२०७२ को भुइँचालोमा धेरै सम्पदा क्षति भए। हाम्रो मौलिकता जोगाउने कुरा उठिरहेको थियो।
एक वर्षपछि यही उद्देश्यसाथ 'सुमुखी' उभियो।
संस्कृतमा ऐनालाई 'सुमुखी' भनिन्छ।
बुद्धनगरस्थित सुमुखी ह्यान्डिक्राफ्ट्सको मुख्य काम पनि यही हो- कला र मान्छेको जीवन एकसाथ जोडेर विभिन्न सामग्रीमार्फत् प्रतिबिम्वित गर्नु।
नामजस्तै यसले नेपाली वास्तुकलालाई ऐनाका रूपमा आफ्ना सामग्रीमा उतार्दै आएको छ।
'हामी हस्तकलामा केही नयाँपन ल्याउने सोच्दै थियौं। भुइँचालोपछि यहाँका वास्तुकलाको महत्व झनै बढ्यो। यही शैली हस्तकलामा प्रयोग गर्ने निधो गर्यौं,' सुमुखीका संस्थापक तथा डिजाइनर अशेषकुमार प्रधानले भने।
हामीकहाँ हस्तकला सामान उत्पादक धेरै छन्। तिनका प्रायः एकै विशेषताका सामान हुन्छन्। त्यसैले नयाँ शैलीका उत्पादन दिने योजना सुमुखीले बनायो।
त्यही योजनामा पर्यो- नेपाली मौलिकता, वास्तुकला र धर्मसंस्कृतिसँग जोडिएका डिजाइन।
त्यसैको उदाहरण हो, हिन्दू धर्ममा पूजिने आठ प्रतीक (अष्टमंगल) प्याकेजका सामान। यसमा ल्यापटपका खोल, डायरीका कभर, मेमो प्याड, पेन होल्डर, पर्स, फोन होल्डर, चस्माको खोल, इयरफोनको खोल लगायत सामान छन्। यिनमा हाम्रा वास्तुकलाका प्रतीक कुँदिएका छन्।
अष्टमंगलबाहेक नृभ दैत्य, न्यातपोल, मयम, न्युँ झ्या, सम्झना, ढाका, लोक्ता, मुक्ति, वास्तुकला जस्ता विभिन्न प्याकेज र प्रतीकमा धेरै प्रकारका सरसामान बिक्री गर्दै आएको छ सुमुखीले।
ढाका, धातु, छाला, फाइबर, अन्य कपडा लगायतमा प्रतीकहरू कुँदिएका छन्। यसबाट मूर्ति, सजावटका सामग्री, डायरी, झोला, ग्रिटिङ तथा भिजिटिङ कार्ड, तन्ना तथा सिरानी र कुसनका खोल, स्टेशनरी सामानसम्म बन्छन्।
सामानका हरेक प्रतीकको बेग्लै कथा भएको सुमुखीका अर्का संस्थापक रोली मित्तल जलान बताउँछिन्।
'सबै प्रतीकमा विशेष कथा र शक्ति लुकेको छ। हामीले अध्ययनपछि नै यी कला सामानमा उतारेका हौं,' रोलीले भनिन्, 'यी सामानका प्रेरणा हाम्रा मठ–मन्दिरमा देखिने देवीदेवता, दानव र जीवनका परिभाषा सिकाउने प्रतीक हुन्।'
अशेष र रोलीको भेट सन् २०१४ मा भएको हो। त्यति बेला रोली आफ्नो डिजिटल मार्केटिङ अफिस 'क्रियटिभनेपा' का लागि डिजाइनर खोज्दै थिइन्।
त्यस बेला अशेष एउटा मार्केटिङ तथा डिजाइनिङ कम्पनीमा काम गर्थे। सन् २०१३ मा थाइल्यान्डको वेबस्टर विश्वविद्यालयबाट विज्ञापन तथा मार्केटिङमा स्नातक गरेका उनले यो मौका गुमाएनन्।
उनलाई सानैदेखि कलामा रूचि थियो। यस विषयमा पढ्न भने पारिवारिक कारणले मिलेन। 'क्रियटिभनेपा' मा काम गर्दै जाँदा पुरानो रहर ब्युँतियो।
'म विभिन्न कम्पनीका लागि डिजाइन गर्थेँ,' २७ वर्षीय अशेषले भने, 'अनुभव बटुलेपछि आफैंमा रचनात्मक विचार आउन थाल्यो। ती विचार पोख्ने ठाउँ सुमुखी बन्यो।'
भारतको एटलान्टिक अन्तराष्ट्रिय विश्वविद्यालयबाट अंग्रेजी (भाषा) मा विद्यावारिधि गरेकी ३१ वर्षीय रोलीले नेपालमा बस्ने सोचेकी थिइनन्। सानैबाट भारत बसेकी उनलाई चाख पनि थिएन रे। तर बिहे नेपालमै भयो। यतै बस्न थालेपछि नेपालप्रतिको दृष्टिकोण बदलियो। चार वर्षीय छोरा र श्रीमानका साथ यतै छन्। सुमुखी हेरेरै रमाएकी छन्।
रोलीले पढाइ सकिएलगत्तै निबन्ध संग्रह निकाल्ने सोच बनाएकी रहिन्। सोचेजस्तो नभएपछि बाटो मोडिन्।
नयाँ किताब लेख्दै गरेको पनि जानकारी दिँदै भनिन्, 'आफैं व्यवसाय सुरू गर्ने सोचले क्रियटिभनेपा सुरू गरेँ।'
