गितार भलै नेपाली मौलिक बाजा नहोस्, जुनै पुस्ताका मान्छेलाई यसबारे थाहा छ।
बजाउने, सुन्नेदेखि नसुन्नेकै लागि यो नौलो होइन।
हाम्रो परम्परागत र मौलिक संगीतमा घुसिसके पनि गितारको बजारमा नेपाली कम्पनी भित्रिन सकेको छैन।
यही कमी महसुस गर्दै काठमाडौं बस्ने शर्मा परिवारले 'मन्त्र' ब्रान्डको गितार बजारमा ल्याएको छ।
नेपालमै डिजाइन भएको, नेपालीपन झल्काउने गितार ब्रान्ड मन्त्र सन् २०१७ देखि सुरू भएको हो।
पवन शर्मा र उनका दुई छोराहरू रविन र अनुपले मिलेर यो ब्रान्ड बनाएका हुन्।
'नेपाली कलाकारलाई राम्रो, सस्तो र भरपर्दो गितार प्रदान गर्ने हाम्रो उद्देश्य हो,' मन्त्र गितारका सहसंस्थापक रविनले भने, 'नेपालीपन भएको गितार बनाएर अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने हाम्रो सपना हो।'
मन्त्रले सिकारूदेखि व्यावसायिक कलाकारसम्मका लागि बेग्लाबेग्लै मोडल र विशेषताका गितार बजारमा ल्याएको छ।
सिकारूका लागि ६ हजार ५ सय रूपैयाँ पर्ने 'कर्म मोडल' पाइन्छ। व्यावसायिक कलाकारका लागि २० हजार पर्ने 'मोक्ष मोडल' उपलब्ध छ।
यसबाहेक यहाँ अवतार, प्रकृति, अस्तित्व, मुक्ति मोडलका गितार पनि पाइन्छन्। यिनीहरूको मूल्य काठ र त्यसमा प्रयोग भएका सामग्रीका आधारमा तोकिएको रविन बताउँछन्।
यी गितार यसको आधिकारिक बिक्रेता 'गितार सप' मा किन्न पाइन्छ।
मन्त्र ब्रान्ड अन्तर्गत सारंगी, युकेलिली, इलेक्ट्रिक गितार, पिक, गितार ब्यागजस्ता अरू वाद्यवादन र त्यसमा आवश्यक सामानहरू पनि उत्पादन गर्दै आएको छ। संगीतमा रूचि भएका कलाकारलाई प्रोत्साहन गर्न मन्त्रले 'मन्त्र गितार कोष' पनि स्थापना गरेको छ।
'कोषमा संकलन भएको रकमबाट हामीले क्षमतावान कलाकारलाई उनीहरूको सांगीतिक क्षेत्र उत्थान गर्न प्रयोग गर्छौं,' उनले भने, 'मन्त्र गितारका उत्पादन मात्र नभएर नेपाली कलाकारलाई पनि देशविदेश पुर्याउने अठोट हाम्रो हो।'
मन्त्र गितारका सहसंस्थापक रविन शर्मासँगको कुराकानी हेर्नुहोस् भिडिओमाः