आरूश्री शर्मा र मेघा अग्रवाल मिल्ने साथी हुन्। हाल २४ वर्षका उनीहरूले कक्षा एकदेखि ए-लेभलसम्म सँगै पढे।
ए-लेभल सकेर २०७४ सालतिर आरूश्री स्नातक तह पढ्न अस्ट्रेलिया गइन्। मेघा अमेरिका पुगिन्। आरूश्रीले 'अन्तर्राष्ट्रिय सम्बन्ध तथा वातावरण' विषयमा स्नातक पूरा गरिन्। मेघाले 'व्यापार तथा अर्थशास्त्र' विषय पढिन्।
२०७६ सालमा आरूश्री बिदामा नेपाल आएकी थिइन्। अस्ट्रेलिया फर्किन नपाउँदै कोरोना महामारी फैलियो। उनले नेपालमै बसेर अनलाइनबाट पढाइ पूरा गरिन्। मेघा भने पढाइ सकेर मात्र फर्किइन्।
दुई साथी नेपालमै भएपछि उनीहरूले आफ्नै केही काम गर्ने सोचे। विदेशमा हुँदा उनीहरू त्यहाँ उपलब्ध छाला स्याहार र मेकअपका सामान प्रयोग गर्थे। दुवैलाई विदेशी बजारमा उपलब्ध अर्गानिक र प्राकृतिक वस्तुले बनेका सामान मनपर्थ्यो। उनीहरूले यसैबारे खोजबिन सुरू गरे।
'यहीँ के काम गर्न सकिन्छ भनेर कुरा गर्दै जाँदा दुवैको चासो अनुसार छाला तथा सौन्दर्य सम्बन्धी सामग्रीबारे नै बुझ्ने योजना बन्यो,' आरूश्रीले भनिन्, 'नेपालमा थुप्रै जडिबुटी र कच्चा पदार्थ उपलब्ध छन्। तिनैबाट प्राकृतिक र अर्गानिक सामान बनाउन सकिन्छ भन्ने लाग्यो।'
उनीहरूले केही समय बजार अध्ययन गरे। सामान बनाउने प्रशिक्षण लिए। उत्पादन गर्न सकिन्छ भन्ने पक्का भएपछि उनीहरूले 'अवानी नेपाल' कम्पनी सुरू गरे।
दुवैको पारिवारिक पृष्ठभूमि व्यवसाय भएकाले उनीहरू पहिल्यैदेखि आफ्नै काम गर्न चाहन्थे। स्कुल पढ्दा नै उनीहरूले संयुक्त बचत खाता बनाएका थिए। आफूसँग पैसा हुँदा बैंकमा जम्मा गर्थे।
'पैसाको महत्त्व र व्यवसायको कुरा परिवारबाटै थाहा पायौं,' आरूश्रीले भनिन्, 'अवानी चलाउन त्यो बेलादेखि जम्मा भएको र विदेशमा काम गर्दा बचत गरेको पैसा लगानी गर्यौं। परिवारबाट पनि सहयोग पायौं।'
२०७७ असारमा दसवटा उत्पादनसहित उनीहरूले अवानीका उत्पादन सार्वजनिक गरे।
संस्कृत शब्द 'अवनी' अर्थ जमिन अथवा पृथ्वी भन्ने हुन्छ। प्राकृतिक कच्चा पदार्थबाट सामग्री उत्पादन गर्ने हुँदा कम्पनीको नाममा यो शब्द जोडेका हुन्।
आरूश्रीका अनुसार अवानीले अर्गानिक स्किन केयर र मेकअप सामग्री उत्पादन गर्छ। कपाल र अनुहारमा लगाउने तेल, लोसन, जेल, सिरम, स्प्रे, फेस प्याक जस्ता ३१ वटाभन्दा बढी उत्पादन छन्। कम्पनीको कोकोनट आयल (नरिवलको तेल), रोजमेरी आयल, एलोभेरा जेल र क्यास्ट्रोल आयल लोकप्रिय उत्पादन हुन्।
'हामी जतिसक्दो नेपालमै उपलब्ध जडिबुटी, फूल र अन्य कच्चा सामग्री प्रयोग गर्छौं,' आरूश्रीले भनिन्, 'अवानीका उत्पादन युके सर्टिफिकेसन एन्ड इन्स्पेक्सन लिमिटेडले प्रमाणित गरेको छ। यो प्रमाणीकरणको अर्थ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादित भन्ने हो। हामी उत्पादनको प्राचीन विधिमा आधुनिक प्रविधि प्रयोग गर्छौं। जस्तै परम्परागत तरिकामा तोरीको तेल बनाउनुपर्यो भने भारी वस्तुले थिचिन्छ। हामी त्यही काममा नयाँ प्रविधि प्रयोग गर्छौं तर थिचेरै तेल निकाल्छौं।'
