महिला उद्यमीका कथा
झन्डै ६ महिना अगाडिको कुरा हो।
काठमाडौंकी आभा बस्नेतले एक दिन आफै छालाको वालेट (पर्स) बनाइन्। त्यसको फोटो खिचेर फेसबुकमा हालिन्। केही दिनमै वालेटबारे धेरैले जिज्ञासा राखे। कतिपयले त अर्डर नै गरे।
एक सातामै ५० वटाभन्दा बढीको अर्डर आयो। सुरूमा त उनलाई अचम्म लाग्यो। रहरले बनाएको वालेट धेरैले मन पराएपछि उनी खुसी पनि भइन्। आफूले बनाएका जति वालेट थिए, सबै बेचिदिइन्।
अर्को साता त उनलाई एउटा कर्पोरेट हाउसले नै अर्डर गर्यो। यसपछि उनले व्यवसाय गर्ने मनस्थिति बनाइन्।
'सबै वालेट आफ्नो रहरले बनाएकी थिएँ। व्यापार गर्ने सोच त अलिकति पनि थिएन,' आभाले भनिन्, 'बजारले खोजिरहेको छ भने त किन नदिने भन्ने लाग्यो, त्यसपछि व्यवसायको योजना बनाएँ।'
उनले आफ्ना उत्पादनको ब्रान्ड नाम पनि राखिन्, 'रअ-हाइड लेदर'। अंग्रेजी शब्द रअ भनेको कच्चा र हाइड भनेको छाला हो।
व्यावसायिक रूपमा अगाडि बढ्ने भएपछि सुरूमा उनले पुरूषले बोक्ने वालेट नै बनाइन्। बिस्तारै महिलाको वालेटको पनि माग आयो। काठमाडौं उपत्यका मात्र होइन, बाहिर जिल्लाबाट पनि अर्डर आउन थाल्यो।
आभा वालेटको अर्डर पूरा गर्दै ब्यागहरू पनि बनाउन थालिन्। कर्पोरेट हाउसहरूबाट एकैपटक दुई सय वटासम्म ब्यागको अर्डर आउन थाल्यो। उनलाई काम भ्याइनभ्याइ भयो।
'एक महिना जति त एक्लै सबै भ्याएँ। धेरै अर्डर आउन थालेपछि चाहिँ कर्मचारी राखेँ र म आफू डेलिभरीमा जान थालेँ,' २५ वर्षीया आभाले भनिन्।
आभाको कम्पनीमा हाल पाँच जना कर्मचारी छन्। त्यस्तै उनका दाजु आभास बस्नेत लगानीसहित व्यवसायमा सहयोगी भएका छन्।
रअ-हाइड लेदरले अहिले वालेट, पर्स, डफल ब्याग, ब्याकप्याक, ल्यापटप ब्याग, पाउच, कार्ड होल्डर, पेटी, मोबाइल ब्याग लगायत दर्जन बढी सामान बनाउँछ। सबै डिजाइन आभा आफै गर्छिन्।
आभा लेदरको ज्याकेट पनि बनाउन थालेकी छन्। सुरूमा उनले जाडोका लागि भनेर केही ज्याकेट बनाएर बजार पठाएकी थिइन्।
'जाडो मौसममा बेच्ने विचार थियो। तर अर्डर आइहाल्यो। त्यसैले अहिले धमाधम ज्याकेट बनाउँदै छौं,' उनले भनिन्, 'एक महिनामा सयवटा ज्याकेटको अर्डर आएको छ।'
आभाले व्यक्तिगत अर्डरमा फोनबाटै नाप लिन्छिन्। रङ र डिजाइन ग्राहकले रोज्छन्। धेरैजसो कफी र रेड-ब्राउन रङको ज्याकेटको माग बढी छ। डिजाइन हेरेर ज्याकेटको भाउ ११ हजारदेखि १६ हजार रूपैयाँसम्म पर्ने उनले बताइन्।
तुलनात्मक रूपमा रअ-हाइड लेदरका सबै उत्पादन सस्तो रहेको उनको भनाइ छ।
'सबै सामान आकर्षक छन्। मूल्य पनि किफायती छ। गुणस्तरमा सम्झौता गरेका छैनौं,' आभाले भनिन्, 'लेदर टिकाउ छ। कति वर्ष टिकाउने भन्ने कुरा प्रयोग गर्ने व्यक्तिमा पनि भर पर्छ।'
