लाखेले एकै रातमा बनाएको भनेर पाटनस्थित पिम्बहाल पोखरी प्रख्यात छ। पोखरी नजिकैको 'पिम्बहाल फ्रेस पोट्याटो चिप्स कर्नर' को ख्याति पनि कम्ता छैन।
दर्जन बढी स्वादमा चिप्स पाइनु यहाँको विशेषता हो, जुन उपत्यकामा मात्र नभई विदेशसम्म लोकप्रिय छ। स्थानीय दामोदर श्रेष्ठले करिब दुई दशकदेखि यो चिप्स व्यवसाय सम्हाल्दै आएका छन्।
चिप्सको व्यवसाय सुरू गर्दा उनी ३४ वर्षका थिए। अहिले ५५ लागेका दामोदरलाई भ्याइनभ्याइ छ।
'कहिलेकाहीँ त दिक्क लाग्छ,' उनी पसलको व्यस्तताको दुखेसो पोख्छन्, 'बिहान पसल खोलेदेखि बेलुकीसम्म एकनास भिड हुन्छ। कुनै बेला त कोही नआइदिए हुन्थ्यो भन्ने पनि लाग्छ।'
हुन पनि उनको पसल एकछिन खाली देखिँदैन। हामीसँग कुरा गर्दा पनि उनका हात खाली थिएनन्। तर यही भिडले आफ्नो पहिचान बनाएको दामोदर स्वीकार्छन्।
बजारमा छ्यास्छ्यास्ती पाइने विदेशी चिप्स छाडेर यहाँ स्थानीय स्वाद चाख्नेको घुइँचो हुन्छ। ग्राहकको मन जित्न कुनै ब्रान्डको नाम र झलमल्ल प्याकेजिङ चाहिँदैन भन्ने उदाहरण हो, दामोदरले बनाएका चिप्स।
यहाँ आलुको मात्र चिप्स पाइने होइन। आँप, केरा, भुइँकटरजस्ता फलफूलको स्वादमा बीस रुपैयाँदेखि दुई सयसम्मका चिप्स दामोदर बेच्छन्। चिज, चटपटे, टमाटर र मसालेदार स्वादमा पनि पाइन्छ।
उनको पसलमा दालमोठ, चाउचाउ, बिस्कुट लगायत अन्य खाद्यान्न पनि नपाइने होइन, तर पसलको विशेषता चाहिँ चिप्स नै हो।
व्यवसाय सुरूआतका दिनमा दामोदरले यस्ता विभिन्न स्वादमा चिप्स निकालेका थिएनन्। समय र मागअनुसार स्वाद बढाएको उनी बताउँछन्।
पिम्बहाल उनको पुर्ख्यौली घर हो। गुच्चा खेल्दै, पाङ्ग्रा गुडाउँदै उनको बाल्यकाल यहीँ बित्यो। पढाइमा उति मन नभए पनि घरको दबाबमै मीनभवन कलेजबाट स्नातक सके।
यो व्यवसायमा लाग्नुअघि दामोदरले अन्नपूर्ण होटल, सौराहा होटल, होटल शंकर लगायतमा लेखापालको काम गरे। त्यो काममा मन बसेन। जागिर छाडेर साथीसँग मिलेर चिप्स व्यवसाय थाले। साथीले बीचमै छाडेपछि दामोदर एक्लैले निरन्तरता दिए।
दुई किलो आलु र बुबासँग ३५ हजार सापटी लिएर व्यवसाय सुरू गरेको उनी बताउँछन्।
उनी चिप्ससँगै राँगाको सुकाएको मासुबाट 'नमचोङ' पनि बनाउँथे। नमचोङ बनाउन सुरूमा फिलाको मासु काट्थे। त्यसलाई मरमसलासहित सुख्खा 'फ्राइ' गर्थे। मासुका रेसारेसा बनाउँथे, अनि प्याकिङ गरेर बजार पुर्याउँथे।
सुकेको मासु हातैले रेसा पार्नुपर्ने हुँदा उनलाई गाह्रो भयो। उनले बजारको माग पनि पूरा गर्न सकेनन्। त्यसैले, नमचोङ परिकारको कामै रोके।
'घरेलु स्तरमा आलु चिप्स बनाउँदा दैनिक ४ देखि ५ सयको व्यापार हुन्थ्यो,' दामोदर पुराना दिन सम्झँदै भन्छन्, 'साइकलमा बेच्दै हिँड्थेँ म। कतिले उधारो लिन्थे। पछि पैसा माग्न अप्ठ्यारो। कतिपटक भने पूरा पैसा नै पाइनँ।'
केही समय साइकलमै डुलेपछि घरनजिक सानो पसल खोले।