सुरूका दिनमा खुद्रा व्यापारीहरूले अवानीका उत्पादन बिक्रीमा राख्न मानेका थिएनन्। उनीहरूलाई विश्वास दिलाउन यी दुई साथीले निकै प्रयास गरे।
'जति पसलमा विश्वास दिलाएर हाम्रा उत्पादन राख्न सक्यौं, ती सबै पसलबाट बिक्री भए। सबैतिरबाट सकारात्मक प्रतिक्रिया पायौं। त्यसपछि हाम्रा उत्पादनको माग बढ्न थाल्यो,' उनले भनिन्।
उनीहरूले अवानीका उत्पादन छालासम्बन्धी चिकित्सकहरूलाई पनि देखाए।
'छालासम्बन्धी थुप्रै विशेषज्ञले अवानीका उत्पादन प्रयोग गर्न सल्लाह दिनुहुन्छ। यो देख्दा धेरै खुसी लाग्छ,' उनले भनिन्, 'छाला निकै संवेदनशील अंग हो। जथाभावी सामग्री प्रयोग गर्नु हुँदैन, विभिन्न समस्या हुन सक्छ। त्यसैले धेरै छाला विशेषज्ञहरू जैविक र अर्गानिक सामग्री प्रयोग गर्न सल्लाह दिन्छन्।'
आरूश्री र मेघाले निरन्तर व्यावसायिक सम्पर्क र बजार बढाउँदै लगे। अहिले अवानीका उत्पादन औषधि पसलहरूमा किन्न पाइन्छ। त्यस्तै जिभी, इ-फार्मेसी, फरएभर यङ, दराज लगायत अनलाइन बजारमा पनि किन्न सकिन्छ। यसका उत्पादनको माग काठमाडौं उपत्यकासँगै धरान, विरागटनगर, बुटवल, भैरहवा, पोखरा लगायत सहरमा छ।
सुरूमा आरूश्री र मेघाले अवानीका ग्राहक धेरैजसो महिला हुन्छन् होला भन्ने सोचेका थिए। तर महिला र पुरूष ग्राहकको अनुपात बराबरजसो रहेको आरूश्री बताउँछिन्।
'अवानीमा हरेक उमेर समूहले प्रयोग गर्न मिल्ने उत्पादन छन्,' उनले भनिन्।
कम्पनी सञ्चालन र व्यवस्थापनमा आरूश्री र मेघा दुवैजना उत्तिकै सक्रिय छन्। आरूश्री व्यावसायिक सञ्जाल विस्तार गरिरहेकी छिन्। मेघा हाल भारतमा भएकाले उतै अवानीका उत्पादन औपचारिक रूपमा सार्वजनिक गर्ने तयारीमा छिन्।
उनीहरूबाहेक कम्पनीमा अनुसन्धान, विकास र समग्र उत्पादन सम्हाल्न दस जनाको टोली छ। उत्पादन बढाउनुपरेको अवस्थामा थप कर्मचारी राख्छन्।
अहिले उनीहरूले संस्थागत ग्राहक पनि विस्तार गरेका छन्।
'मेरियट र टेरेसेस जस्ता होटल ग्राहक भएका छन्। यी होटलमा ग्राहकलाई दिइने टोइलेट्रिज (स्याम्पू, बडी वास र एसेसन्सियल आयल इत्यादि) अवानीले आपूर्ति गर्छ,' आरूश्रीले भनिन्।
अवानीका उत्पादनको मूल्य हाल दुई सय रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म छ। यो मूल्य तुलनात्मक रूपमा निकै किफायती भएको उनी बताउँछिन्।
'हाम्रो प्राथमिकता गुणस्तर हो,' उनले भनिन्, 'सबै किसिमको परीक्षण गरेर उपयुक्त छ भन्ने विश्वास भएपछि मात्र बजार पठाउँछौं।'
अवानीले आवश्यक कच्चा पदार्थ नेपालका विभिन्न ठाउँबाट संकलन गर्छ। यसले प्याकेजिङमा पनि विशेष ध्यान दिएको छ। थप एक दर्जन उत्पादन सार्वजनिक गर्ने तयारी छ। यसमा सनस्क्रिन क्रिम र अन्य विभिन्न क्रिमहरू छन्।
आरूश्री र मेघाको सपना अवानीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने हो।
'उपयुक्त योजना र इच्छाशक्ति भए नेपालमा धेरै अवसर सिर्जना गर्न सकिन्छ,' आरूश्रीले भनिन्।
(अवानीको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)