रञ्जना मालाकार र मिलनवीर मालाकार श्रीमान–श्रीमती हुन्। उनीहरू काठमाडौंमा कटनका लुगा उत्पादन गर्छन्। स्वदेशी उत्पादन बढाउँदै यसलाई ब्रान्ड बनाउन उनीहरू पाँच वर्षदेखि लागिपरेका छन्।
कटनका लुगा उत्पादन र बिक्री गर्न यो दम्पतीले 'नेपाल कटन हाउस' चलाएको छ। यसले सबै उमेर समूहलाई उपयुक्त हुने लुगा तयार गर्छ।
कटन हाउसको कारखाना र बिक्री केन्द्र काठमाडौंको सोह्रखुट्टेमा छ। यहीँबाट कटनका दुई दर्जनभन्दा बढी प्रकारका लुगा उत्पादन हुन्छ।
'हामी महिला र पुरूष दुवैका लागि लुगा बनाउँछौं। अलिक धेरै परिमाणमा अर्डर आयो भने रोजाइको डिजाइनमा पनि बन्छ,' रञ्जनाले भनिन्।
पुरूषका लागि सर्ट, पाइन्ट, टी–सर्ट, कुर्ती, हाफ पाइन्ट लगायत सबैजसो लुगा बन्छ। महिलाका लागि कुर्था (टप्स), वनपिस, टी–सर्ट, सर्ट लगायत बन्छ। यसबाहेक बालबालिकाका लागि अर्डर अनुसारको बन्छ।
कटन हाउसका उत्पादनको मूल्य किफायती भएको रञ्जना बताउँछिन्। समान्यतया मूल्य पाँच सय रूपैयाँदेखि एक हजार पाँच सय रूपैयाँसम्म छ। सबैखाले ग्राहकलाई लक्षित गरेर किफायती मूल्य राखिएको उनले बताइन्।
'हाम्रो उत्पादन गुणस्तरीय छ। मूल्य नेपालीले किन्न सक्ने छ,' उनले भनिन्, 'आफैं उत्पादन गर्ने भएकाले पनि किफायती मूल्य राखेका हौं।'
कटन हाउसले कपासको धागो भारतबाट मगाउँछ। यो धागो उनीहरूले काठमाडौं र भक्तपुरका केही घरेलु उद्योगमा दिन्छन्। कपडा बुनेर तयार भएपछि धुने र रंगाउने प्रक्रियामा जान्छ। यसपछि सिलाउने काम हुन्छ।
मिलनवीरका अनुसार यसरी बनाएको लुगा नरम, शीतल र गुणस्तरीय हुन्छ।
कटन हाउसका उत्पादनको ९० प्रतिशत बजार स्वदेश नै हो। विदेशी पर्यटकले पनि किन्ने गरेका छन्।
'हाम्रो उत्पादन यहाँ आएका विदेशि पर्यटकहरूले पनि रूचाउँछन् तर धेरै नेपालीहरूकै रोजाइमा परेको छ। केही लुगा जापान पनि पठाउने गरेका छौं। ठूलो परिमाणमा भने विदेश पठाउन सकेका छैनौं,' उनले भने।
जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले कटनका लुगा बढी रूचाइने उनले बताए।
पहिले कटनका लुगा विदेशीले बढी किन्थे। ठमेलमा आउने पर्यटकहरूको नजर यस्तै लुगामा हुन्थ्यो। अहिले भने यो 'ट्रेन्ड' फेरिएको छ। आफ्ना अधिकांश ग्राहक स्वदेशी नै भएको उनी बताउँछन्।
कटन हाउसले आफ्नो उत्पादन अनलाइनमा राखेको छैन। माग काठमाडौं उपत्यका बाहिरबाट पनि आउँछ तर पूरा हुन सकेको छैन।
'बजार अनलाइन प्रविधिमा गए पनि हामी जान सकेका छैनौं,' मिलनवीरले भने, 'कटन हाउसका उत्पादन स्रोहखुट्टेबाट मात्र किन्न सकिन्छ। धेरैले शाखा विस्तारका लागि भनेका छन् तर उत्पादन र बिक्रीमै व्यस्त छौं। अहिले नै अन्त शाखा खोल्ने सोच छैन।'
उनीहरू बिक्री प्रवर्द्धन गर्न प्रदर्शनीहरूमा भने पुग्छन्। काठमाडौं उपत्यकासँगै चितवन, पोखरा लगायत मुख्य सहरमा भएका प्रदर्शनीमा गएका छन्। प्रदर्शनीपछि व्यापार पनि बढेको उनीहरूको अनुभव छ।
प्रदर्शनीपछि काठमाडौं बाहिरबाट पनि अर्डर गर्दै फोन आउँछ। तर उनीहरू डेलिभरी गर्न असमर्थ छन्। आगामी दिनमा व्यवस्थापन गर्ने योजना रहेको रञ्जनाले बताइन्।
