नेपाली ब्रान्ड भनेर मात्र कहाँ हुन्छ र!
ब्रान्ड हुन खास विशेषता चाहिन्छ। डिजाइनमा नयाँपन र गुणस्तरमा पक्का भए मात्र ब्रान्ड हुन्छ भन्ने मान्छन् २२ वर्षीय व्यवसायी अतीसकुमार महतो।
यही अवधारणाका साथ उनले सुरू गरेका हुन् 'माया वेयर्स'।
माया वेयर्समा पाँच प्रकारका तयारी लुगा पाइन्छन् – टिसर्ट, सर्ट, स्वेटसर्ट, हुडी र ज्याकेट।
यी लुगामा केही न केही नयाँपन दिएको अतीस बताउँछन्।
'सबैले बनाउने लुगा उस्तै हुन् तर बनाउने र प्रस्तुत गर्ने तरिकाले ब्रान्डलाई विशेष बनाउँछ,' उनले भने, 'माया वेयर्सको विशेषता यसको डिजाइनमा छ। लुगामा मिथिला चित्र हुन्छ। सूती (कटन) कपडामा ढाका वा जिन्स राखेर विशेष लुगा तयार पारिन्छ।'
एक वर्षअगाडि मात्र सुरू भएको माया वेयर्सका ग्राहकहरूले यही विशेषता रूचाएका छन्। विशेषगरी युवा समुदाय आकर्षित छ। अधिकांश लुगा अनलाइनबाटै बिक्री हुन्छ, हेरेरै किन्न खोज्ने ग्राहक काठमाडौंको सुविधानगरस्थित पसल पुग्छन्।
माया वेयर्सले अहिले तीन आकारमा लुगा बनाउँछ– 'एल' अर्थात् लार्ज (ठूलो), 'एक्सएल' अर्थात् अझ ठूलो र एक्सएक्सएल अर्थात् निकै ठूलो। मध्यम आकारको भने माग निकै कम भएकाले उत्पादन बन्द भयो।
हाल माया वेयर्सले मासिक कम्तीमा पाँच सयवटा लुगा बेच्दै छ। सामाजिक सञ्जाल व्यवस्थापन, उत्पादन व्यवस्थापन र डेलिभरी लगायत कामका लागि अतीसका साथमा पाँच जना कर्मचारी छन्।
अतीस हाल व्यापार अध्ययन विषयमा स्नातक तह चौथो वर्षमा पढ्दैछन्। १२ कक्षा पूरा गर्दासम्म उनले व्यवसाय गर्ने सोचेकै थिएनन्। परिवारमा विदेश जानुपर्छ भन्ने कुरा थियो। त्यसैअनुसार उनले तयारी गरेका थिए।
'विदेश जाने सोच थियो। फ्रान्सका लागि आवेदन दिएँ तर भिसा लागेन,' उनले भने, 'त्यसपछि विदेश जाने मन भएन। बरू नेपालमै केही काम गर्छु भन्ने सोचेँ।'
खासमा उनकी आमा छोरो विदेश जाओस् भन्ने चाहन्थिन्। भिसा नपाउँदा पनि फेरि प्रयास गर्नुपर्छ भन्ने उनको धारणा थियो। तर अतीसले आमालाई आफ्नो मनको कुरा भने। आमाले छोराको कुरा आत्मसात गरिन्, फेरि कर गरिनन्।
अतीस एक कक्षामा पढ्दै उनका बुबाको मृत्यु भएको थियो। उनीसहित तीन छोराछोरी आमासँगै हुर्केका हुन्। घरको आर्थिक अवस्था कमजोर थियो। तर आमाले दुःखजिलो गरेर छोराछोरीलाई पढाइन्।
'आमा हामी छोराछोरीले राम्रो पढ्नुपर्छभन्नुहुन्थ्यो। काठमाडौंमा पढाइ राम्रो हुन्छ भनेर मलाई पाँच कक्षादेखि नै होस्टलमा राखिदिनुभयो,' अतीसले भने, 'हाम्रो पढाइको खर्च जुटाउन अलिअलि गर्दै खेत बेच्नुभयो।'
उनले होस्टलमै बसेर १२ कक्षासम्म पढे। त्यसपछि भाडाको कोठामा बस्न थाले। आमाले मात्र सबै खर्च बेहोर्न सक्ने अवस्था भएन। अतीसले कुनै काम गरेर आफूले आर्जन गर्नुपर्छ भन्ने सोचे। विदेश जाने विचार त्यागेर स्वदेशमै काम गर्ने योजना बनाए। कामको खोजीमा लागे। एक जना साथीमार्फत एउटा अनलाइन सञ्चारमाध्यममा काम पाए।
उनीसँग भिडिओ सम्पादनको सीप थियो। भ्लग बनाएर, इडिट गरेर युट्युबमा हाल्थे। त्यही काम देखेर एक जना साथीमार्फत जागिर पाएका थिए।
