ताप्के-कित्लीमा पकाएको चिया गिलास, कप वा मट्कामा तपाईंहरूले पक्कै खानुभएको छ। कहिल्यै बाँसमा पाकेको चिया खानुभएको छ? बाँसकै कपमा?
छैन र खाने इच्छा छ भने तपाईंहरू रातोपुल र सेतोपुलबीच रुद्रमति मार्गस्थित 'ब्याम्बो बिरयानी' जान सक्नुहुन्छ। ब्याम्बो बिरयानीले झन्डै डेढ महिनायता ब्याम्बो-टी अर्थात् बाँसमा पकाइएको चिया 'सर्भ' गरिरहेको छ।
नामजस्तै ब्याम्बो-टी डेढ फुटजति लामो हरियो बाँसको ढुंग्रोमा पकाइन्छ। ढुंग्रोमा दूध, चियापत्ति र चिनी हालेर आगोको भट्टीमा राखिन्छ। पाकेपछि उक्त चिया बाँसकै चिया छान्नेबाट बाँसबाटै बनेका कपमा हालिन्छ। ६० रूपैयाँ तिरेपछि ब्याम्बो-टी तपाईंले पिउन सक्नुहुनेछ।
बाँसमा पकाएको चिया चाख्नकै लागि अचेल दैनिक २ सय बढी ग्राहक आउने ब्याम्बो बिरयानीका सह-सञ्चालक विवश काफ्ले बताउँछन्।
'अहिले टाढा-टाढादेखि चियाकै लागि ग्राहक आउनुहुन्छ,' विवश भन्छन्, 'सामाजिक सञ्जाल र विशेषगरी टिकटकले गर्दा ब्याम्बो-टी भाइरल भएको छ। बिहान ९ बजेदेखि साँझ अबेरसम्म ग्राहक खचाखच हुन्छन्। यतिसम्म, गाडीमा आएका ग्राहक खाना लिएर गाडीमै बसेर खान्छन्।'
गत सातादेखि दैनिक २५ लिटरसम्म चिया बिक्री भइरहेको विवशले बताए। एकपटकमा ३५ जना अटाउने क्षमता भएको ब्याम्बो बिरयानी गत वर्ष कात्तिकमा खुलेको हो। यहाँ चिया मात्र होइन, हरेक खाजा बाँसमै पकाइन्छ। विशेष परिकार बिरयानी भए पनि यतिबेला चियाले 'ओभरटेक' गरेको उनी बताउँछन्।
बस्ने मेच र टेबल पनि बाँसकै भएको ब्याम्बो बिरयानीको आवरण ठ्याक्कै बाँसको कटेज जस्तै देखिन्छ।
विवशलाई ग्राहक सत्कार र यो भिड सम्हाल्न अर्का सञ्चालक मिलन रेग्मी र अरू ५ जना कर्मचारीले सघाउँछन्। चार वर्षअघि कामकै सिलसिलामा विवश र मिलनको भेट भएको थियो। झन्डै एक वर्षदेखि नै मिलन ब्याम्बो बिरयानीका सह-सञ्चालकका रूपमा छन्।
सुरूमा यो व्यवसाय विवश र उनका साथी सेफ दीपेन्द्र तिम्सिना मिलेर सुरू गरेका थिए। पछि दीपेन्द्र बाहिरिए, मिलनले यो व्यवसायको खाँबो बनेर विवशसँग सहकार्य गरे।
'विवशसँगै मिलेर व्यवसाय गर्ने सोच पहिल्यैदेखि थियो। त्यो अवसर ब्याम्बो बिरयानीमा मिल्यो,' मिलनले भने।
विवश सधैं नयाँ आइडियामा काम गर्न रूचाउँछन्। स्थानीय उत्पादन बाँसलाई पनि राम्रो बजार दिन सक्ने सोचले गत वर्ष ब्याम्बो बिरयानीको अवधारणा भित्र्याएका हुन्।
'छोटो समयमै राम्रो बजार लिएको थियो। महामारीका कारण पाँच महिनामै बन्द गर्नुपर्यो,' विवशले कोरोनाको असर सुनाए, 'लकडाउनपछि फेरि बजार बसाउनु चुनौतीपूर्ण भयो। त्यसैले नयाँ स्वादमा चिया तयार पारेका हौं।'
