बानेश्वरको व्यस्त सडक, गाडीहरूको घन्चमन्च र मान्छेको भिडभाड। यी सबैबाट पन्छिएर केही बेर आनन्दले खाजा खान र एक कप चिया पिउन पनि पैसा राम्रै खर्चिन तयार हुनुपर्छ।
यही समस्या देखेर निर्माता तथा नायक संजोग कोइरालाले एक वर्षअघि 'चिया अड्डा' सञ्चालनमा ल्याएका छन्।
संजोगले कलाकारहरू वर्षा राउत, दिपाश्री निरौला र दीपकराज गिरीको सहकार्यमा चिया अड्डा सुरू गरेका हुन्। यहाँको कामकाज भने विशेषगरी संजोगले सम्हाल्छन्।
बानेश्वर चोकबाट शंखमुल जाने बाटो अघि बढ्दा बायाँतिर पर्छ, चिया अड्डा।
अग्लो भवनबाहिर ठूलो बोर्डमा लेखिएको यसको नामले आउजाउ गर्ने मान्छेको ध्यान तान्छ।
अझ अड्डा शब्दले युवा पुस्तालाई आकर्षित गर्ने नै भयो।
दिन सुरू हुँदै गर्दा कलेज छुट्टिपछि विद्यार्थीको हुल र युवायुवतीको जमघट यहाँ बाक्लिन थाल्छ। व्यस्त क्षेत्रलाई चिया अड्डाले 'चिलिङ स्पट' मा परिवर्तन गरिदिएको छ। र, यो संजोगको आफ्नै व्यापार रणनीति हो।
'बानेश्वरमा कलेज र बैंक धेरै छन्। तर खाजा खान वा एकछिन ब्रेक लिनुपरे महँगा रेस्टुरेन्ट जानुपर्छ,' संजोग भन्छन्, 'त्यसैले सबैले आफ्नो बजेटअनुसार खर्च गर्न सकून् भन्ने उद्देश्यले खोलिएको हो। यहाँ विद्यार्थीदेखि ठूला पदका कर्मचारीसम्मलाई समायोजन गरेर उपयुक्त हुने वातावरण बनाइएको छ।'
हुन पनि 'चिया अड्डा' पुग्दा विद्यार्थी नै बढी देखिन्थे।
फिल्म क्षेत्रमा आफ्नो नाम चिनाउन सफल संजोगको यो पहिलो व्यवसाय भने होइन। यसअघि इन्टेरियर र कन्स्ट्रक्सन कम्पनी, 'ह्यासट्याग' लाउन्ज, आइसक्रिम लाइभ जस्ता व्यवसायमा हात हालिसकेका छन्। यीमध्ये आफ्नो जीवनसँग नजिक भने 'चिया अड्डा' भएको उनी बताउँछन्।
व्यवसाय र फिल्ममा जमेका संजोगको जीवन एकै क्षेत्रमा स्थिर रहेन। यी दुई क्षेत्र पनि उनको पढाइभन्दा धेरै फरक हुन्।
काठमाडौंमै उच्च शिक्षा पूरा गरेका संजोग 'सिए' पढ्न भारत पुगे। भारतमा पढाइ सकेलगत्तै कामको खोजीमा थिए। उनका अनुसार, त्यहाँ राम्रो तलबसहित जागिर प्रस्ताव आएको थियो। तर, उनले मानेनन्।
संजोग भन्छन्, '४३ हजारको जागिर पाएको थिएँ भारतमा। मलाई भने आफ्नै देश आउनु थियो। यहाँ आफ्नो विषयको जागिर खोज्दा १५ हजार तलब पाउने भएँ। फेरि आमाको मैले फिल्म खेलूँ भन्ने इच्छा थियो। फिल्म नखेलेसम्म घरभित्र छिर्न दिन्नँ भनिरहनुभयो।'
नेपाल आएर उनले एक वर्ष फिल्म कक्षा लिए। आफ्नो पहिलो फिल्म 'उत्सव' बनाए। उनको फिल्म र नायक श्रीकृष्ण श्रेष्ठको 'कोहिनुर' सँगै रिलिज भयो। संजोगका अनुसार उनको फिल्म चलेन, घाटामा गयो।
'जुन उमेरमा साथीहरू डाक्टर, इञ्जिनियर भइसकेका थिए वा व्यवसाय सुरू गरिरहेका थिए, म भने अलमलमा थिएँ,' उनी भन्छन्, 'त्यही बेला एक साथीले इन्टेरियर डिजाइनको आइडिया दियो। विस्तारै अन्य व्यवसायमा हात बढाउन थालेँ। व्यवसायमा लाग्छु भनेर आएको होइन, परिस्थितिले आइपुगेको हुँ।'
दुई-तीन क्षेत्रमा संलग्न भइसक्दा संजोग व्यवसायतिरै घोत्लिसकेका थिए। जहाँ जाँदा पनि नयाँ व्यवसायको आइडिया खोजिरहन थाले। यो क्रम रोकिएको छैन।