रोलीको बुवा पनि व्यवसायी हुन्। पारिवारिक प्रभाव उनमा परेको देखिन्छ।
हाँस्दै भन्छिन्, 'मेरो जिनमै व्यापार–व्यवसाय छ जस्तो लाग्छ। यसैमा खुसी छु।'
यसरी भेटेका अशेष र रोली सुमुखी जन्मिनुमा 'क्रियटिभनेपा' कै भूमिका रहेको मान्छन्।
'मैले अशेषलाई क्रियटिभनेपा आउनुअघि नै 'पहिलो वर्ष सफल हुन्छौं वा हुँदैनौं, आफैंमा विश्वास छैन' भनेकी थिएँ,' रोलीले सुनाइन्, 'उसले साथ दिएरै यहाँसम्म आइपुगेका हौं।'
डिजिटल मार्केटिङको काम एकोहोरो लाग्न थालेपछि उनीहरू सुमुखीतिर मोडिएका हुन्। नेपाली कला अन्तर्राष्ट्रिय बजारमा भिन्न शैलीमा प्रस्तुत गर्ने उनीहरूको लक्ष्य हो।
अशेषका डिजाइनको पाटो हेर्छन्, रोली बजार–व्यवस्थापनको। अशेषको कलाप्रति र रोलीको व्यावसायतिरको रूचिका कारण सुमुखी चहकिलो हुँदैछ।
सन् २०१७ मा सुमुखीले आफ्ना कला जर्मनीमा भएको 'ट्रान्जिट प्रदर्शनी'मा राखिसकेको छ। २०१८ मा अमेरिकाको लस भेगसमा 'एसडी मार्केट विक' मा पनि प्रशंसा बटुलिसक्यो।
बाहिरी मुलुकमा व्यवसाय गर्दा खर्च बढी हुने उनीहरूले महशुस गरेका छन्। त्यही कारण २०१८ को प्रदर्शनी सुमुखीको लागि अन्तिम अन्तर्राष्ट्रिय प्रदर्शनी रह्यो।
'पहिले नेपाली बजारमै स्थापना हुनेमा ध्यान दिनुपर्ला,' रोलीले भनिन्, 'विदेशी बजारमा जाने सोच त छँदैछ।'
सुमुखीका सामान भिन्नभिन्न ठाउँमा बन्छन्। यसबाट १४ जनाले रोजगारी पाइरहेका छन्। कुँदिएका धातुका सामान भक्तपुर, ठिमीमा बनाइन्छ भने छालाको काम पकनाजोलमा हुन्छ। पोलिस्टरका काम उपलब्धताअनुसार विभिन्न ठाउँमा हुन्छ।
सुमुखीले विभिन्न संग्रह र संस्करणमा सामान उत्पादन गर्छ। यसपटक 'एभरेस्ट कलेक्सन' छ। यसमा उनीहरू झोला बनाउँदैछन्।
उनीहरू यसलाई झोला मात्र मान्दैनन्, सगरमाथाको कथा पनि मान्छन्।
यसरी बेलाबेला नयाँ संग्रह डिजाइन र नमूना तयार पार्न बढी समय लाग्ने अशेष बताउँछन्।
'एकपटक नमूना तयार भएपछि अरू काम भने सजिलै हुन्छ,' उनले भने।
पछिल्लो समय 'मुक्ति कलेक्सन' थियो। यसअन्तर्गतका सामानमा कम्पासलाई नेपाली वास्तुकलासँग जोडेर डिजाइन गरिएको थियो।
'मान्छे जहाँ पुग्छ, उसले त्यहाँ सकारात्मक ऊर्जा पाउँछ भन्ने यसको अर्थ हो। ऊ नकारात्मक ऊर्जाबाट टाढा रहन सक्छ,' अशेषले मुक्ति संग्रहको पर्स देखाउँदै भने, 'कलाको मिश्रण त हो सबै। हामीले सामान्यतया ख्यालै नगरेका कला कथागत शैलीबाट सामानमा उतार्ने हो।'
नेपालमा थुप्रै संस्कृतिसँग जोडिएका कथा रहेको रोली बताउँछिन्। उनका अनुसार हामीले वेवास्ता गरिरहेका वस्तुका भित्री तह नियालेर, अर्थ बुझेर, तिनै कुरा समेट्दै सामान बनाउने र समाजमा ल्याउने उनीहरूको प्रयत्न हो।
अशेष पनि भन्छन्, 'सुमुखी उत्पादन सामान मात्र होइन, कथा पनि हो।'
सामानको राम्रो प्रतिक्रिया मिले पनि बजारभाउ भने उत्ति नपाएको उनीहरू बताउँछन्।
'धेरैले अन्तर्राष्ट्रिय ब्रान्डसँग दाँज्नुहुन्छ। हामी त्योस्तरमा पुगिसकेका छैनौं। तर जतिसक्दो राम्रो बनाउन लागिरहेका छौं,' अशेषले भने।
सुमुखीका उत्पादन फेसबुक र वेबसाइटबाट सम्पर्क गरेर पनि किन्न सकिन्छ। डिजाइनिङ, सामान उत्पादन र बजार पुर्याउने क्रममा कहिलेकाहीँ गल्ती पनि हुन्छन्।
तिनै गल्तीबाट सिक्दै अघि बढेको बताउने रोली भन्छिन्, 'लडेपछि नै सिकिन्छ। हामी लड्दै, सिक्दैछौं। त्यसलाई नियन्त्रण गरी स्मार्ट जोखिम लिन खोज्दैछौं।'
सुमुखीको सम्पर्क नम्बरः ९८४९२६६०१८, फेसबुकः Sumukhi Handicrafts, वेबसाइटः http://www.sumukhihandicrafts.com/