सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
सयूज लाल श्रेष्ठ अस्ट्रेलिया बस्छन्। उतै सानो व्यवसाय गरेर बसिरहेका उनलाई नेपालमा व्यवसाय सुरू गर्ने सोच आयो। अनि विदेशमा पाइने उत्पादनहरू नेपाल भित्र्याउने योजना बनाए।
उनले अस्ट्रेलियाको बजारमा साँच्चैका फूलहरूमा रसायन मिसाएर बनेका मोबाइलका खोल, एस्ट्रे, किरिङ र अन्य आकर्षक सामान देखेका थिए। नेपाल हुँदा यी सामान उनले पाएका थिएनन्। त्यसैले यहाँका ग्राहकले रूचाऊलान् भन्ठाने।
यो चार वर्षअघिको कुरा हो।
सुरूमा उनले आफैं फूलबाट त्यस्तै उत्पादन बनाउन खोजे। प्रयास असफल भयो। उनले बुझे- यसनिम्ति उपयुक्त मेसिन र दक्ष कर्मचारी चाहिन्छ।
यी दुवै कुरा यो काम गरिरहेकै ठाउँमा उपलब्ध हुन्थ्यो। यसबारे बुझ्दै जाँदा थाहा भयो, हङकङमा उत्पादन गर्दा सहज हुन्छ।
आफूले खोजेजस्तो उत्पादक भेटेपछि उनले सामान बेच्न अनलाइन ब्रान्ड खोले- खरायो।
२८ वर्षीय सयूजले सन् २०१८ मा अस्ट्रेलियामै बसेर स्थापना गरेका हुन् खरायो। यसमा फूलहरू हालेर बनाइएका किरिङ, मोबाइलको खोल (फोन-केस), मोबाइल पछाडि टाँस्ने पप-सकेट, झुम्का, नेकलेस लगायत खित्रिङमित्रिङ सामान पाइन्छ।
'त्यतिबेला नेपालमा अनलाइन व्यवसाय फस्टाउँदै थियो। साथीहरूलाई सोधेँ, अनलाइनबाट सामान मगाउँदा ढिलो डेलिभरी गर्छ भनेर सुनाए,' सयूजले भने, 'मलाई राम्रो सामान छिटो डेलिभरी गर्ने सेवा सुरू गर्न मन थियो।'
छिटो सेवा दिने ब्रान्डको नाम खरायो!
सयूजले पाँच लाख रूपैयाँ लगानीमा खरायो सुरू गरेका हुन्। यहाँ पाइने सबै सामान हङकङमा उत्पादन भएर आउँछ। पहिले त उनलाई नेपालीले यी सामान मन पराउछँन् कि पराउँदैनन् भन्ने अलमल थियो। त्यसैले खरायोको इन्स्टाग्राम पेजमा सामानका फोटा पोस्ट गर्दै अग्रिम अर्डर लिन थाले।
यहाँका धेरै ग्राहकले उत्पादन मन पराए। अर्डर राम्ररी आउन थाल्यो। अनि विदेशमै बसेर उनले आफ्नो व्यवसाय चलाउन सके। अहिले पनि उनी सबै काम उतैबाट सम्हालिरहेका छन्। नेपालमा भने सामान हेर्ने, अर्डर लिने र डेलिभरीको काम खरायोका कर्मचारीले गर्छन्।
खरायोको सबभन्दा बढी बिक्री हुने सामान फोन-केस हो। यसको मूल्य नौ सयदेखि एक हजार दुई सय रूपैयाँसम्म पर्छ। यी उत्पादन बजारमा पाइनेभन्दा केही महँगो भए पनि गुणस्तर राम्रो र आकर्षक भएको उनको भनाइ छ।
