गाउँबस्तीतिर साताको कुनै एक दिन बजार लाग्छ। बजार लाग्ने दिनअनुसार ठाउँको नाम रहेको हुन्छ – आइतबारे, बुधबारे, शुक्रबारे इत्यादि।
यस्ता बजारमा स्थानीय कृषि उत्पादन र घरायसी प्रयोगका सामानको व्यापार हुन्छ।
आजकाल काठमाडौंमा पनि व्यापारिक मल, क्याफे, रेस्टुरेन्ट र खुला ठाउँमा 'स्याटरडे मार्ट' वा 'स्याटरडे मार्केट' भनेर शनिबारे बजार लाग्न थालेको छ। यस्तो बजारमा खाद्यवस्तु उत्पादक कम्पनीहरू आफ्नो उत्पादन प्रवर्द्धन र बिक्री गर्न भेला हुन्छन्। ग्राहकहरू नयाँनयाँ उत्पादनबारे जानकारी लिन र किन्न आउँछन्।
ललितपुरस्थित लबिम मलमा प्रत्येक शनिबार स्याटरडे मार्केट लाग्छ। आगन्तुकहरू 'लबिम बजार' भन्छन्। यहाँ अनेक ब्रान्डका उत्पादन लिएर उत्पादकहरू जम्मा हुन्छन्। शनिबार लबिमको भुइँतला र प्रांगण यस्तै उत्पादक, उत्पादन र क्रेताहरूले भरिभराउ हुन्छ।
यही बजारमा फेला पर्छ 'अचार फ्रिक'।
अचार फ्रिक अनेक थरी मौसमी अचार उत्पादन गर्ने कम्पनी हो।
'लबिमको स्याटरडे मार्केटमा अचार फ्रिकका उत्पादनहरू चाख्न र किन्न पाइन्छ,' अचार फ्रिककी सञ्चालक कृपा बस्नेतले भनिन्, 'ग्राहकले हाम्रो उत्पादन मन पराउनुभएको छ। सकारात्मक प्रतिक्रिया पाएका छौं।'
अचार फ्रिकका उत्पादन कम्पनीको सामाजिक सञ्जालबाट पनि अर्डर गर्न सकिन्छ।
२८ वर्षीया कृपा उदयपुरकी स्थायी बासिन्दा हुन्। उनले सानो छँदा गाउँमा धेरै आँप फलेको देखेकी थिइन्। आसपासका गाउँमा पनि मौसमी फलफूल हुन्थ्यो। तर व्यापारका लागि बजार थिएन। अहिले पनि आँप उत्तिकै फल्छ।
दुई वर्षअघिको कुरा हो, कृपाले अचारको व्यवसाय गर्ने सोचिन्। यसैअनुसार आँप फलाउने गाउँलेहरूसँग कुरा गरिन्। स्थानीय महिलाहरूसँग पनि कुरा गरिन्।
'बिक्री नभएर खेर जाने आँप बजार पुर्याउने र स्थानीय महिलाहरूको सशक्तीकरण गर्ने मेरो सोच थियो। महिलाका लागि अचारको व्यवसाय उपयुक्त हुन्छ भन्ने लाग्यो,' कृपाले भनिन्, 'मैले परम्परागत शैलीको अचार प्रवर्द्धन गर्ने सोच बनाएँ।'
उनका अनुसार सहरमा परम्परागत अचारलाई आधुनिक 'पिकल' ले प्रतिस्थापन गर्न थालेको छ। नेपाली भान्सामा बन्ने अचार र पिकल फरक हो। पिकलमा भेनेगर प्रयोग भएको हुन्छ। मसला थोरै हुन्छ। भेनेगर अमिलो स्वाद बनाउने औद्योगिक उत्पादन हो। नेपाली भान्सामा तयार हुने अचारमा भने अनेक थरीको घरायसी मसला हुन्छ। यस्तो मसला स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ।
स्थानीय महिलाहरू मौसमी फलफूलको अचार बनाउन अभ्यस्त हुने नै भए तर उनीहरूले घरमा खान मात्र बनाउँथे। यस्ता महिलाहरूलाई कृपाले व्यवसायमा जोडिन्।
अचार बजार पुर्याउन उनले 'अचार फ्रिक' नाम रोजिन् र २०७९ फागुनमा सप्तरीको राजविराजमा एउटा कम्पनी दर्ता गराइन्।
फ्रिक शब्दले 'उत्साही' को अर्थ दिन्छ। विशेष गरी युवा पुस्ताबीच बोलीचालीको शब्द 'फ्रिक' ले आकर्षण दिन्छ भन्ने ठानेर अचारको ब्रान्ड बनाएको उनको भनाइ छ।
