सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
गत वर्ष असारमा काठमाडौंमा पहिलो लकडाउन चलिरहेको थियो। काम र पढाइ ठप्प भएपछि धेरैले विभिन्न सीप सिकेर खाली समय सदुपयोग गरे। त्यही बेला काठमाडौंका जयना दिदीबहिनीले सिर्जनात्मक काम गर्ने निधो गरेका थिए।
सृष्टि र सृजना जयनाले इन्टरनेटमा हेरेर घरभित्र भएका सामान प्रयोग गरी नयाँ-नयाँ उत्पादन बनाउन थाले।
उनीहरू युट्युबमा हेरेर ऊनको धागोले हातमा लगाउने ब्रासलेट बनाउँथे। ब्रासलेट बनाउँदा बनाउँदै सृजना र सृष्टिले इन्टरनेटमा 'म्याक्रेम' का उत्पादनबारे थाहा पाए। म्याक्रेम शब्द अरबी भाषाबाट आएको हो। यो धागोलाई बुनेर (गाँठो पारेर) सजावट सामग्री बनाउने एउटा कलाको रूपमा बुझिन्छ।
यसका उत्पादन राम्रा र बुनाइको तरिका पनि अलि फरक भएकाले जयना दिदीबहिनीलाई मनपर्यो। उनीहरूले युट्युबमा हेर्दै घरमै बसेर म्याक्रेम सामान बनाउन थाले। इन्स्टाग्राममा 'म्याक्रेम लेस्ड' नामको पेज खोले र आफूहरूले बुनाएका सामानका फोटा राखे। बिस्तारै पेजमा 'फलोअर्स' संख्या बढ्दै गयो। केहीले उत्पादन मन पराएर किन्न पनि खोजे।
सुरूमा सृष्टि र सृजनाले व्यवसाय गर्ने कुनै सोच बनाएका थिएनन्। फलोअर्सको माग बढ्न थालेपछि उनीहरूले आफ्नो रूचिलाई व्यवसायमा परिवर्तन गर्ने सोचे अनि 'म्याक्रेम लेस्ड' लाई आफ्नो ब्रान्ड बनाए।
'हामीले उत्पादनहरू हातैले धागो गाँठो पार्दै बुनेर बनाउने हो। यो हाम्रो आमाहरूको बुनाइ तरिकाभन्दा अलि फरक हुन्छ,' २७ वर्षीया सृष्टिले भनिन्, 'सामान्य बुनाइमा ऊनको मसिनो धागो प्रयोग हुन्छ। यसमा भने कटनको मोटो धागो प्रयोग हुन्छ।'
यसमा मसिनो धागो पनि प्रयोग गर्न त सकिन्छ। ग्राहकको रोजाइ अनुसार उनीहरूले धागो छान्छन् र रंगाउँछन् पनि।
हाल म्याक्रेम लेस्ड अन्तर्गत सृष्टि र सृजनाले धागोबाट विभिन्न दस प्रकारका सामान बुनिरहेका छन्। उत्पादन अनुसार फरक डिजाइन पनि छन्। ऐना वरिपरि राखिने धागोको फ्रेम, कपको तल राखिने कोस्टर, सानो पर्स, बुकमार्क, गमला र किताब झुन्ड्याउने ह्यांगर र भित्तामा झुन्ड्याउने सजावट सामग्री उनीहरूका उत्पादन हुन्।
यीमध्ये सबभन्दा सस्तो ७५ रूपैयाँ पर्ने बुकमार्क हो भने तीन हजार पर्ने किताब राख्ने ह्यांगर सबभन्दा महँगो। किताब राख्ने ह्यांगरमा काठ पनि प्रयोग हुनाले महँगो भएको सृष्टि बताउँछिन्।
जेन्डर स्टडिजमा स्नातकोत्तर गरिरहेकी सृष्टि एक गैरसरकारी संस्थामा जागिरे छिन्। बहिनी सृजना भने भर्खरै आर्किटेक्चरमा स्नातक सकाएर इन्टर्नसिप गरिरहेकी छिन्। त्यसैले आफ्नो पढाइ र रूचिलाई बराबर रूपमा अगाडि लाने कोशिस गरिरहेको बताउँछन् उनीहरू। तर सुरूमा दुवैका लागि समय मिलाउन गाह्रो भएको थियो।
'हप्ताभर पढाइ र काम हुने भएकाले अर्डरको आएका बेला मात्र गर्थ्यौं। कहिलेकाहीँ अर्डर धेरै हुँदा रातिराति नसुतेरै बुनेर बस्यौं,' सृष्टि भन्छिन्, 'पहिले बुन्ने बानी थिएन। एक्कासि दुई-तीन घन्टा लगातार बुन्न बस्दा निकै हात दुखेको थियो। थकाइ पनि लाग्थ्यो। केही ग्राहकले आफ्नै डिजाइनमा सामान बनाउन फोटा पठाउँथे। नाप नमिलेर दोहोर्याएर बनाएका पनि छौं।'
नेपालमा म्याक्रेम उत्पादन धेरै चल्तीको होइन। त्यसैले सुरूमा यी सामान र ब्रान्ड ग्राहकमाझ पुर्याउन पनि उनीहरूलाई समय लागेको थियो।
पहिलो लकडाउनमा धेरै मान्छेलाई गमलामा बोटबिरूवा रोप्ने रूचि बढेपछि त्यसलाई सजाउन 'प्लान्ट ह्यांगर' किन्न थाले। यसैबीच सृष्टि र सृजनाले पनि आफ्ना सामानको प्रचार गरेका हुन्।