व्यवसाय क्षेत्रमा भिज्दै गएका सयूजले यही विषय पढेका भने होइनन्। उनी इन्फरमेसन-टेक्नोलोजी (आइटी) पढ्न अस्ट्रेलिया गएका थिए। स्नातक पूरा गरिसकेपछि केही समय आइटी क्षेत्रमै जागिर खाए। उनी त्यसमा रम्न सकेनन्। जीवनमा केही नपुगेजस्तो महशुस गरिरहे।
अनि जागिर छाडेर व्यवसायमा लागेपछि बल्ल आफ्नो रूचिको काम गरेझैं भयो। तर विदेशको व्यवसायले मात्र मन भरिएन।
'अस्ट्रेलियामा व्यवसाय गर्दा कमाइ राम्रै थियो। काममा खुसी पनि थिएँ,' उनले भने, 'तर विदेशमा जति व्यवसाय गरे पनि आफ्नै देशमा केही गर्न मनलाग्दो रहेछ।'
नेपालमा व्यवसायको निधो गरे पनि सुरूमा यहाँको बजार र उत्पादनबारे धेरै ज्ञान थिएन उनलाई। त्यसैले उत्पादन धेरै बिक्री हुन्थेन। तर व्यवसाय नै उनको मनपर्ने क्षेत्र भएकाले पछि नहटेको बताउँछन्।
सुरूआती समयमा आफूले बजार बुझ्ने चुनौती त थियो नै, उनी आफैंले घरमा बुझाउने चुनौती पनि खडा भयो। आइटी पढेर विदेशमा राम्रो जागिर खाइरहेको छोराले नेपालमा सानो व्यवसाय सुरू गर्दा परिवारलाई चित्त बुझेन। सयूजले बुझाउन कोशिस गरे, सकेनन्।
'आमाबुवालाई साना व्यवसायको आइडिया नभएकाले उहाँहरूले सुरूमा चित्त बुझाउनुभएन,' उनी भन्छन्, 'भनेर मात्र बुझाउन गाह्रो हुने भएकाले मैले बरू काम गरेरै बुझाउन खोजेँ। खरायोले बजारमा ठाउँ लिन थालेपछि बल्ल बुझ्नुभयो।'
सयूज बेलाबेलामा नेपाल आउँथे, आउँछन्। आएका बेला खरायोको व्यवस्थापन मिलाएर फर्किन्थे। गत वर्ष उनी दाजुको बिहेका लागि केही दिन बिदा मिलाएर आएका थिए। केही दिन भनेको, लकडाउनले अड्किए।
लकडाउनमा खाली बसिरहँदा सयूजलाई छटपटी भयो। केही काम गरूँ भन्ने हुटहुटी जाग्यो। त्यही बेला उनकी भाउजू प्रियंका प्रधानले घरमा बेकरी परिकार बनाइरहेकी थिइन्। खाली समयमा प्रियंकाले दिनैजसो नयाँ परिकार बनाउन सिक्दै थिइन्। उनको मेहनत र सीपलाई सयूजले व्यवसायमा रुपान्तरण गर्ने सोच बनाए।
अनि सुरू भयो भाउजू-देवरको सहकार्यमा 'खरायो बेक्स'।
खरायो बेक्समा ब्राउनी, ट्रफल, चकलेट स्ल्याब, चोकोबल, प्रोटिन बार जस्ता बेकरी परिकार पाइन्छ। यी सबै परिकार प्रियंकाले आफैं बनाउँछिन्। सयूजले भने यसको मार्केटिङ हेर्छन्।
भाउजू-देवर मिलेर यो ब्रान्ड पनि अहिले राम्ररी चलाइरहेका छन्।
सयूजजस्तै प्रियंकाले काम गर्ने क्षेत्र उनको पढाइको विषयसँग मिल्दैन। २९ वर्षीया प्रियंकाले बैकिङ र बीमा विषयमा स्नातक गरेकी हुन्। उनको मन भने सानैदेखि बेकरीमा थियो। कामका कारण कहिल्यै यसमा ध्यान दिन सकेकी थिइनन्।