यो अवधारणाका पछाडि अर्को कारण पनि छ। ब्याम्बो बिरयानी र अरू खाना बनाउँदा बाँसका मोटा-मोटा ढुंग्रा मात्र प्रयोग हुन्थे। बाँकी साना ढुंग्रा बाल्नुपर्थ्यो। त्यसको पनि अझै उपयोग होस् भनेर चिया बनाउन थालेको उनले बताए। उनका अनुसार एउटा ढुंग्रोमा आधा घन्टामा २ देखि ८ कपसम्म चिया पाक्छ।
बाँसमा पकाएर खानेकुरा बेच्नु सहज पक्कै छैन। यो सुरू गर्न उनीहरूले झन्डै दुई महिना धेरै तरिकाले परीक्षण गरेका थिए। कहिले बाँसमा खाना हालेर आगोमा पोले, कहिले तावामा सेकेर त कहिले कोइलामा पकाए। अन्ततः आगोमै राम्रोसँग पाक्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।
उनीहरूले भान्सामा भट्टी र चिम्नी बनाएका छन्। त्यहीँ आगोमा ब्याम्बो बिरयानी पकाएर व्यवसाय सुरू गरेका उनीहरूले पछि मेनुमा ब्याम्बो मःम लगायत खाजा थपे। पछिल्लो आकर्षण भने चिया नै हो।
खाना पकाउने हरियो बाँस विशेषगरी झापा, बुधबारेबाट मगाइन्छ। बाँसको चिया कप पनि बुधबारेमै बनाइएको विवशले जानकारी दिए।
विवशको घर पनि झापा नै हो। उनी प्लस-टु सकेर २०६९ सालतिर काठमाडौं आएका हुन्। घर र आफन्त प्रायः सरकारी जागिरे र बैंकिङ क्षेत्रमा आवद्ध थिए। यस्तो वातावरणमा हुर्केका विवशलाई लोकसेवा वा कुनै प्रोजेक्टमा काम गर्ने भूत सवार थियो। सँगै चार्टर्ड एकाउन्टेन्ट पढ्ने धोको। त्यसैले काठमाडौं आएर ६ महिना सिए कोर्स लिए। लगत्तै थप पढाइका लागि भारतको दिल्ली गए।
दिल्लीमा झन्डै ३ वर्ष अध्ययनमा बिताए। तर तेस्रो पटक समेत फेल भएपछि उनले महसुस गरे, 'यो क्षेत्र मेरा लागि होइन।'
त्यसपछि झापा फर्केर मेची क्याम्पसबाट व्यवस्थापनमा स्नातक सके। स्नातकोत्तर गर्दै काम गर्ने सोचले उनी फेरि काठमाडौं पसे। यहाँ आएर पुतलीसडकस्थित 'कमटेक नेपाल'मा काम गरे।
'पछि विश्वज्योति मलमा ६ महिनाजति काम गरेँ। तर त्यसरी काम गरेर बस्नै सकिनँ,' उनी त्यसबेलाको दिक्दारी सुनाउँछन्, 'अनि प्रोजेक्टमा काम गर्ने सोचले भूकम्प प्रविधि राष्ट्रिय समाजमा लागेँ।'
यो ०७३ सालतिरको कुरा हो। प्रोजेक्टको काम सुरूसुरूमा उनलाई रमाइलै लाग्यो। विस्तारै मन जमेन। अनि भने उनले आफ्नै व्यवसाय गर्ने सोचे।
'मामासँग सल्लाह गरेँ र काठमाडौंमा भक्का भित्र्याएर व्यवसाय थाल्ने सोचेँ,' उनले भने।
बानेश्वरस्थित 'भक्का हाउस' विवशको पहिलो रेस्टुरेन्ट व्यवसाय हो। प्रोजेक्टमा काम गरिरहेकै बेला २०७४, चैतमा उनले झन्डै ५ लाख ऋण लिएर भक्का हाउस खोले।
उनी त्यतिबेला बानेश्वरकै एउटा होस्टलमा बस्थे। भक्का हाउस सञ्चालनमा उनलाई होस्टलमै चिनजान भएका सुजन लामाले सघाए। काभ्रेका सुजन र विवशले भक्का बनाउने सीप झापाकै स्थानीय महिलाबाट सिकेका हुन्।