व्यापार राम्रो हुँदै गएपछि उनीहरूलाई बोटबिरूवा बेच्ने पसलहरूबाट पनि अर्डर आउन थाल्यो। अहिले इन्टेरियर डिजाइनरहरूले पनि मगाइरहेका छन्। विशेषगरी म्याक्रेम लेस्डका उत्पादन किन्ने ग्राहक बीस वर्षदेखि चालीस वर्षसम्मका भएको सृष्टिले बताइन्।
सृष्टि र सृजनालाई धागो पाउन पनि समस्या भएको थियो।
'म्याक्रेमको धागो बजारमा कमै पाइने रहेछ। हामी दुई-तीन दिनसम्म ठमेलमा धागो खोज्न हिँड्यौं,' २३ वर्षीया सृजनाले भनिन्, 'पछि क्षेत्रपाटीतिर बल्ल पाइयो। तर लकडाउनले गर्दा सामान नआएकाले धेरै किन्न सकेनौं।'
उनीहरूले आफ्ना घरमै भएका सामान र धागो प्रयोग गरेर पाँच हजार रूपैयाँ लगानीमा यो व्यवसाय सुरू गरेका हुन्। अर्डर अनुसार काम गर्न पाउँदा सृष्टि र सृजना दुवै खुसी छन्। कुनै महिना अर्डर धेरै आउँछ, कहिले कम। आफ्नै व्यवसाय भएपछि जागिर खाएजस्तो हरेक महिना हातमा पैसा आउने आशा अहिले उनीहरूले राखेका छैनन्।
व्यवसाय सुरू गरेको एक वर्ष अवधिमा उनीहरूले ६० हजारभन्दा बढी कमाइसकेका छन्। केही समयअघि मात्रै उनीहरूले उत्पादनहरू अस्ट्रेलिया पठाएका थिए। अमेरिका र फिनल्यान्डमा पनि नमूना पठाएका छन्। हाल निषेधाज्ञाले भने व्यापार रोकिएको छ।
'ग्राहकहरूले अर्डर दिइरहेका छन्। सवारीसाधन चलाउन नमिल्ने भएकाले डेलिभरी मात्र रोकिएको हो,' सृष्टिले भनिन्, 'सामान बेच्न नपाए पनि हामी सामाजिक सञ्जालमा ग्राहकसँग अन्तर्क्रिया गरिरहेका छौं।'
उनीहरूले सामान र अर्डर संख्याका आधारमा डेलिभरी ढिलो-छिटो गर्छन्। धेरै 'कस्टमाइज्ड' सामानको अर्डर छ भने एक हप्तापछि डेलिभरी गर्छन्। ग्राहकले उनीहरूको सूचीमै भएकै सामान मागे दुई-तीन दिनमै पाउँछन्।
म्याक्रेम लेस्डका प्रायः डिजाइन सृजना र सृष्टिले इन्टरनेटबाट खोजेरै बनाउने हुन्। सृजना आर्किटेक्ट विद्यार्थी भएकाले डिजाइनको नाप कसरी लिने भन्ने ज्ञान उनलाई बढी छ। काम भने दुवैले बाँडेर गर्छन्।
'हामी अरू बेला आफ्नो पढाइ र अन्य काममा व्यस्त हुन्थ्यौं। म्याक्रेम लेस्ड सुरू गरेपछि एकअर्कालाई समय दिन पाएका छौं,' सृजना भन्छिन्, 'काम गर्दा कहिलेकाहीँ कुरा नमिल्नु स्वभाविक हो। तर यसले हाम्रो सम्बन्ध अझ नजिक भएको छ। मेरो पढाइ छ भने काम दिदीले हेर्नुहुन्छ र उहाँले नभ्याउँदा म हेर्छु।'
कामसँगै व्यवसायबाट आएको कमाइ पनि दुवै मिलेर बाँडफाँट गर्छन्। आम्दानी राम्रो भएका बेला उनीहरूले केही रकम सामाजिक कार्यमा सहयोग गरेको पनि उनीहरूको भनाइ छ।
'हामीलाई व्यवसाय फाइदाका लागि मात्र चलाउनु छैन। यसबाट आउने केही पैसा सहयोगमा दिइरहने छौं,' सृष्टिले भनिन्, 'उत्पादन बढ्दै गएपछि गृहिणी महिलालाई आबद्ध गराएर रोजगार अवसर दिने योजना छ।'
सृष्टि र सृजनाका आमाबुवालाई उनीहरूले पढाइ र करिअरमा ध्यान नदेलान् कि भन्ने चिन्ता छ। तर म्याक्रेम लेस्डको सफलता र छोरीहरूले रूचिको काममा गरेको मेहनत देखेर खुसी छन्।
त्यसैले जयना दिदीबहिनी म्याक्रेम लेस्डका उत्पादनसँगै यसको भविष्य पनि बुनिरहेका छन्। व्यवसाय बढाउँदै पढाइ र काम पनि अगाडि लैजाने कोशिस गरिरहेको सृजना बताउँछिन्।
'हामी भर्खरै व्यवसाय क्षेत्रमा छिरेका छौं। धेरै सिक्न बाँकी छ,' उनले भनिन्।
(म्याक्रेम लेस्डलाई यसको आधिकारिक वेबसाइट, फेसबुक, इन्स्टाग्राम वा ९८०८२३८०४३ मा सम्पर्क गर्न सकिन्छ।)