सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
काठमाडौं युनएन पार्कवारि बुद्धनगरमा नयाँ रेल आएको छ।
नझुक्किनुस्, यो तपाईंलाई यात्रामा घुमाउन लैजाने रेल होइन। याे रेलसहितको रेस्टुरेन्ट एन्ड क्याफे 'रेल स्टेसन' हो। यहाँ रेलको डब्बामा बसेर तपाईं खान–पिउन पाउनु हुनेछ।
धेरै नेपालीले रेल हेर्ने र चढ्ने तिर्सना सिनेमा वा सामाजिक सञ्जालबाट बुझाइरहेका छन्। तर देशमा रेलको चर्चा भने राजनीतिदेखि संगीतसम्म भइरहन्छ। रेल स्टेसन नेपालीको रेलप्रतिको यस्तै आकर्षण बुझेका तीन युवाले खोलेको रेस्टुरेन्ट हो।
यहाँ आउने ग्राहकहरू रेलसँगै आफ्नो फोटो-भिडिओ खिच्छन्। अँ, अनि अनिवार्यजस्तै टिकटक, फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा राख्छन् पनि। कतिलाई त रेलै चढेर फर्केको भान पनि हुँदो हो।
रेल स्टेसन सन्धिखर्च, अर्घाखाँचीका तीन युवा सुदन बन्जाडे, जनक क्षत्री र दीपक पौडेलले खोलेका हुन्। तीस वर्ष आसपासका यी तीन बच्चादेखिकै यार हुन्। एउटै स्कुल पढेका उनीहरू २०६४ सालमा एसएलसी दिएपछि काठमाडौं आए।
काठमाडौंमा उनीहरूको मित्रता झनै झाँगियो। क्याम्पस सँगै पढेका उनीहरूको काम गर्ने क्षेत्र पनि उही भयो। बियर र रक्सीको मार्केटिङमा तीन-चार वर्ष काम गरेका उनीहरू पछि रेस्टुरेन्ट व्यवसायतिर आकर्षित भए।
मन त मिल्थ्यो नै, सोच पनि मिलेपछि उनीहरूले अरूभन्दा अलि फरक खालको रेस्टुरेन्ट खोल्ने निर्णय गरे।
सुदनका अनुसार तीन साथीबीच चियागफमा अक्सर व्यवसाय योजनाका कुरा हुन्थे। योजना बुनेको महिनौं भइसकेको थियो। करिब नौ महिनाअघि सुदनको ग्वार्कोस्थित कोठामा उनीहरू रेस्टुरेन्ट खोल्ने टुंगोमा पुगेका हुन्।
अनि खुलेको हो रेल स्टेसन।
यहाँ रेलका तीन वटा डब्बा छन्। प्रत्येक डब्बाभित्र एउटा टेबल र वारिपारि बस्ने मेच। ढोका खुला राखिएको डब्बामा दुई साना झ्याल र फुच्चे पंखा पनि छ।
डब्बाबाहेक दुई तले रेस्टुरेन्टको तल रिसेप्सन र भान्साकोठा छ। माथि ग्राहक बसेर खाने ठाउँ छ। तर यहाँ आउनेलाई मुख्य आकर्षण रेलको डब्बा नै हो।
उनीहरूले सुरूमा रेलको साटो ठूल्ठूला बसमा बसेर खान मिल्ने रेस्टुरेन्ट खोल्ने सोचेका थिए।
'तर सोचेजस्तो सजिलो भएन। बस छाडेर रेलतिर लाग्यौं,' दीपकले भने।
रेल स्टेसन पनि उनीहरूले सोचेजसरी खुलेको भने होइन। अहिले पाँच आना जग्गामा चलिरहेको रेस्टुरेन्ट उनीहरू यसको झन्डै दोब्बर जग्गा भाडा लिएर सञ्चालन गर्न चाहन्थे। सोचअनुसार जग्गा धेरै भएको भए रेलका डब्बा अझ धेरै हुन्थे। लामो र घुमेको रेलभित्रै भान्सा कोठा पनि हुने थियो।
जनकले भने, 'सोचजति जग्गा नमिलेका कारण खुम्चिएर बनाउनुपर्यो।'
रेलमा बाहिर फलामको जस्ता र प्लाइ हालिएको छ। यसको भित्रपट्टीका भित्ता सिमेन्टले प्लास्टर गरिएको छ। कालो, नीलो, रातो र सेतो रङले रंगाइएको छ। काल्पनिक नै भए पनि यो नेपाली रेल हो। त्यसैले यसमा नेपाली झन्डामा अंकित चन्द्र–सूर्यको डिजाइन पनि देख्न सकिन्छ।
