पप्सिकल; आजभोलि केटाकेटीदेखि नयाँ युवा पुस्ताले खुबै रूचाएको पाइन्छ। बरफ वा कुल्फी खाँदै हुर्केका अघिल्लो पुस्तालाई पनि यसले बालापनको यादमा भुलाएको देखिन्छ।
हेर्दा कुल्फी/बरफ जस्तै देखिए पनि यो केही फरक हुन्छ। बनाउने तरिका पनि अलि बेग्लै छ। यसका बारेमा हामी तल चर्चा गर्नेछौं।
काठमाडौंका बजारमा कृत्रिम स्वाद (फ्लेभर) हालेर बनाइएका पप्सिकल पाउन कुनै मुश्किल छैन। ताजा फलफूल वा दहीदूधबाटै बनेको हो भनेर ढुक्क भएर किन्न भने कठिन नै छ।
खाद्यपदार्थजस्तो संवदेनशील कुरा र स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने भएकाले ग्राहकको यो समस्या समाधान गर्न तम्सेको छ काठमाडौंको 'स्वीट फिक्स'।
स्वीट फिक्सले कुनै कृत्रिम स्वाद नमिसाइ ताजा फलफूल र दहीदूधबाट पप्सिकल बनाउने कम्पनीकी सञ्चालक कृतिका लम्साल बताउँछिन्।
'हामी मौसमी फलफूलबाट पप्सिकल बनाउँछौं। यो बरफ, कुल्फी वा आइसक्रिमभन्दा फरक हुन्छ,' कृतिकाले भनिन्, 'हामी नेपाली बजारमा पप्सिकल चिनाउँदै छौं। यसलाई छोटोमा पप्स भनिन्छ।'
उनका अनुसार पप्सिकल बरफ वा कुल्फी जस्तो स्वाद मिसाइएको पानी जमाएर बनाइने होइन। यो आइसक्रिम जस्तो क्रिमयुक्त पनि हुँदैन। पप्सिकल बनाउन दूध वा दहीसँग ताजा फलफूल पेलेर स्मुदी बनाइन्छ। स्मुदी चिसोमा राखेर बार बनाइन्छ। अनि पप्सिकल खानका निम्ति तयार हुन्छ। पप्सिकल खाँदा फलफूलको पूर्ण स्वाद पाइन्छ। अन्तिमसम्म स्वाद समान हुन्छ।
स्वीट फिक्सले पप्सिकल बनाउन थालेको चार वर्ष भयो। हाल मौसमी फलफूलहरू आँप, सुन्तला, स्ट्रबेरी, खर्वुजा, किवी, अम्बा, किम्बु, भुइँकटहर लगायत फलफूलका ६० भन्दा बढी स्वादमा पप्सिकल बनाइरहेको छ।
मौसमी फलफूलबाट बनाउने भएकाले स्वीट फिक्समा समयअनुसार फरक स्वादमा पप्सिकल उपलब्ध हुन्छ। जस्तै जाडो मौसममा सुन्तला, किवी, भुइँकटहरको बन्छ। एक मौसममा १० देखि १५ स्वादको पप्सिकल तयार हुने उनले जानकारी दिइन्।
स्वीट फिक्सले हाल दैनिक एक हजार वटासम्म पप्सिकल बनाइरहेको छ। स्वादअनुसार मूल्य एक सयदेखि दुई सय रूपैयाँसम्म पर्छ।
यो परिमाण बजारको मागअनुसार पर्याप्त नरहेको स्वीट फिक्सकी अर्की सञ्चालक श्रेया उपाध्यायको भनाइ छ।
'बजारको मागभन्दा हाम्रो उत्पादन क्षमता कम छ,' श्रेया भन्छिन्, 'बिस्तारै उत्पादन बढाउने योजना छ।'
स्वीट फिक्सले दैनिक करिब ३० वटा पप्सिकल बनाएर काम थालेको थियो। माग बढ्दै जाँदा उनीहरूले उत्पादन बढाउँदै गए। अहिले माग धान्न हम्मे परेको छ।
काठमाडौं उपत्यकाको चार ठाउँबाट स्वीट फिक्सको पप्सिकल बिक्री हुन्छ। पहिलो पसल काठमाडौंको वसन्तपुरमा थियो। अहिले ललितपुरका मंगलबजार, झम्सिखेल र भैंसेपाटीमा पनि छन्। आफ्ना पसलबाहेक एक दर्जन जति रेस्टुरेन्टमा पप्सिकल पुर्याइरहेको श्रेयाले बताइन्।
कम्पनीमा उत्पादनको जिम्मेवारी कृतिकाले सम्हालेकी छन्। सञ्चालन र व्यवस्थापन श्रेयाको जिम्मामा छ।
२७ वर्षीया कृतिका र श्रेया व्यवसाय साझेदार मात्र होइनन्, मिल्ने साथी पनि हुन्। उनीहरूको पहिलो भेट २०७४ सालमा भएको थियो। त्यस बेला उनीहरू दुवै अमेरिका जान जिआरई परीक्षाको तयारीमा थिए। एउटै कक्षामा पढ्थे। परीक्षाको तयारी गर्न कक्षापछि पनि भेट्थे।
एक दिन उनीहरू घरमा स्मुदी बनाउँदै थिए। निकै गर्मी भएकाले चिसो खान चाहन्थे। स्मुदी फ्रिजमा राखे अनि जमेपछि खाए। यसरी हचुवाको भरमा बनाएको स्मुदी उनीहरूलाई औधि मिठो लाग्यो। त्यसपछि यस्तो स्मुदी चिसोमा जमाएर खाइन्छ कि खाइँदैन भनेर जान्ने उत्सुकता जाग्यो।
