महिला उद्यमीका कथा
नवजात शिशु र टुकुटुकु हिँड्ने उमेरका केटाकेटीलाई कस्तो लुगा चाहिएला? कपडाको गुणस्तर कस्तो हुनुपर्ला?
यस्तै जिज्ञासाले सुरू भएको हो नेपाली ब्रान्ड 'टुकुटुकु'।
यो ब्रान्ड चलाउँछिन् ३४ वर्षीया प्रशा लामा।
टुकुटुकुमा नवजात शिशुदेखि १५ वर्षसम्म उमेरसम्मका लागि हुने लुगा पाइन्छ। सुत्केरी आमाले लाउने सजिलो लुगा र खास्टो पनि यसले बनाउँछ।
'हामी नवजात शिशु र केटाकेटीका लागि गुणस्तरीय कटन कपडाबाट लुगा बनाउँछौं,' प्रशाले भनिन्, 'यसका सबै लुगाको कपडा प्रिवाश्ड अर्थात् सिउनुभन्दा पहिले नै धोइएको हुन्छ।'
टुकुटुकुमा एक हजार दुई सयदेखि १५ हजार रूपैयाँसम्म पर्ने लुगाको सेट तयार हुन्छ। राजकुमारी फ्रक, महारानी सेट, महाराजा सेट, इम्पेरिकल ड्रेस सेट सबभन्दा बढी रूचाइएका डिजाइन हुन्। विशेष अवसरका लागि मागबमोजिम परिवारकै सेट लुगा पनि यसले बनाउँछ।
'आजकाल बच्चाको पास्नीमा बच्चा र आमाबाबुले एकै खाले लुगा लगाउने चलन बढेको छ,' प्रशाले भनिन्, 'यस्तै विशेष अवसरका लागि आमा र बच्चाका साथै बुबाको लुगा पनि बनाउन थालेका हौं।'
प्रशालाई टुकुटुकुको आइडिया आफै गर्भवती भएका बेला आएको हो।
उनी आफ्नो बच्चाका लागि कस्तो लुगा उपयुक्त होला भनेर सोच्थिन्। लुगाहरू खोजी पनि गरिन्। बजारमा उपलब्धमध्ये 'मस्लिन कटन' नामको कपडा बच्चाको शरीरलाई उपयुक्त हुने थाहा पाइन्।
उनले त्यस्तो कपडाको लुगा बनाउने नेपाली ब्रान्ड भने फेला पारिनन्। छोरी जन्मिएपछि झन् खोजी गरिन्, जति चहार्दा पनि चित्त बुझेन।
'बच्चाको छाला नाजुक र संवेदनशील हुन्छ, लुगामा विशेष ध्यान दिनुपर्छ,' प्रशा भन्छिन्, 'बजारमा खस्रो कपडाका लुगा पाइन्छन्। चिलाउने, पोल्ने, खटिरा आउने जस्तो समस्या हुन्छ। मैले छोरीका लागि भनेजस्तो कपडा र डिजाइन फेला पार्न नसकेपछि मेरी आमालाई यो कुरा सुनाएँ।'
उनकी आमा दुर्गा मानन्धर भर्खर अमेरिकाबाट फर्केकी थिइन्। उनकी दिदी प्रीति अमेरिकामा 'बुजो नेपाल' ब्रान्ड नामले हस्तनिर्मित सामानको व्यवसाय गर्छिन्। त्यसकै कामको सिलसिलामा दुर्गा अमेरिका गएकी थिइन्।
दुर्गासँग लामो समय बुटिक क्षेत्रमा काम गरेको अनुभव छ। प्रशाले खोजेजस्तो लुगा नपाएको भनेपछि दुर्गा नातिनीका लागि लुगा सिउन आफै अघि सरिन्। उनले अमेरिकाबाट उच्च गुणस्तरको नरम कपडा ल्याएकी थिइन्। मस्लिन कटन पनि खोजिन्। अनि लुगा बनाइन्।
'गुणस्तरीय कपडाको लुगामा छोरीलाई सजिलो भएजस्तो लाग्यो,' प्रशाले भनिन्, 'आमाले विभिन्न डिजाइनमा बनाइदिनुभएको थियो।'
त्यसपछि प्रशाको ध्यान व्यवसायतिर गयो।
छोरी करिब ६ महिनाकी भएपछि प्रशाले बच्चाका लागि शुद्ध कटनको लुगा बनाएर बेच्ने योजना बनाइन्। यसबारे आमा दुर्गालाई भनिन्।