मार्केटिङमा एमबिए गरेकी आभा पढाइ पूरा गर्नासाथ व्यवसायमा लागेकी हुन्।
उनी सानैदेखि सियोधागो खेलाउँथिन्। गुडियालाई ड्रेस सिलाएर लगाइदिन पाउँदा रमाउँथिन्। सिलाइसँगै चित्र बनाउनमा पनि उनको रूचि थियो। स्नातक तहको अन्तिम परीक्षा दिएपछि फुर्सदमा उनले वालेट बनाएकी थिइन्।
त्यो बेलै उनले खोजबिन गरेर नेपालमा राम्रो लेदर पाइने ठाउँहरू पत्ता लगाइन्। चार हजार रूपैयाँमा कालो र खैरो रङको लेदर किनिन्। सियोधागो र अन्य आवश्यक सामान पनि ल्याइन्। अनि कोठामै बसेर वालेट बनाउन थालिन्।
'गुडियाको लुगा सिउनेभन्दा धेरै फरक थियो वालेट बनाउने तरिका। साना प्वाल बनाएर सिउनुपर्थ्यो। सुरूका दिनमा हात घोचेर हैरान हुन्थ्यो। तर गर्न छाडिनँ,' उनले भनिन्।
पाँच घन्टामा बल्ल उनले एउटा वालेट तयार गरिन्। त्यो पुरूषले बोक्ने फोल्डिङ वालेट थियो। चिटिक्क राम्रो बनेको देखेर उनको खुसीको सीमा रहेन। यसपछि अनेक डिजाइन सिक्दै गइन्।
एमबिए पढ्न थालेपछि पनि वालेट बनाइरहिन्। ती वालेट उनी साथी र आफन्तलाई उपहार दिन्थिन्।
पढाइ सकिएपछि उनले जागिर खाने सोचेर केही बैंक र वित्तीय संस्थामा आवदेन भरिन्। त्यही बेलाको एक दिन उनले वालेटको फोटो फेसबुकमा राखेकी थिइन्।
अर्डर बढेपछि उनलाई ठूलै लगानी चाहिएको थियो। उनले घरमा सल्लाह गरिन्।
'म बिजनेस पढेको मान्छे, जागिर खोज्नुको साटो व्यवसाय नै किन नगर्ने भन्ने भयो,' आभाले भनिन्, 'लगानीका लागि घरमा भनेँ। आमाबुबाले मेरो नाममा सेयरमा लगानी गरिदिनुभएको रहेछ। त्यो सबै सेयर बेचेर व्यवसाय सुरू गर्ने सोच्यौं। करिब सात लाख रूपैयाँ आएको थियो। त्यही लगानी गरेँ।'
लगानी जुटेपछि उनले ताहचलस्थित आफ्नै घरको भुइँतलामा कारखाना बनाइन्। सहयोगी कर्मचारी राखिन्। यसरी नेपाली ब्रान्ड 'रअ-हाइड लेदर' सुरू भएको हो।
रअ-हाइड लेदर छोटो समयमै बजारमा स्थापित भएको र काठमाडौं उपत्यका बाहिरबाट पनि अर्डर बढ्दै गएको आभा बताउँछिन्। डेलिभरीका लागि उनले विभिन्न कम्पनीहरूसँग सहकार्य गरेकी छन्।
त्यस्तै सामाजिक सञ्जालहरूमा उनी आफै सामानहरूको प्रचार गर्छिन्। उनी काठमाडौं र ललितपुरमा हुने व्यापार मेलाहरूमा पनि गइन्। त्यसले बजार बढाउन मद्दत पुर्याएको उनी बताउँछिन्।
'रहरमा सुरू गरेको काम, ब्रान्ड बन्ला भन्ने सोचेकै थिइनँ। अब अहिले दाइ र म व्यवसाय विस्तार गर्न कम्मर कसेर अघि बढेका छौं। चाँडै आफ्नै एउटा आउटलेट (पसल) खोल्ने योजना छ,' आभाले भनिन्।
(रअ-हाइड लेदरको फेसबुकमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)