अर्थबारे कतिपयलाई जानकारी नहुन सक्छ। गुरूङ समुदायमा 'रिमै' को अर्थ महिला वा चेलीबेटी भन्ने बुझिन्छ। चेलीको महत्त्वलाई केन्द्रमा राखेर फिल्म बनेको रिश्मा बताउँछिन्।
दयाहाङ पनि गुरूङ संस्कृतिमाथि बनेको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताउँछन्।
'म आफूलाई भाग्यमानी कलाकारका रूपमा लिन्छु। मैले विभिन्न संस्कृतिमाथि बनेका फिल्ममा काम गर्ने अवसर पाएँ। सांस्कृतिक पाटोबारे केही भए पनि बुझ्ने अवसर पाएँ,' उनले भने।
वर्षौंपछि फिल्ममा फर्किएकी रिश्मा आगामी योजनाबारे भन्छिन्, 'रिमैको सुटिङ सकिएपछि पनि तीनवटा फिल्मबाट अफर आएको थियो। तर म अमेरिका बस्ने भएकाले सबै कुरा मिल्नुपर्यो। चित्त पनि बुझ्नुपर्यो। पहिले पनि मैले फिल्म क्षेत्र छाडछु भनेर कहिल्यै भनेको थिइनँ। मेरा सर्तहरु पूरा भएको खण्डमा फिल्म गर्छु भनेको थिएँ। आउँदा दिनमा पनि त्यही हो।'
यसमा दयाहाङले थपे, 'कलाकार भनेको कहिल्यै रिटायर्ड भइन्छ जस्तो लाग्दैन।'
हेर्नुहोस्, रिश्मा गुरूङ र दयाहाङ राईको कुराकानी, सेतोपाटी कन्भरसेसनमा —