आइतबार किनेमा र झ्याउ। सोमबार भक्का र गहुँको रोटी। मंगलबार यःमरी र खाजा सेट। बुधबार पोखरेली खिर र सेल रोटी। बिहीबार खिचडी र ढिक्री। शुक्रबार मार्सी खाना सेट र शनिबार बाबर।
खानाका परिकारको यो मेनु हो, काठमाडौंको कपनस्थित 'मौलिक भान्साघर' को। यहाँ प्रत्येक दिन छुट्टाछुट्टै प्रदेशको विशेष परिकार पाक्छ।
कोशी प्रदेशको विशेष परिकार आइतबार, सोमबार मधेस प्रदेशको, मंगलबार बागमतीको, गण्डकीको बुधबार, बिहीबार लुम्बिनीको, कर्णालीको शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशको रैथाने परिकार पाक्छ।
मौलिक खानाघरको उक्ति छ– सात दिन सात बार, सातै स्वाद।
यही उक्तिका साथ ३४ वर्षीय सुमन दाहालको अवधारणामा मौलिक भान्सा घरले २०७८ असोजमा सेवा सुरू गरेको हो।
यो भान्साघरले दैनिक कम्तीमा सय जना ग्राहक अर्थात पाहुनालाई मौलिक परिकारहरू खुवाउँदै छ। सुमन आफ्ना ग्राहकलाई 'पाहुना' भन्छन्।
'अहिले काठमाडौं उपत्यका बाहिरबाट समेत पाहुनाहरू आउने गरेका छन्,' उनले भने, 'उनीहरूले खानासँगै वातावरण पनि आरामदायी रहेको भन्ने प्रतिक्रिया दिने गरेका छन्।'
सुमनले मौलिक भान्साघर परिसर रैथाने सामग्रीहरूले सजाएका छन्। मोही बनाउने ठेकी, मदानी, नुन राख्ने ढिक्री, हलो इत्यादि राखिएका छन्। परम्परागत वाद्य सामग्री पनि छन्।
यसरी भान्साघरमा गाउँले परिवेशको झल्को पाइन्छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/maulik%20%282%29.jpg)
मौलिक भान्साघरले स्थानीय कृषि उत्पादनबाट मौलिक परिकार बनाउँछ र सहरवासीलाई खुवाउँछ। पाहुनाको सजिलोका लागि बारअनुसार परिकार तयार गरिने भए पनि जुन दिन पनि रोजेको परिकार खान पाइन्छ।
'यी परिकार दिनअनुसार तयार हुन्छन्। तर जुन दिन आए पनि पाहुनाले चाहेको परिकार खान पाउनुहुन्छ,' सुमनले भने।
उनीसँग एउटा मात्रै उक्ति छैन।
'हप्तामा सात दिन सात बार। सात प्रदेश सात विशेष परिकार। सात पन्छी सात स्वाद। सात संस्कृति सात पहिरन। सातै दिन सांस्कृतिक साँझ।'
सुमनले यी उक्तिका साथ ग्राहकको मन तान्ने जुक्ति लगाएका हुन्।
मौलिक भान्साघरमा खानासँगै सांस्कृतिक साँझ पनि हुन्छ। सुमनका अनुसार विभिन्न समुदायका परम्परागत पहिरनमा नाच हुन्छ। सहरवासीलाई विभिन्न रैथाने परम्परासँग परिचित गराउन यस्तो अभ्यास थालिएको हो।
भान्साघरको अर्को विशेषता एउटा पन्छीको सात परिकार पनि हो।
सुमनले 'एक पन्छी सात परिकार' भन्ने विशेष मेनु बनाएका छन्। टर्की, लोकल कुखुरा, कडकनाथ कुखुरा, लौकाट, कालिज, बट्टाई र हाँसका सात–सात परिकार खान पाइन्छ। ग्रेभी, सुप, फ्राई, साँधेको, सेकुवा, टाउको–खुट्टा–पखेटा फ्राइ, कलेजो–पांग्रा–रक्ती फ्राई एक पन्छी सात परिकार हुन्।
मासुका परिकार खानेहरूले एक पन्छी सात परिकार मेनु निकै रूचाएका छन्। स्थानीय खाना, च्याँख्लाको खिर, सातैवटा प्रदेशको खाना पनि ग्राहकहरूको रोजाइमा परेको छ।
मौलिक भान्साघरको अर्को आकर्षण फार्म हो।
सुमनले कपनमा सात रोपनी जमिनमा कृषि फार्म चलाएका छन्। फार्ममा लोकल कुखुरा, कडकनाथ कुखुरा, टर्की, कालिज पालेका छन्।
'मौलिक भान्साघरमा सबै खानेकुरा अर्गानिक र स्थानीय होस् भनेर आफ्नै फार्म राखेका छौं। फार्म अवलोकन गर्ने व्यवस्था पनि छ,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/maulik%20%286%29.jpg)
मौलिक भन्साघरले पाहुनाहरू राति बस्ने प्रबन्ध पनि गर्ने तयारी गर्दै छ। तत्कालका लागि टेन्ट हालेर बासको व्यवस्था गर्ने तयारी छ। चाँडै बाँसले बनेका कटेज बनाउने योजना छ। केही महिनामा कम्तीमा सय जनालाई रात बिताउन सक्ने प्रबन्ध गर्न लागेको सुमनले बताए।