काम गर्दै थिए तर सन्तुष्ट हुन सकेनन्।
अर्को कुनै काम सोच्दै जाँदा एक जना साथीसँग मिलेर व्यवसाय गर्ने योजना बन्यो।
दुई जनाले सहकार्यमा लुगा बेच्ने सोचे। जम्मा सात हजार रूपैयाँमा उनीहरूले 'हेमो' ब्रान्ड सुरू गरे। एनिमे प्रिन्ट भएका टिसर्ट, हुडी, ट्राउजर, हाफप्यान्ट, स्वेटसर्ट आदि बेचे। छोटो समयमै व्यापार बढ्यो।
व्यापार सुरू गर्दा पनि अतीसले जागिर छाडेका थिएनन्। पढ्नु त छँदै थियो। उनी बिहान ६ बजे कलेज पुग्थे, १० बजे अफिस पुग्थे र साँझ ६ बजे निस्किन्थे। त्यसपछि राति करिब १० बजेसम्म डेलिभरीमा दौडिन्थे। रातिकै समयमा टिसर्ट प्रिन्टको काम गर्थे।
कामको चाप बढेपछि उनी मिडियाको जागिर छाडेर पढाइ र व्यवसायमा केन्द्रित भए। केही महिनामा हे
मो टिसर्ट व्यापारबाट साझेदार साथी अलग भए। त्यसपछि करिब साढे एक वर्ष एक्लै काम गरे।
'टिसर्टले राम्रो बजार पाएको थियो तर त्यतिमा सन्तुष्ट थिइनँ,' अतीसले भने, 'व्यापारमा आफ्नै ब्रान्ड बनाउने सोच्न थालेँ।'
उनी आफूले बिक्री गर्दै गरेको टिसर्टमा खास डिजाइन र गुणस्तर दिन चाहन्थे। त्यसैअनुसार २५ हजार रूपैयाँ लगानीमा 'माया वेयर्स' नाम राखे र काम सुरू गरे।
माया वेयर्स नाम रहनुमा चाखलाग्दो पृष्ठभूमि छ।
अतीस नामको खोजीमा थिए। त्यही समय 'माया' नामकी साथीसँग परिचय भयो। त्यही नामले उनलाई तान्यो, छोटो-मिठो ठानेर माया वेयर्स राखे।
उनले बजारमा नेपाली ब्रान्ड भने पनि आयातीत लुगाकै डिजाइनमा सिलाइ गरेर बेच्ने प्रवृत्ति रहेको थाहा पाए। उनी ब्रान्ड बनाउन खास विशेषता पनि हुनुपर्छ भन्ने ठान्छन्।
'जेसुकै उत्पादन गरे पनि त्यसमा केही नयाँपन र विशेषता भए मात्रै ब्रान्ड भन्नु उचित हुन्छ,' उनी भन्छन्, 'धेरैले त विदेशी डिजाइनमा आफ्नो ब्रान्ड नाम राख्ने रहेछन्। म नेपाली ब्रान्ड भनेपछि नेपालीपन झल्काउने केही प्रतीक होस् भन्ने चाहन्थेँ।'
उनले लुगामा नेपाली कला र संस्कृति झल्काउने चित्र प्रिन्ट गर्ने सोच बनाए। हेमो टिसर्ट भाइहरूलाई जिम्मा लगाएर उनी माया वेयर्समा केन्द्रित भए। उनी आमा र दुई जना भाइहरूका साथ काठमाडौंमै बस्छन्। दिदीको बिहे भइसकेको छ।
अहिले अतीस माया वेयर्सको बजार विस्तारमा सक्रिय छन्।
यसको व्यापार काठमाडौं उपत्यकाभित्र र बाहिर पनि बजार पाएको छ। अमेरिका, बेलायत, जापान र अस्ट्रेलिया पनि पुगेको छ।
माया वेयर्समा एक हजार ८ सय रूपैयाँदेखि चार हजार ५ सय रूपैयाँसम्मको लुगा पाइन्छ। गर्मी मौसममा टिसर्टको माग बढ्छ, जाडोमा हुडीको।
यहाँ महिला र पुरूष दुबैलाई मिल्ने लुगा पाइन्छ। ग्राहक भने ७० प्रतिशत महिला छन्। भविष्यमा पाइन्ट र झोला पनि बनाउने योजना छ।
छोटो समयमै सन्तोषजनक रूपमा व्यापार विस्तार भएपछि अतीसको हौसला बढेको छ।
उनी भन्छन्, 'म कर्ममा विश्वास राख्छु। सिक्दै अघि बढ्नु निकै रोचक हुँदो रहेछ। मैले पहिल्यै नै जानेर काम सुरू गरेको होइन, आँटले सुरू गरेको हो।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
(माया वेयर्सको इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्।)