'अहिले युवा पुस्ताले आफ्नो परम्परागत खाद्य तयार परिकार भुल्न थाल्यो,' उनले भनिन्, 'अलि आकर्षक नाम राखेर परम्परागत अचारमा युवालाई तान्ने मेरो प्रयास हो।'
नेपालीको खानपिन संस्कृतिसँग जोडिएको परम्परागत अचारको प्रवर्द्धन र त्यसैको व्यवसाय उनको उद्देश्य हो।
'अचार हाम्रो खानपिन संस्कृतिसँग जोडिएको छ। अचार बनाउनु खाद्य संस्कृतिको संरक्षण पनि हो,' कृपाले भनिन्, 'नेपाली भान्सामा विभिन्न मसला प्रयोग गरेर स्वस्थकर अचार बनाइन्छ। फ्रिकले आफ्नै भान्सामा बनेको अचारको स्वाद दिन्छ।'
उदयपुरको आँपबाट सुरू भएको अचार फ्रिकले अहिले मौसममअनुसार लप्सी, अमला, काँक्रो, तामा लगायतको दस थरी अचार बनाउँदै छ। अचार फ्रिकले ३५० ग्रामदेखि एक किलोग्रामसम्म तौलमा सिसाको बट्टामा प्याकेजिङ गर्छ।
घरेलु तरिकाले बनाइने भएकाले कुनै पनि खालको प्रिजर्भेटिभ (कुहिनबाट जोगाउने रसायन) प्रयोग नहुने कृपाको भनाइ छ।
'हामी कुनै पनि प्रिजर्भेटिभ प्रयोग गर्दैनौं। अचारको बट्टा खोलेको दिनदेखि एक वर्षसम्म खान मिल्छ,' उनी भन्छिन्, 'बेलाबेलामा अचारको बट्टा घाममा सुकाउनुपर्छ।'
हाल अचार फ्रिकमा तराईका थारू र मैथिली समुदायका ६० जना महिला आबद्ध छन्। उनीहरू धेरै जसो ४० वर्ष उमेर नाघेका गृहिणी हुन्।
'फ्रिकमा आबद्ध महिलाहरू अचार बनाएरै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। आफूलाई चाहिने व्यक्तिगत खर्चका लागि आफैं पैसा निकाल्न सक्ने भएका छन्। फ्रिकमा आबद्ध भएर अचार बनाउनु व्यावसायिक काम हो। यसलाई मैले कम्पनीको सामाजिक उत्तरदायित्वको रूपमा पनि लिएकी छु,' कृपाले भनिन्।
उनले मानवशास्त्र विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेकी छन्। उनको रूचि समाजसेवामा थियो। अचार फ्रिक सुरू गर्नुअघि केही सामाजिक संस्थामा आबद्ध थिइन्। तिनै संस्थामार्फत महिला सशक्तीकरणको काममा लागिन्। महिलाहरूलाई तालिम दिएर रोजगारी सिर्जना गर्न मद्दत पुर्याइन्। यसरी काम गर्दा उनले महिलाहरूको सीप थाहा पाइन्। त्यही सीप सदुपयोग गरेर व्यावसायिक बनाएको उनको भनाइ छ।
कृपाका अनुसार उनले तीन लाख रूपैयाँ लगानी गरेर अचार व्यवसाय सुरू गरेकी हुन्। बजार प्रवेश गरेको छोटो समयमै व्यवसाय निकै राम्रो भएको छ। सबैतिरको प्रतिक्रिया सकारात्मक भएको उनले बताइन्।
कृपा अब अलिक ठूलो बजारमा पुग्ने योजना बनाउँदै छिन्। उनी यसलाई सामाजिक उद्यमका रूपमा विस्तार गर्न चाहन्छिन्।
'हामी व्यवसायमा मात्रै केन्द्रित छैनौं। सामाजिक उत्तरदायित्वका रूपमा काम गरिरहेका छौं,' कृपा भन्छिन्, 'अचार फ्रिकले थुप्रै महिलाको जीवनमा आर्थिक रूपले सकारात्मक प्रभाव पारेको छ। यो प्रभाव विस्तार गर्दै अघि बढ्छौं।'
कृपाले नेपालमा व्यवसायका अनेक अवसरहरू पनि देखेकी छन्।
भन्छिन्, 'अवसर चिन्न र दृढ इच्छाशक्तिका साथ अघि बढ्न सक्नुपर्छ। आफ्नो धरातल भुल्नु हुँदैन। काम गर्न गाह्रो मान्नु हुँदैन।'
(अचार फ्रिकको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)