मौलिक भान्साघरसँगै 'मौलिक बजार' पनि छ। भान्साघर र बजार एकसाथ सुरू भएका हुन्। सुमनका अनुसार स्थानीय उत्पादन प्रवर्द्धन गर्नु मौलिक बजारको मुख्य उद्देश्य हो। मौलिक बजारमा ७५३ वटा स्थानीय तहको नामसहित अलग–अलग खण्ड छन्।
'विशेष उत्पादनलाई ब्रान्डिङ र बजार व्यवस्थापनका लागि हामी सबै स्थानीय तहसँग सहकार्य गर्दै छौं,' उनले भने, 'हाम्रो उद्देश्य भनेकै स्थानीय खरिद तथा बिक्री केन्द्र सञ्चालन गर्ने अवधारणा हो।'
'बसे पनि सहर, गाउँकै खाने रहर' भन्ने उक्तिसहित उनले 'एक स्थानीय तह एक उत्पादन' राख्ने तयारी गरेका छन्। केही स्थानीय तहका उत्पादन आइसकेका छन्, केहीका आउन बाँकी छन्।
'गाउँमा बसेर सहर पसेकालाई गाउँकै खाने रहर छ। सहरमै बसेकालाई पनि गाउँको अर्गानिक र मौलिक परिकार खाने रहर छ,' उनी भन्छन्, 'यसैअनुसार हामीले मौलिक बजारको अवधारणा ल्याएका हौं।'
मौलिक बजारमा स्थानीय उत्पादन समेट्न सबैजसो स्थानीय तहसँग समन्वय गरेको उनले बताए। हाल सयभन्दा बढी स्थानीय उत्पादन संकलन गरेर बजारमा बिक्रीका लागि राखिएका छन्। उत्पादनको ब्रान्डिङ गर्न र बिक्री बढाउन काठमाडौं उपत्यकाका अन्य ठाउँमा पनि शाखा पुर्याउने सुमनको योजना छ।
'मौलिक उत्पादनको बजारीकरण र ब्रान्डिङ गर्न सदस्यहरू थपिँदै जानुभएको छ। बिस्तारै यसलाई कम्पनी मोडलमा लैजाने छौं। हाम्रो मुख्य उद्देश्य स्थानीय उत्पादन प्रवर्द्धन गर्नु हो,' उनले भने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेका रैथाने उत्पादनहरू मौलिक बजारमा ल्याउने र बजारीकरण गरी उत्पादनका लागि किसानको हौसला बढाउने उनको भनाइ छ।
सुमन सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन्। उनले आयुर्वेद पढेका छन्। खासमा उनी डाक्टर बन्न चाहन्थे। एउटा तालिमले उनलाई व्यवसायतिर तान्यो।
सुमन दाहाल र उनकी श्रीमती राधिका ढकाल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/maulik%20%283%29.jpg)
करिब १५ वर्षअघिको कुरा हो। सुमनले एउटा तालिममा भाग लिने अवसर पाएका थिए। तालिमका एक प्रशिक्षकले प्रश्नात्मक शैलीमा भने– तपाईं किन जन्मेको? जागिर गर्न कि रोजगारी सिर्जना गर्न?
यो कुराले सुमनको दिमागमा हलचल ल्यायो। उनमा ऊर्जा भरियो। त्यही तालिमका अवसरमा उनले व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने अठोट गरे। आयुर्वेद पढेका हुनाले सोही क्षेत्रमा काम गर्ने सोच बनाए। हर्बल कस्मेटिक बनाउने विचार गरे। आयुर्वेदका वरिष्ठ चिकित्सकहरू भेटेर छलफल गरे।
उनी २०६७ सालतिर प्राकृतिक जडिबुटीतर्फ लागे। अनेक ठाउँमा पुगेर जडिबुटी संकलन गरे। अर्को वर्ष स्याम्पू, ओडो केयर (डियोडोरेन्ट स्प्रे), फेसप्याक, ग्लिसरिन, गुलाब जल, क्रिम र ग्रीन टी गरी हर्बल र कस्मेटिकका सातवटा उत्पादन तयार गरे। यी उत्पादन घरघर पुर्याएर बेचे। बिक्रीका लागि काठमाडौं उपत्यकाबाहिर पनि पुगे। यीमध्ये ओडो केयर बढी रूचाइएको थियो तर लाभ हुने गरी बजार बढ्न सकेन।
त्यसपछि उनले हर्बल कस्मेटिकसँगैर 'फेमिलियर प्रोडक्सन हाउस' मार्फत लसुन–अदुवाको पेस्ट बनाएर बेच्न थाले। फेमिलियर ब्रान्डको लसुन–अदुवा पेस्टले राम्रो बजार पायो। हाल यो व्यवसाय सुमनकी श्रीमती राधिकाले सम्हालेकी छन्। सुमन मौलिक भन्साघर र मौलिक बजारमा व्यस्त छन्।
स्थानीय उत्पादन खरिद-बिक्रीका लागि मौलिक बजार र खानाका लागि मौलिक भान्सा घर सञ्चालन गरेको सुमन बताउँछन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/maulik%20%284%29.jpg)
(मौलिक बजारको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।)