यसअघि पनि मालाकार दम्पती कपडा व्यवसायमै थिए। मिलनवीरले कपडाबारे खासै नबुझे पनि यही पेसामा होमिएको बताए।
'तीन दशकअघिदेखि नै हो लुगा उत्पादनमा होमिएको तर त्यति बेला खासै बुझेको थिइनँ,' उनले भने।
ठमेलमा जन्मिएका मिलनवीरले बाल्यकालदेखि धेरै किसिमका नेपाली लुगा देखे। पर्यटकको बाक्लो उपस्थिति हुने ठमेलमा पर्यटकहरू कटनका लुगा किन्थे। उनको घरवरिपरि कटन र ऊनका लुगाका पसल थिए। त्यही बेला उनी लुगाको व्यवसायमा प्रेरित भएका हुन्।
मिलनवीरले तीन दशकअघि ठमेलबाटै लुगाको व्यवसाय सुरू गरेका थिए। त्यो बेला उनी हातैले ऊनका पछ्यौरा, स्विटर, मोजा, पञ्जा लगायतका सामग्री उत्पादन गर्थे। सामानले बजारमा राम्रो स्थान पाएका थिए।
'त्यो समय परम्परागत ढंगको व्यापार थियो। हामीले बनाएका धेरै जसो लुगा पर्यटकहरूले किन्थे,' उनले भने, 'त्यो बेला व्यापारको चमक गज्जबको थियो।'
समय बित्दै जाँदा बढ्दो लोडसेडिङले उनको व्यवसायमा असर गर्यो। उत्पादन कटौती गर्नुपर्ने अवस्था आयो। उनले १५ वर्षअघि ऊनका लुगाको व्यवसाय बन्द गरे।
पछि मिलनवीरले गार्मेन्ट पनि चलाए तर यो पनि दिगो हुन सकेन। अन्ततः लुगाको व्यवसाय उनका लागि बन्द भयो।
फेरि लुगा व्यवसायमा फर्किनुमा मिलनवीरको लुगाप्रतिकै रूचि मुख्य कारण हो। उनलाई कटनका लुगा मनपर्छ। तर कहिलेकाहीँ यस्ता लुगामा रङ जाने समस्या देखापर्थ्यो। अरू धेरैको गुनासो पनि खुइलिएर नराम्रो भयो भन्ने नै हुन्थ्यो।
आफ्नोजस्तै अरूको पनि अनुभव भएपछि उनले आफैं कटनको गुणस्तरीय लुगा बनाउने सोचे। यही सोच मौलाउँदै कटन हाउससम्म पुगेको हो।
'धेरैको गुनासो कटनको लुगामा रङ जान्छ भन्ने हुन्थ्यो। त्यसैले हामीले गुणस्तरीय लुगा बनाउने विचारले काम सुरू गरेका हौं,' मिलनवीरले भने, 'अनुभवले खारिएर गुणस्तरीय कटन लुगा उत्पादनमा लगानी गरेका छौं।'
कटन हाउस २०७५ सालमा सुरू भएको हो। उनीहरूले सुरूआतमा २५ लाख रूपैयाँ लगानी गरेर काम थालेका थिए। काम अघि बढ्दै जाँदा कोरोना महामारी फैलियो। काममा असर पर्यो तर पनि मालाकार दम्पतीले काम रोकेन।
कोरोना महामारी मत्थर हुँदै गएपछि काम बढ्दै गयो। विस्तारै मागअनुसार उत्पादन बढाए। लुगामा डिजाइन थपे। यसरी कटन हाउसको बजार विस्तार भयो।
हाल यहाँ दस जना कर्मचारी नियमित काम गर्छन्। मिलनवीरका अनुसार वार्षिक कारोबार ६० लाख रूपैयाँभन्दा बढीको छ।
कटन हाउसको भगिनी कम्पनी छ 'सांग्रिला क्रिएसन'। कटन हाउसको उत्पादन बेच्ने काम यसैले गर्छ।
पतिपत्नीसँगै व्यावसायिक रथका सहयात्री मिलनवीर र रञ्जना एउटै उद्देश्यले काममा लागिपरेको बताउँछन्। आफ्नो उत्पादनलाई विश्वबजारमा ब्रान्डिङ गर्ने उनीहरूको लक्ष्य छ। यसको जिम्मेवारी छोरालाई दिने र पारिवारिक व्यवसायका रूपमा अघि बढाउने सोच बनाएका छन्। उनीहरूका छोरा हाल अमेरिकामा पढ्दैछन्।
'छोरा फर्केर आएपछि उसैलाई व्यवस्थापनको जिम्मा दिने सोच छ। हामी भने उसलाई सघाउँछौं,' रञ्जनाले भनिन्।
(कटन हाउसको सम्पर्क नम्बर ४९५८८८१र ९८६१६९२४१२)
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)