रेललाई वास्तविक देखाउन आफूहरूले महिनौं काम गरेको सञ्चालकहरूको दाबी छ। रेल बनाउन मात्र पाँच लाख खर्च लागेको उनीहरूले बताए।
यी तीन साथीले रेल स्टेसन बनाउने निर्णय गरेपछि सबभन्दा पहिलो चुनौती कस्तो रेल बनाउने भन्ने भएको रहेछ। वास्तविक रेलमै बसेको जस्तो अनुभव गराउन रेलबारे जानकारी हुनै पर्यो।
तर तीनमध्ये दीपकसँग मात्र मज्जाले रेल चढेको अनुभव थियो। अरू दुई साथी एकाध पटक मात्र चढेका थिए। रोचक कुरा, रेल बनाउने ठेकेदारले त झन् रेल भनेको फोटोमा मात्र देखेका थिए।
सुदनले भने, 'रेलबारे जानकारी कम हुँदा पनि बनाउन समय लाग्यो। गुगलको सहयोग लिएर काट्दै छाँट्दै रेल तयार गरेका हौं।'
जे होस्, दुःखम् सुखम् रेल बनिसकेको छ।
रेल बनाउनुअघि उनीहरूलाई भनेजस्तै ठाउँ खोज्न पनि छ महिनाजति लागेको रहेछ। समय लागे पनि 'चियावाला', 'मकैघर' जस्ता रेस्टुरेन्ट भएको बागमती कोरिडोरमा ठाउँ पाउनुलाई उनीहरू 'प्लस प्वाइन्ट' मान्छन्।
उनीहरूलाई थाहा छ, भर्खरै बनेको रेल स्टेसन अगाडिको पीच बाटोबाट थापाथली चोक निस्किने यात्रीले ढिलो-चाँडो रेल देखेर एकैछिन भए पनि टक्क अडिने छन्।
सुदनले भने, 'हामीले भर्खरै फेसबुक र इन्स्टाग्राम पेज खोलेका छौं। तर पेज खुल्नु अघिदेखि नै मौखिक प्रचारबाट ग्राहकहरू आइरहनुभएको छ।'
नजिक वा टाढाबाट आएका सबैजसो ग्राहक बुद्धनगरमा रेल छ रे भन्ने सुनेर आएको उनी बताउँछन्।
'अलि ठूलो रेल भनेको सानै रहेछ।'
'हेर्ने र फोटो खिच्ने रेल होला भनेको बसेरै खान मिल्ने रेल रहेछ।'
आएका ग्राहक यस्तै प्रतिक्रिया दिएर जान्छन्। रेल सानो लागोस् वा ठूलो, उनीहरू फोटो वा भिडिओ खिच्न भने छुटाउँदैनन्। तिनै फोटा सामाजिक सञ्जालमा देखेर यहाँ आउनेको संख्या निरन्तर बढिरहेको छ।
सहरिया जीवनशैली निरन्तर फेरिने कुरा हो, फेरिइरहेको छ। सहरको दैनिकीमा रेस्टुरेन्ट र खाना अनिवार्य हिस्सा हुन्। समयसँगै हाम्रा स्वाद र रोजाइ फेरिइरहेका छन्। पहिला रेस्टुरेन्टभित्र बस्ने मानिस अचेल खुला ठाउँमा बसेर खान रूचाउने भएका छन्।
आफूले खान गएको रेस्टुरेन्ट र खाएका खाना पहिला हाम्रा कोठाभित्रका एल्बममा हुन्थे। अचेल सामाजिक सञ्जालमा राख्नु नयाँ फेसन बनिसकेको छ। अझ, सामाजिक सञ्जालमा फोटा-भिडिओ राख्नकै लागि अरूभन्दा पृथक लाग्ने रेस्टुरेन्ट रोजाइमा पर्न थालेका छन्। रेल स्टेसनका साहुजीहरूलाई यो थाहा छ।
मुख्य आकर्षण रेलबाहेक धमिलै भए पनि अगाडि बग्ने बागमती, युएन पार्कको हरियाली र खानेकुराको स्वादले पनि बिस्तारै ग्राहक बढाउने आशा राख्छन् सञ्चालकहरू। यही विश्वासले उनीहरू यसको थप दुई आउटलेट खोल्ने तयारीमा लागिसकेका छन्।
सुदनले भने, 'एकदेखि डेढ वर्षभित्र काठमाडौंमा एउटा र बुटवलमा आउटलेट खोल्ने योजना छ।'
यसो हेर्दा लाग्छ, रेल स्टेसनभित्रको रेलको न लिक छ न यो गुड्छ। तर यसका सञ्चालकहरूको सपना भने यस्तो छ– रेल स्टेसन यस्तो ब्रान्ड बनोस् जुन देशभर कुदोस्।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)