'दस वर्षअगाडि होटल व्यवसाय र कुलिनरी आर्ट्स विषयलाई उति राम्रो मानिन्थेन। यो क्षेत्रमा कमाइ राम्रो नहुने सोच थियो,' प्रियंकाले भनिन्, 'त्यसबेला बैकिङ र बीमा क्षेत्रलाई बढी मान्यता दिने भएकाले स्थिर भविष्यका लागि यही विषय पढियो। तर म खुसी भइनँ। पढाइ सकिएपछि पनि बैंकमा नभएर अरू नै कम्पनीमा आबद्ध भएँ।'
कम्पनीमा सधैं ९ देखि ५ बजेसम्म काम गर्दा उनले आफ्नो वास्तविक रूचि गुमाइरहेकी थिइन्। राम्रो पैसा कमाइरहे पनि हृदय खुसी थिएन। बाँधिएजस्तो महसुस गर्थिन्। तर लामो समयदेखि गरिरहेको जागिर चट्टै छोड्न पनि सकिरहेकी थिइनन्।
'सानैदेखि घरमा ब्राउनी, केक बनाएर परिवार र साथीहरूलाई खुवाउँथेँ,' उनी भन्छिन्, 'जागिर हुँदा पनि पाँच बजेपछि अफिस सकेर साथीको बेकरी पसलमा काम गरेकी थिएँ। तर दुवै काममा हात हाल्दा धपेडी भएर बेकरीमा निरन्तरता दिन पाइनँ।'
बेकरी व्यवसाय प्रियंकाको 'ड्रिम जब' नै थियो। सुरू गर्न आँट मात्र आएको थिएन। गत वर्ष बिहे भएपछि उनले बेकरीकै काम गर्ने योजना बनाएकी थिइन्। लकडाउनले काम ठप्प भएकै बेला जागिर छाडिन्। बेकरी व्यवसाय सुरू गर्ने योजना भने अलमलमै पर्यो।
काम नभएपछि आम्दानी श्रोत थिएन। खाली समय सदुपयोग गर्दै उनले आफ्नो बेकरीको रूचि ब्युँताइन्। त्यही बेला देवर सयूजले हौसला दिए।
'भाउजूले बेकरी परिकार बनाएर खुवाउँदा निकै खुसी लागेको थियो,' सयूज भन्छन्, 'मैले उहाँलाई दाइसँग बिहे हुनुअघि नै चिन्थेँ र उहाँलाई बेकरीमा रूचि छ भनेर पनि थाहा थियो। लकडाउनमा भाउजूले आफ्नो रूचि पस्किनुभयो र बेकरीलाई व्यवसाय बनायौं।'
खरायो बेक्स सुरू गर्दा प्रियंकाको भर्खरै बिहे भएको थियो। सबै काम गर्न भ्याइनभ्याइ हुन्थ्यो। त्यसैले उनको काममा सयूजले सघाउँथे। ग्राहकका निम्ति अझ राम्रो र मिठो बनाउनुपर्ने भएकाले उनीहरू दिनरात यसैमा लागिरहन्थे।
प्रियंका भन्छन्, 'सुरूमा हामी राति दुई बजेसम्म ब्राउनी बनाएर बस्थ्यौं। बनाएर सयूजलाई चखाउँथे। उसले राम्रो छ भनेपछि बल्ल फाइनल गर्थ्यौं।'
परिकार बनाउँदा स्वाद तलमाथि हुन्थ्यो। तर प्रियंका दुःखी भइनन्।
भन्छिन्, 'पहिलोपटक बेकरी परिकार बनाउँदा १४ वर्षकी थिएँ। घरमा भर्खरै माइक्रोवेब र बेकिङ गर्ने केही भाँडा ल्याएको थियो। टिभीमा केक बनाएको हेरेर बनाउने कोशिश गरेँ। नजानेर जल्यो। तर नरमाइलो लागेन। बरू अर्को पटक अझै राम्रो बनाउँछु भनेर हौसला आयो। हरेक गल्तीले अझ राम्रो बनाउने मौका दिएको महसुस हुन्छ।'