'म कतै जाँदा पनि नयाँ व्यवसायबारे सोचिरहेको हुन्छु। वर्षाले पनि 'तिमी घुम्न आएको होइन, कामका लागि अनुसन्धान गर्न आएको' भन्छिन्,' उनले हाँस्दै भने। वर्षा र संजोगले एक वर्षअघि बिहे गरेका हुन्।
संजोग तीन वर्षअघि दुबई घुम्न गएका थिए। त्यहाँ उनले 'फिल्ली' नामको क्याफे देखे। त्यहाँ आउने मान्छेको चियाप्रति मोह देखे। आफूलाई पनि चिया मनपर्ने हुनाले चियासँग जोडिएका पुराना क्षण याद गरे।
'म कफीभन्दा चिया नै रुचाउँछु। भारत हुँदा चिया खानै भनेर साथीहरूसँग राति एक-दुई घन्टाको बाटो हुँदै पुनाबाट लोनाभ्ला पुग्थेँ,' आफ्ना विगतका दिन सम्झिँदै संजोगले भने, 'चिया भनेको एकोहोरो जिन्दगीबाट बाहिर निस्किन खाने हो। कामको बीचमा साथीहरूसँग बसेर चिया खाँदा छुट्टै अनुभव हुन्छ।'
उनले हाँस्दै थपे, 'म चिया मिठो बनाउँदिनँ तर महँगो तिरेर भए पनि खान्छु। चिया खान खप्पिस भएर होला, चिया मिठो, नमिठो थाहा पाउँछु।'
साथीसँग 'अड्डा' मा बसेर गफिँदै पिएको मिठो चियाको झझल्कोले संजोगलाई पुराना दिनको सम्झना अझ विशेष बनाउन मन लाग्यो। उनले 'फिल्ली' को शाखा नेपाल भित्र्याउनेबारे सोचे। धेरै महँगो हुने भएकाले बरू यस्तै केही नेपालमा खोल्ने योजना बनाए।
यही योजनाले 'चिया अड्डा' को जन्म भयो।
संजोग भन्छन्, 'चिया अड्डा नाम सबैलाई झट्ट सुन्दा राम्रो लागोस् भनेर राखेको। फेरि प्रायः हामी चिया भन्नेबित्तिकै लोकल ठाउँ वा अड्डा नै सम्झन्छौं नि। चिया मिठो पनि त्यस्तै ठाउँको हुन्छ।'
चिया अड्डामा विभिन्नथरि चिया पाइन्छन्। चर्चित भने 'मट्का कटिङ' हो। भारत बस्दा त्यहाँको 'कटिङ' चियाबाट प्रभावित उनले यहाँ पनि भित्र्याएको बताउँछन्।
मट्का कटिङ चिया माटोको सानो कपमा खाइन्छ।
चिया अड्डा ६० लाख रूपैयाँ लगानीमा सञ्चालन भएको जानकारी दिँदै उनी भन्छन्, 'सुरूमा नचल्ने डरले सानो ठाउँमा मात्र खोलेका थियौं। तर मान्छेको भिडले एक महिनामै ठाउँ बढाउनुपर्यो।'
चियाबाहेक यहाँ पिङका कारण पनि युवा आकर्षित हुन्छन्। झुल्दै चिया पिउनुको मज्जै बेग्लै!
चिया अड्डा डिजाइन क्रममै पिङको आइडिया फुराएको उनी बताउँछन्। अहिले त्यो यहाँको मुख्य सुन्दरता बनेको छ। भविष्यमा जहाँ चिया अड्डा बन्छ, त्यहाँ पिङ हुनेछ।
आगामी दुई-तीन वर्षमा दसवटा चिया अड्डा खोल्ने सोच छ उनको। उनी पसलमा धेरै देखिँदैनन् र एकै काममा मात्र घोत्लिनुपर्छ भन्ने पनि मान्दैनन्। त्यसैले आफ्ना कर्मचारीलाई सबै जिम्मा दिएका छन्।
युवापुस्ता र उद्यमीलाई बढी प्राथमिकता दिनुपर्ने धारणा राख्छन् संजोग। त्यसैले अब कलेजका विद्यार्थीलाई पनि 'पार्ट टाइम' कामको अवसर दिने सोच बनाइरहेका छन्।
'व्यवसायमा सफल हुन मेहनती हुनुपर्छ तर एक्लैले सबै काम सकिँदैन,' उनी भन्छन्, 'आफूसँगै कर्मचारीलाई पनि बढावा दिँदै लाने हो भने असफल भइँदैन। व्यवसायमा म यही 'निन्जा टेक्निक' प्रयोग गर्छु।'
उद्यमी बन्न उनी सुझाव पनि दिन्छन्- पहिलो चाल चलिहाल्नुपर्छ। कुरा गरेर वा सोचेर मात्र हुन्न। गाह्रो-सजिलो, हुने-नहुने त गरेपछि थाहा हुन्छ। गन्तव्यसम्म पुग्न मोडिएको बाटो खाल्डाखुल्डी सबै झेल्दै अघि बढ्छ।
(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७६, फागुन ३० गते प्रकाशित थियो)