इन्टरनेटमा खोजेर हेर्दा विदेशतिर यसै गरी ताजा फलफूलको फ्रुटबार र पप्सिकल चल्तीमा रहेको थाहा पाए। अनि उनीहरू कहिलेकाहीँ पप्सिकल बनाएर खान थाले। विभिन्न फलफूलको बनाउँदै परीक्षण गर्न थाले।
'सक्दो भिन्न र नयाँ स्वादमा पप्सिकल बनायौं। बनाउन रमाइलो भयो, खान मिठो भयो,' श्रेयाले भनिन्, 'यसपछि व्यावसायिक रूपमा काम गर्ने सोच्यौं।'
जिआरई कक्षामा भेटिएका यी दुई साथी निकै मिल्ने भइसकेका थिए। उनीहरू एक पटक बेलायत घुम्न जाने योजनामा पनि थिए। भ्रमणका लागि केही पैसा जम्मा गरेका थिए। अन्ततः भ्रमण रद्द गरेर त्यही पैसाबाट पप्सिकलको व्यवसाय गर्ने निधो गरे।
काम सुरू भएको थिएन। एक दिन वसन्तपुरमा हिँड्दै गर्दा उनीहरूले एउटा सानो खाली सटर देखे। मानिस जम्मा हुने ठिक्कको ठाउँ देखेपछि आफ्ना लागि उपयुक्त हुने ठानेर भाडामा लिए। ठाउँ सानो थियो तर दुई तले भएकाले उपयोगी भयो। माथिल्लो तलामा पप्सिकल बनाउने, भण्डार गर्ने र भुइँ तलाबाट बेच्ने तयारी गरे।
'नेपाली बजारका लागि पप्सिकल नयाँ अवधारणा थियो। हामीले सुरू गरेनौं भने पछि अरू कसैले गर्लान् भन्ने भयो,' कृतिकाले भनिन्, 'पछुतो मान्ने बाटो नराखी पप्सिकल व्यवसाय थाल्यौं। सुरूमा ११ लाख रूपैयाँ लगानी गरेका हौं।'
उत्पादन थालेपछि बाँकी रह्यो पसलको नाम राख्ने काम। उनीहरूले थुप्रै नाम सोचे, छलफल गरे। कुरैकुरामा 'स्वीट फिक्स' उच्चारण भयो। दुवै जनालाई मनपर्यो, नामाकरण भयो।
अंग्रेजी शब्द 'स्वीट' ले मिठाइ/मिठो र 'फिक्स' ले सन्तुलित भन्ने बुझाउँछ।
कृतिका भन्छिन्, 'हाम्रो उत्पादनलाई यी शब्दले परिभाषित गर्छ। हामीले बनाउने पप्सिकलको मिठास हरेक उमेर समूहका लागि उपयुक्त छ।'
वसन्तपुरमा काम थालेको तीन महिनामा स्वीट फिक्स उद्घाटन भएको हो। उनीहरूले विभिन्न फार्म र कालिमाटी तरकारी बजारबाट फलफूल ल्याउँछन्।
स्वीट फिक्सका ग्राहकहरू प्रायः १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका हुने गरेको कृतिकाको भनाइ छ। बालबालिका र पाका व्यक्तिहरूले पनि रूचाएको उनी बताउँछिन्।
उपभोक्ताहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले उनीहरूलाई हौसला दिएको छ।
कोरोना लकडाउनका बेला उनीहरूको काम रोकिएको थियो। तर धेरै ग्राहकले पप्सिकल डेलिभरी हुन्छ कि हुँदैन भनेर सोधे। ग्राहकहरूको रूचि बुझेपछि लकडाउन खुकुलो हुनेबित्तिकै उनीहरूले डेलिभरी सुरू गरे। मंगलबजारमा पसल थपे। त्यसपछि झम्सिखेल हुँदै भैंसेपाटीमा पनि।
तीन जना कर्मचारीबाट सुरू भएको स्वीट फिक्समा हाल १५ जना काम गर्छन्।
कृतिका र श्रेया व्यापार प्रशासनमा स्नातकोत्तर पढ्दै छन्। पढाइका लागि विदेश जान जिआरई कक्षा लिइरहेका यी दुई साथीलाई त्यही कक्षाले व्यवसायको सोच दियो। बेलायत घुम्न जान बचाएको पैसाले व्यवसाय सुरू गरायो।
अब उनीहरू आफ्नो ब्रान्ड विस्तार गर्न चाहन्छन्।
कृतिका भन्छिन्, 'बजार प्रतिस्पर्धी छ। हामी थोरै उत्पादन गर्दै छौं। अब उत्पादन बढाउँदै जान्छौं। हाम्रो प्रतिस्पर्धा अरूसँग बन्दा बढी हामी आफैंसँग छ।'
उनीहरू आफ्नो उत्पादन काठमाडौं बाहिरका बजारमा पनि पुर्याउने बारे सोच्दै छन्।
(स्वीट फिक्सको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्।सम्पर्कः ९८२८५८३४६५)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)