'पसल खोलेपछि सुरूसुरूमा केटाकेटीहरू बढी झ्यामिन थाले। त्यो बेला पनि भिडै हुन्थ्यो,' उनले सुनाए, 'दुईदेखि पाँच रुपैयाँसम्म लिएर चिप्स किन्न आउँथे। केटाकेटी हुन्, झिँजो नमानी दिन्थेँ। अहिले पनि दिन्छु।'
दामोदर नानीबाबुहरूसँग मिलनसार देखिन्छन्। जिस्किँदै चिप्स दिने उनी केटाकेटीको उपस्थिति रमाइलो लाग्ने बताउँछन्।
पिम्बहाल फ्रेस चिप्समा पाइने हरेक स्वादका चिप्स बनाउन दामोदर आफैं खट्छन्। पसलनजिकै उनको भान्सा छ। दुई कामदार र बाँकी घरकै सदस्य बिहानैबाट चिप्स बनाउँछन्। दैनिक डेढ बोरा आलुबाट २० देखि २५ बोरा चिप्स बन्छ, जुन यही पसलबाट बिक्री हुन्छ।
विशेषगरी काभ्रे र साँखुको आलु प्रयोग हुने र तेलदेखि कुनै कच्चा पदार्थमा सम्झौता नगरेको दामोदर बताउँछन्। उमेरअनुसार स्वाद फरक हुने ख्याल गर्दै उनी त्यही हिसाबले चिप्स बनाउँछन्।
'सबै मान्छेको स्वाद एकै हुँदैन। कसैलाई बढी पिरो त कसैलाई सादा मन पर्ला। मागअनुसार बनाउँछु,' उनले भने।
दामोदरको पसलमा प्रत्येक ६ महिनामा चिप्सको स्वाद फेरिन्छ। ग्राहकले रुचाए लामो समय टिक्छ, नभए नयाँ स्वाद परीक्षण गर्छन्। हाल ग्राहकले चिज र भुइँकटहरको स्वाद मनपराइरहेको उनले बताए।
दामोदरको चिप्सले पार्टी, भोजभतेर र पिकनिकमा समेत स्थान बनाइसकेको छ।
'कतिपय ठाउँमा यहाँको चिप्स नभई नहुने भइसक्यो,' उनी दंग सुनिए, 'विदेश गएकाहरू पनि यहीँबाट मगाउँदा रहेछन्। पिम्बहाल चिप्स नेपालको कोसेली बनिसकेको छ।'
अहिले त यसको शाखा पनि खुलेको छ- अग्निसाला, कुमारीपाटीमा। त्यो शाखा उनकी छोरी दीक्षा श्रेष्ठ र ज्वाइँ सज्जित श्रेष्ठले हेरिरहेका छन्।
आठ वर्ष अष्ट्रेलिया बसेर फर्केकी छोरीलाई दामोदरले सल्लाह दिएछन्, 'नेपालमै व्यवसाय गर्न सकिन्छ, बाहिर किन जानु?'
छोरी–ज्वाइँले उनको कुरा आत्मसात गर्दै शाखा खोले। अहिले दुवै यसैमा सन्तुष्ट रहेको दामोदर बताउँछन्।
सुरूमा व्यावसायिक हिसाबमा कारोबार गरे पनि पछिल्लो समय उनी दौडधूप गर्दैनन्। जतिको व्यापार हुन्छ, त्यसैमा सन्तुष्ट भएको बताउँछन्, 'म सीमित कुरामै रमाउने मान्छे। जति छ त्यसमा खुसी छु।'
कुनै समय थियो, दामोदरले बजारमा मट्टीतेल अभाव भोग्नुपर्थ्यो। बत्तीका लागि घन्टौं कुर्नुपर्थ्यो। अचेल त्यस्ता समस्याले नसताउँदा उनी राहत महशुस गर्छन्।
लेखापालदेखि चिप्ससम्मको यात्रामा भोगेका तीतामीठा क्षणलाई दामोदर सकारात्मक भएर आत्मसात् गर्छन्।
'कतिपटक त मलाई दिक्क लाग्थ्यो। कहिले के नमिल्ने कहिले के,' संघर्षलाई सफलताको खुड्किलो मान्ने उनले भने, 'जिन्दगीमा हरेस खाइनँ। काम बिग्रियो भने त्यसको कारण खोज्थेँ। अनि आफ्ना कमजोरी सपार्नतिर लाग्थेँ।'
दामोदरको चिप्स कर्नर साताको सातै दिन खुला हुन्छ। शारीरिक स्वास्थ्यले साथ दिएसम्म यसमै लागिरहन चाहन्छन्।
'कहाँ–कहाँबाट ग्राहक आउनुहुन्छ। उहाँहरू यसै फर्कन नपरोस् भनेर सधैं खोल्छु,' उनले भने, 'सकुन्जेल यही क्षेत्रमा लाग्छु।'
एकैछिन सोचेजस्तो गरेर हाँस्दै भने, 'अब बुढेसकालमा कसैसँग दुई पैसा पनि त माग्न नपर्ने भयो नि।'