महिला उद्यमीका कथा
सिलाइ-बुनाइ प्रशिक्षण र बुटिक व्यवसायबाट 'वसः द क्लोदिङ स्टोर' मा आइपुगेकी छन् ललितपुरकी ५१ वर्षीया दीपा श्रेष्ठ।
नेपाल भाषाको शब्द 'वसः' ले लुगा भन्ने जनाउँछ। व्यापक अर्थमा हेर्दा कपडाबाट बनेका हरेक किसिमका सामग्री जनाउँछ।
वसःमा तन्ना, सिरानीको खोल, टेबलमा राख्ने कपडा, एप्रोन, बच्चाका लुगा, ब्ल्यांकेट, तौलिया, पट होल्डर (भाँडा समाउने कपडा), रूमाल, खास्टो, नाइटी, हेयर ब्यान्ड लगायत सामग्री पाइन्छ। धेरैजसो सामान ढाका, कटन र हातबुना कपडाबाट बन्छन्।
'वसःको विशेषता भनेको यहाँ पाइने ७५ प्रतिशत सामान नेपाली कपडाको हुन्छ। ग्राहकले उपहारका लागि पनि किन्छन्,' फेसन डिजाइनर दीपाले भनिन्, 'बजार मागअनुसार रेशम पनि प्रयोग हुन्छ। यसको हेयर ब्यान्ड र कुसनको खोल निकै राम्रो हुन्छ।'
वसःमा हाल ५० रूपैयाँदेखि तीन हजार ६ सय रूपैयाँसम्म सामान पाइन्छन्। ग्राहकहरूले सामानको गुणस्तर अनुसार मूल्य उचित मानेको दीपाको भनाइ छ।
बीस वर्षको उमेरदेखि डिजाइन क्षेत्रमा सक्रिय दीपाको व्यावसायिक यात्रा २०४९ सालमा सुरू भएको थियो। उनले बागबजारमा एउटा तालिम केन्द्र चलाएकी थिइन्। सिलाइ, बुनाइ र ब्युटिसियन तालिम दिन्थिन्।
उनले स्कुलमा 'होम साइन्स' विषय पढेकी थिइन्। एसएलसी उत्तीर्ण गरेपछि आइकम (हालको १२ कक्षासरह) पूरा गरिन्। त्यसपछि उनले दुई वर्षको फेसन डिजाइन कोर्स गरिन्। लगत्तै तालिम केन्द्र खोलिन्, प्रशिक्षक भएर काम सुरू गरिन्, त्यसैलाई निरन्तरता दिइन्।
२०७२ सालमा भूकम्प आएपछि उनको तालिम केन्द्र बन्द भयो।
स्थिति सामान्य भयो तर दीपाले तालिम केन्द्र फेरि चलाउने विचार गरिनन्। ललितपुरको कुपन्डोलमा एउटा बुटिक सुरू गरिन्। त्यो पनि धेरै चलेन। तीन वर्ष चलाएपछि केही निजी कारणले बन्द गरिन्।
बुटिङ बन्द त गरिन् तर उनीसँग अपेक्षा राख्ने केही महिलाहरू थिए।
'तालिम केन्द्र हुँदादेखि नै मसँग काम गरेका केही दिदीबहिनी हुनुहुन्थ्यो। म व्यावसायिक रूपमा सक्रिय नहुँदा उहाँहरूको जीवनमा असर पर्यो,' दीपाले भनिन्, 'अझ कोरोनाले लकडाउन भएपछि झनै आर्थिक मारमा पर्नुभएको थियो। उहाँहरू मलाई आफ्नो दुःख सुनाउनुहुन्थ्यो।'
उनी यस्ता दिदीबहिनीको र व्यवसायको कुरा आफ्नो परिवारमा पनि गर्थिन्। उनी आफू पनि कुनै व्यावसाय गर्न चाहन्थिन्। कहिलेकाहीँ घरमै बुटिकका केही लुगा अर्डर लिएर बनाउँथिन् पनि।
२०७६ साल अन्तिमतिर कोरोना लकडाउनका बेला दीपा घरमै थिइन्। परिवारमा उनका श्रीमान र दुई छोरी छन्।
लकडाउनको समयमा परिवारमा बस्न पाएर रमाइलै थियो। तर घरै बसिरहँदा केही कमी महसुस गर्थिन्।
'काम नहुँदा छोरीहरूले मेरो छटपटी देखेछन्,' दीपाले भनिन्, 'घरबाटै गर्न सकिने केही काममा लाग्न सुझाव दिए।'
दीपा सिलाइमा पोख्त थिइन्। उनले त्यस बेलाको मागअनुसार घरमै भएको कपडाबाट कटनको मास्क बनाउन थालिन्। सिलाइ मेसिन र केही कपडा घरमै थियो। उनलाई बजारको अनुभव पनि थियो। मास्क बजार पुर्याउन समस्या भएन। कटन मास्कको प्रचार सामाजिक सञ्जालबाट गरिन्। फटाफट माग आयो। छोटो समयमै निकै राम्रो परिमाणमा मास्क बेच्न सकिन्।
'व्यवसायबाट लामो समय टाढा रहन सकिनँ। परिवारको हौसला र सुझावपछि वसः सुरू भयो। पहिले मास्क मात्र बनाउँथ्यौं, अहिले एक दर्जनभन्दा बढी किसिमका सामान बनाउँछौं,' उनले भनिन्।
२०७७ सालमा सुरू भएको वसःको प्रारम्भिक लगानी जम्मा १७ हजार रूपैयाँ भएको उनी बताउँछिन्। उत्पादन बढाउँदै जाँदा लगानी पनि बढ्दै गएको छ।
वसःका अधिकांश उत्पादन अर्गानिक भएकाले छोटो समयमै बजारले रूचाएको दीपा बताउँछिन्।
'ग्राहकको राम्रो प्रतिक्रियाले नै काम गर्न उत्साह र आँट दियो। वसःले महिलाको सीपको सम्मान गरेको छ,' उनले भनिन्, 'अहिले चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।'
वसःका उत्पादन हाल नेपाली बजारमा मात्रै उपलब्ध छ। चाँडै विदेशी बजारमा पनि पुर्याउने दीपाको योजना छ।
हाल अनलाइन बजारबाहेक हरेक शनिबार ललितपुरको लबिम मलमा लाग्ने बजारमा पनि वसःका सामान किन्न पाइन्छ। काठमाडौंबाहिर पुर्याउन डेलिभरी कम्पनीसँग सहकार्य छ। दीपा काठमाडौं र अरू जिल्लामा हुने प्रदर्शनीहरूमा पनि सामान उपलब्ध गराउँछिन्। प्रदर्शनीहरूमा आफै बसेर ग्राहकलाई राम्ररी बुझाउन सकेको उनको भनाइ छ।
लबिम मलको शनिबारे बजार र प्रदर्शनीका स्टलमा उनलाई छोरीले सघाउँछन्। कान्छी छोरी वसःका लागि बुनाइ पनि गर्छिन्।
'नेपाली कपडा उत्पादन र प्रवर्द्धनमा व्यवसायीको संख्या बढ्दै गएकोमा खुसी लाग्छ। अहिले सस्ता विदेशी सामानसँग प्रतिस्पर्धा गर्नुपर्दा ग्राहकलाई विश्वास दिलाउन कठिन हुन्छ,' दीपाले भन्छिन्, 'नेपाली व्यवसायीको संख्या बढ्दै जाँदा आयात प्रतिस्थापन हुन सहज हुन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(वसःको इन्स्टाग्राममा जान यहाँ र फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)