'मैले लामो समय सिलाइबुनाइमा बिताएँ। छोरीले काम गर्छु भनेर आँटेपछि सहयोग गरेँ,' ५४ वर्षीया दुर्गाले भनिन्, 'छोरी र मैले जानेको सीपबाटै टुकुटुकु ब्रान्ड जन्मेको हो।'
आमाछोरी मिलेर व्यवसाय गर्ने पक्का भएपछि उनीहरूले पाँच लाख रूपैयाँ प्रारम्भिक लगानी गरे। घर नजिकै, बौद्धमा एउटा फ्ल्याट भाडामा लिए। दुर्गासँग भएका दुई वटा मेसिन राखे। सिलाइको काम सुरू भयो। प्रशाले वेबसाइट र सामाजिक सञ्जाल पेज बनाएर व्यवसाय प्रवर्द्धन गरिन्।
यो तीन वर्षअघिको कुरा हो।
ग्राहकले टुकुटुकुका उत्पादन मनपराए। आवश्यकता अनुसार प्रशा र दुर्गाले कर्मचारी थप्दै लगे। हाल टुकुटुकुमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
प्रशा 'आरोह' नामको एक गैरसरकारी संस्थाका संस्थापकमध्ये एक हुन्। यसमा काम गर्दा उनले धेरै ग्रामीणका महिलालाई भेट्ने र उनीहरूको सीप चिन्ने मौका पाइन्। यस्ता केही महिलाहरू आफ्नै घरमा तानबुना कपडा बनाउँछन्। त्यसैबाट टुकुटुकुले बच्चाका डस्ना, तकिया, ब्ल्यांकेट, हेयर बो, टोपी र प्रप्स बनाउँछ।
टुकुटुकुका लुगाको विशेषता कटनका साथै त्यसमा हातैले भरेका बुट्टा हुन्। इम्ब्रोडरीमा पनि कटन धागो नै प्रयोग हुन्छ।
'जरी र मोतीले बच्चालाई घोच्ने र चिलाउने समस्या हुन्छ। त्यसैले हामी इम्ब्रोडरी पनि कटनकै गर्छौं। यो नरम हुन्छ। इम्ब्रोडरीले लुगा राम्रो पनि देखिन्छ,' उनले भनिन्।
उनका अनुसार लुगाको माग नेपाली र विदेशी बजारमा बराबर जस्तै छ। हाल अस्ट्रेलिया, अमेरिका, जर्मनी र न्युजिल्यान्डबाट अर्डर आइरहेको छ। ग्राहकहरू कपडा हेर्न र अर्डर दिन आउन चाहने भएकाले हालै पसल पनि खुलेको छ।
प्रशाका अनुसार पाँच लाखमा सुरू भएको टुकुटुकुमा हालसम्म एक करोड रूपैयाँभन्दा बढी लगानी पुगेको छ। व्यापारको क्षेत्र पनि बढेको छ।
'मासिक बीस लाख रूपैयाँसम्मको कारोबार हुन्छ,' उनले भनिन्, 'आम्दानीको निश्चित रकम आरोहमार्फत सामाजिक काममा खर्च गर्न छुट्ट्याउँछु। यो रकम महिला सशक्तीकरण र शैक्षिक क्षेत्र सुधारमा खर्च गरिनेछ।'
आफ्नो व्यवसायमा सन्तुष्ट प्रशालाई अहिले मागअनुसार आपूर्ति गर्न जनशक्ति अभाव छ। छिट्टै उत्पादन बढाउने तयारीमा लागेकी छन् उनी।
'टुकुटुकुलाई अर्गानिक नेपाली ब्रान्डका रूपमा विस्तार गर्ने लक्ष्य छ,' उनले भनिन्।
ग्रामीण विकासमा स्नातकोत्तर सकेकी उनी महिला उद्यमी सम्बन्धी विषयमा विद्यावारिधि गर्ने तयारीमा पनि छिन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(टुकुटुकुको वेबसाइटमा जान यहाँ र फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।