भक्का हाउसले विभिन्न स्वादमा भक्का परीक्षण गर्दै पस्कियो। तराइको विशेष परिकार काठमाडौंमा खान चाहने ग्राहक धेरै नै भए। एक वर्षपछि विवशले माटोका भाँडोमा खाना बनाएर व्यवसाय गर्ने सोचे र देवीनगरमा 'मटिया हाउस' खोले।
'भक्का हाउसमै हुँदा एक जना ग्राहकले माटोको कपमा मात्र चिया खान्छु भन्नुभयो। अनि मटिया हाउसको आइडिया आएको हो,' विवशले सुनाए। ग्राहकले उनको मटिया हाउस पनि रूचाए। दुईतिरै व्यवसाय फस्टाएसँगै विवशलाई फुर्सद भएन। अनि प्रोजेक्टको काम छाडे।
भक्का हाउस र मटिया हाउस खोले पनि विवशको नयाँ अवधारणा बजारमा पुर्याउने तलतल मेटिएन। त्यही तलतल मेटाउन तेस्रो रेस्टुरेन्ट ब्याम्बो बिरयानी खोलेका हुन्।
२७ वर्षीय विवश भन्छन्, 'यस्ता आइडिया अझै छन्। ती सब कार्यान्वयन गर्न पाए सन्तुष्टि मिल्थ्यो।'
परिवारमै व्यवसायमा हात हाल्ने पहिलो सदस्य विवश हुन्। आफूमा व्यावसायिक सोच सानैदेखि थियो भन्ने उनले महशुस गरेका छन्।
स्कुल पढ्दाको सम्झना सुनाए, 'बुवा यातायात कार्यालयमा काम गर्नुहुन्थ्यो। मैले उहाँलाई पसल थाप्छु भन्दै ५ हजार रूपैयाँका खुद्राखुद्री सामान किन्न लगाएको थिएँ। स्कुल बिदामा बाबाको कार्यालयबाहिर पसल थापेर बस्थेँ। कर्मचारीहरू काफ्ले सरका छोराले पसल थापेको छ, त्यहीँ जाने भन्दै आउँथे। नाफामा सामान बेच्थेँ।'
विवशका अनुसार व्यवसायमा लाग्न उनलाई बुवाको ठूलो सहयोग मिल्यो। तर गत वर्ष माघमा सवारी दुर्घटनामा परेर बुवाको मृत्यु भयो। घरको जेठो सन्तान भएकाले पारिवारिक जिम्मेवारी विवशकै काँधमा आयो।
एकातिर बुवा बितेको दुःख, अर्कातिर एकैपटक तीन व्यवसायमा कोरोनाको असर।
'आमाले त व्यवसाय छाडेर झापा फर्क भन्नुभएको थियो। तर उँभो लाग्नसक्ने आत्मविश्वासले अडिरहेँ। अहिले विस्तारै सबैले गति समातिरहेको छ,' घर र व्यवसाय धानिरहेका विवशले सकारात्मक हुँदै सुनाए।
२७ वर्षको उमेरमै तीनवटा फरक स्वाद र अवधारणाका रेस्टुरेन्ट चलाएका विवशले सकारात्मक प्रतिक्रिया बटुलिरहेका छन्। तर केही समययता सामाजिक सञ्जालमा ब्याम्बो बिरयानीले बाँस फँडानी गरी अनावश्यक प्रयोग गरेको भन्ने टिप्पणी पनि आएका छन्।
यसबारे विवश भन्छन्, 'बाँस वर्ष-दिनमा काट्न मिल्ने सबभन्दा छिटो बढ्ने बिरूवा हो। बजारमा यसको माग रह्यो भने किसानले खेती गर्न सक्छन्। बाँस प्रयोग कृषक र आम्दानीसँग जोडेर हेर्दा राम्रो होला।'
कामको सम्मान गर्ने हो भने देशमै राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्।
आफूसँग भएका अन्य आइडिया छिट्टै कार्यान्वयन गर्ने योजनामा रहेका उनी भन्छन्, 'बजारलाई नयाँ-नयाँ आइडिया दिनु मेरो उद्देश्य हो। मबाट सिकेर कसैले केही गर्छन् भने त्यो अझ खुसीको कुरा हो। जसले गरे पनि नेपाली बजारमै रोजगार र व्यवसाय सिर्जना हुन्छ।'