सुरूमा खरायो बेक्सका सबै परिकार प्रियंका आफैंले बनाउँथिन्। अहिले भने सहयोगी राखेकी छन्। सबै खानेकुरा सितापाइलास्थित उनको घरमै बन्छ।
खरायो बेक्सका परिकार पूरा बाकस र आधा बाकस भनेर किन्न पाइन्छ। पूरा बाकसको मूल्य एक हजार तीन सय ६० रूपैयाँ पर्छ भने आधाको सात सय पचास। ग्राहकले खरायो बेक्सको इन्स्टाग्राम र फेसबुक पेजबाट अर्डर गर्न सक्छन्।
प्रियंकाका अनुसार अहिलेसम्म ग्राहकले सबै परिकार मन पराएका छन्। नेपाल बाहिर बस्ने नेपालीले समेत उतैबाट यहाँ बस्ने आफन्तका लागि अर्डर गर्छन्।
'सुरूको केही महिना अर्डर आएको थिएन। पछि धेरै अर्डर आएर सबैका लागि बनाउनै नभ्याउने स्थिति पनि आयो,' उनले भनिन्, 'पहिलोपटक अर्डर आउँदाको खुसी शब्दमा भन्नै सक्दिनँ। अर्डर आउँछ भन्ने थाहा थियो तर त्यति खुसी भइएला भन्ने सोचेकी थिइनँ।'
दसैं, तिहार, नयाँ वर्ष, आमा-बुवाको मुख हेर्ने दिन जस्ता उत्सवमा बढी अर्डर आउँछ। उनका अनुसार यस्ता चाडपर्वका बेला महिनामा तीन लाख रूपैयाँसम्म कमाइ हुन्छ।
'धेरैलाई बेकरीबाट राम्रो कमाइ हुँदैन जस्तो लाग्छ। तर होइन रहेछ। कोशिश नगरी निर्णय लिन नहुने कुरा थाहा पाएका छौं,' प्रियंका भन्छिन्, 'आफूलाई मनपरेको काममा राम्रो कमाइ हुँदा निकै खुसी छु। पहिले जागिरमा बाँधिएकी थिएँ, अहिले पिँजडाबाट निस्किएको चरीझैं छु।'
खरायो र खरायो बेक्सका उत्पादन 'खरायो डेलिभरी' कम्पनीबाट गरिन्छ। यो पनि सयूजले खरायो कम्पनी अन्तर्गत सञ्चालन गरेका हुन् जुन उनकी श्रीमतीले हेर्छिन्।
'खरायो कम्पनी मात्र होइन, हाम्रो परिवारको हिस्सा भइसक्यो,' सयूज भन्छन्, 'यसबाट सञ्चालन भएको खरायो बेक्स र खरायो डेलिभरीबाट हामीले आफ्ना रूचि पूरा गरेका छौं। रोजगारको अवसर पनि सिर्जना भइरहेको छ।'
खरायो र खरायो बेक्सले भाउजू-देवरको सम्बन्धलाई पनि अझ गाढा बनाएको उनीहरू बताउँछन्। सबै काम बाँडफाँट हुन्छ। खुलेर कामबारे कुराकानी गर्छन्। यसले दुईबीच दिदीभाइजस्तो निकट सम्बन्ध बनेको सयूज बताउँछन्।
'मेरी आफ्नै दिदी हुनुहुन्न। त्यसैले प्रियंका भाउजूलाई दिदी मान्छु र उहाँको हरेक कामलाई सधैं समर्थन गर्नेछु,' सयूज भन्छन्, 'उहाँको सपना पूरा हुँदा खुसी लाग्छ। भविष्यमा हामी मिलेर खरायो र खरायो बेक्सका आउटलेट खोल्ने योजना बुनेका छौं।'
(खरायोको फेसबुक पेज र इन्स्टाग्राम)
(खरायो बेक्सको फेसबुक पेज र इन्स्टाग्राम)